अस्पष्ट, अन्जान मरुभूमिमा
म बर्षौ बर्ष कुदिरहें
बेलगाम विचारका भारी बोकी
म अविराम भागिरहें
भन्नलाई “जीवन यात्रा हो” भनीरहें
तर बयल गोरुझै एउटै वृत्तमै घुमिरहें
हर दिन आए नयाँ अवस्य
तर म उही अहंकारी पुरानो
घुमीफिरी आउने उनै विचार बाहेक
बाँकी अरु सब बिरानो
म अकर्ता हुदां पनि दिनहरु आफैं कटे
अति विचारक बन्दा धेरै खुशीहरु छुटे
अन्तर्मनले भन्थ्यो – तिमीले अरु नै केहि खोज्नुछ
हातको सक्खर छोडी अब तिमीले अमृत रोज्नुछ
तर म भित्रका वासनाहरुको दौडले
मलाई सधैं जसो पराजित गरिदियो
म भित्रका क्षुद्र अभिलाषाहरुले
मलाई सधैं जसो हराइदियो
मैले खोजेको प्रकाश दिनको उज्यालोले दिएन
मैले खोजेको सुगन्ध कागजको फूलमा थिएन
त्यसैले अथाह सागरको बिचमा पनि म सधैँ प्यासी
सबै थोक हातमा भएर पनि त्यो कस्तो उदाशी !
धेरै जितें मैले मैले यो संसारिक जीवनमा
तत्क्षण सुखका लागि म लिप्साकै शरणमा
त्यही भावावेशमा
त्यही छदमभेषमा
त्यही अहंकारको हुटहुटिमा
त्यही वाहवाहीको लुट्लुटिमा
म अविछिन्न कुदिरहें
म आफैसंग जुधिरहें
वासनाहरुको दौडमा म सधै प्रथम भइरहें
मूर्खहरुको माझमा म सधै पण्डित भइरहें
बाहिर पाएँ यश, भित्र दण्डित भइरहें
भित्रभित्रै म खोक्रो,
म लुटिरहें
म टुटिरहें
आफ्नै हृदयको तादाम्यबाट
म सधै छुटिरहें
भत्किएको मनलाई जोडजाड गर्दै
अरुलाई रिझाउन म सधै जुटीरहें
पूर्णिमा देखिए मेरा रातहरु अरुका लागि
तर घनघोर अन्धकारले मलाई तड्पाई रह्यो
शान्त देखियो मुहार बाहिर
तर मानसपटलमा आंधीबेहरी आईरह्यो
म हेरिरहें – तर द्रस्टा बन्न सकिन
म सोचिरहें- तर स्रस्टालाई बुझ्न सकिन
जीवेस्णाले बचाइरह्यो मलाई पक्कै
तर मैले जीवन जिउन जानिन !
आज, न मैले संसार पकडेको छु
न मलाई संसारले जकडेको छ
मन मेरो अझै विस्मित
ध्यान अझै धूमिल
तर एक उत्सुक अवधूत झैँ
छु साक्षीभावमा सामिल
पोख्याई अहंकारको बिष सबै
आज म एक रित्तो बटुका
चेतनाको सुक्ष्म झिल्काले देख्छु
दुनियाँ रहेछ सारा रमिता
बिलम्ब भयो शायद
तर अझै त्यो दिब्य नजरको आस छ
त्यति नभए त क्षणभंगुर यो संसारमा
अरु के नै पो खास छ?
निसन्देह, मेरो ईश्वरको म भित्रै बास छ
निसन्देह, मेरो ईश्वरको म भित्रै बास छ !
– दिपेश पराजुली
प्रतिक्रिया