एन आर एन अर्थात् माक्क फुँइ

-नवीन रायमाझी २०७९ जेठ २० गते २२:४१ मा प्रकाशित

नेवारी भाषामा एउटा कथन छ, “माक्क फुँइ” अर्थात् बाँदर को फुर्ती. दिनभरी अर्थ न बर्थ यता र उति गरिरहने बाँदर को कुनै घर हुँदैन तर सबैभन्दा सानो प्राणी कमिलाको पनि आफ्नो घर हुन्छ. यसको अर्थ बिना काम ठुलो ठुलो कुरा गर्ने तर काम परेको बेला कुनै माखो मार्न नसक्ने लाई बाँदरे फुर्ती भनिन्छ. यस्तै बाँदरे फुर्ती छ एन आर एन अर्थात् गैर आबासीय नेपाली सँघको. भारतको एन आर आइ बाट प्रभावित भएर सुरु गरिएको यो सँघ मुठ्ठी भरका दुइ चार जना लाई फाइदा भएको होला तर अधिकाँस तिनिहरुका पछि लागेका मात्र हुन्।

जहाँसम्म मेरो जानकारी छ– एनआरएनएको सुरुवात विदेशमा बसोबास गरिरहेका नेपालीहरुले नेपाल भित्र लगानी गर्ने र देशलाई उन्नत बनाउने सोच अनुसार भएको थियो। आफूलाई धनाढ्य दाबी गर्ने केहि ब्यक्तिहरुले नेपालमा लगानी गरेका हुन् तर उत्पादनशील क्षेत्रमा भन्दा आफूलाई मात्र नाफा हुने क्षेत्र जस्तै बैंक, होटल आदिमा लगानी भित्रिएको छ। जसको कुनै ठूलो फाइदा छैन।

सानो टुक्रा जग्गामा झ्याल नभएको घर बनाएर भाडा खाने र क्यासिनोमा जुवा खेल्ने जुवाडेलाई ऋण दिने जस्ता कार्यलाई नै ब्यापार मान्ने नेपाली मानसिकताको अगाडी बैंक र होटल पनि ठूलै उद्योग होला तर यस्ता प्रतिष्ठानहरुले देशको अर्थतन्त्रलाइ खासै ठूलो टेवा दिदैन।

मैले बुझे सम्म दशैंको ठिकअघि आयोजना हुने एनआरएनएको सम्मेलनको खासै अर्थ छैन। बिभिन्न देशबाट प्रतिनिधि भएर नेपाल गएका प्राय: को योजना दशैंमा घर जानु हुन्छ। यस्ता सम्मेलन गरेर आज सम्म कति डलर, पाउण्ड, युरो र यान नेपाल भित्रियो त्यो सम्बन्धित निकायलाई थाहा होला तर एउटा सामान्य सर्वसाधारणको लागि यस्तो सम्मेलन ‘कागलाई बेल पाक्नु हर्ष न बिस्मात’ जस्तै हो।

सम्मेलनमा सहभागीहरुले परिचयपत्र घाँटीमा झुण्ड्याएर फोटो खिच्ने र त्यो फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर आत्मरतिमा रमाउने क्रियाकलाप जति हाँसो लाग्दो छ, त्यो त्यतिकै उपलब्धिबिहिन पनि छ।

अरु देशको बारेमा मलाई थाहा भएन तर एन आर अमेरिका मा लागेका अधिकाँस सदस्य हरु घरकी श्रीमतीलाई बेबीसिटर (बच्चा स्याहार्ने) , नङ्गिनी (नङ घोट्ने काम), भुत्ली (भुत्ला थुत्ने काम), कान्छी (अरुको घरमा चुलाकोठा सफा गर्ने) इत्यादि काममा पठाएर आफू टाईसुटमा ठाँटिएर एनआरएनको फ्लायर फेसबुकभरि बाँडेर दिन बिताउँछन् । कोही हप्ताको ६ दिन ‘अपान वायु’ फुत्किने गरी रेष्टुराँमा यत्रो चाङ प्लेट उठाएर, कोही हप्ताको ६ दिन दैनिक १२ घण्टा फिलोमा पसिना आउने गरी गाडी कुदाएर, कोही हप्ताको ७० घण्टा तिघ्रा थर्थरी कामुन्जेल उभिएर सेक्युरिटी गार्ड बन्दै, कोही ग्रोसेरी स्टोर वा पेट्रोल पम्पमा घुँडाको छाला जानेगरी सोडा, चिप्स मिलाएर, कोही नेपालको गाउँ घरमा भएको जस्तै चिया–चुरोट–चमेना पाउने खुद्रा पसल थापेर, कोही ९/१० जना मिलेर रेष्टुरेष्ट खोलेर मालिक हुँ भन्ने आत्मरती लिँदै, कोही घर जग्गा जागिर अपार्टमेन्टको दलाली गर्दै, कोही ढाड कटक्क हुन्जेल एउटा सफ्टवेयरमा डाटा हाल्ने काम गरेर आफूलाई कम्प्युटर इन्जिनियर मान्दै, कोही ४२ दिन सीएनए पढेर म नर्स हुँ भन्दै, कोही फर्म भर्ने काम गरेर म वकिल हुँ भन्दै, कोही अनलाइन ब्लग चलाएर म पत्रकार हुँ भन्दै, कोही दुइटा गीत गाएर म कलाकार हुँ भन्दै नेपालमा भएका जोरीपारीलाई फेसबुक मार्फत कनि कुथी सान देखाउनलाई एन आर एन नामक संस्था मा होम्मिएका छन्.

अर्को थरि नेपालमा रहँदा प्रहरी र सेनामा जागिर खाएका र सरकारले शान्ति मिसनमा खटाएको स्थानबाट भागेर अमेरिका छिरेर म आफ्नो देशमा बस्न नसक्ने भए भन्दै नक्कली कागजपत्र पेश गरेर बसेकाहरुले कुन नैतिकताले एक पटकको नेपाली सधैको नेपाली भन्दै छन्। त्यो पनि आठौ आश्चर्य लाग्छ।

अधिकांश नेपालीमूलका अमेरिकीसंग जीवनयापन गर्न यथेष्ट धन सम्पत्ति होला, त्यो पनि नेपाली मापदण्ड अनुसार। तर, देशमा लगानी गर्न सक्ने पैसा हुदैन। अब तिज र तिहारमा दिदि बैनी लाई पठाएको दक्षिणा लाई पनि बैदेसिक लगानीमा गन्ने हो भने मेरो भन्नु केही छैन| जो संग लगानी गर्ने पैसा छ, त्यसले नेपालमा किन लगानी गर्ने? जबकी मन्त्री र उसका धुपौरेहरुलाई पैसा नदिए हड्ताल र बन्द भनेर भएको लगानी पनि चौपट हुन्छ।

अन्तमा विदेशमा बस्ने नेपाली हरु मध्य निकै थोरै सँग मात्र नेपालमा अर्बौ लगानी गर्ने “हैसियत छ” अधिकाँस को कमाई अमेरिकी डलर लाई नेपाली रुपियाँमा विनिमय गर्दा मात्र धेरै देखिएको हो जो हास्यास्पद छ. यदी धेरै नै देखाउने हो भने नेपाली रुपियाँमा किन जापानी येन र कोरियन वन मा विनिमय गर्यो भने झन् धेरै देखिन्छ. यसैले धेरैजसो एन आर एन का अभियन्ता भन्ने हरुको बैदेशिक लगानी गर्ने “हैसियत छ” र एन आर एन भनेको केवल माक्क फुँइ मात्र हो.

-नवीन रायमाझी

प्रतिक्रिया