रौतहट इतिहास रच्दै मधेस प्रदेशमा नै दोस्रो कार्यकालको लागि निर्वाचित पहिलो महिला नगर प्रमुखले दलितका लागि बस्ती निर्माण गर्ने पहिलो निर्णय गरेकी छन् ।रौतहटको मौलापुर नगरपालिकाको पहिलो बैठकले मौलापुर नगरपालिका ९ सोनरनियामा २५ घरको दलित बस्ती निर्माण गर्ने पहिलो निर्णय गरेको छ।
पदभार ग्रहण गर्दै मौलापुर नगर प्रमुख रिनाकुमारी साहले आफ्नो दोस्रो कार्यकालको पहिलो निर्णय दलित बस्ती निर्माण गर्ने भएको बताएकी छन्।
शुक्रवार शपथ ग्रहणपछि नगरका निर्वाचित उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरुलाई शपथ गराएर पदभार ग्रहण गरेपछि साहले दलित बस्ती निर्माणको पहिलो निर्णय गरेकी हुन्।साहको पहिलो कार्यकालमा मौलापुर र मर्यादपुरमा दुई नमुना दलित बस्तीको निर्माण भइसकेको छ।
मौलापुर नगरपालिकाको नगर प्रमुख,उपप्रमुख,नौ वडाका वडाध्यक्ष र वडा सदस्य गरी ४७ पदमध्ये ३७ पदमा नेकपा एमालेले जित हासिल गरेको छ।
नेकपा एमाले स्थायी सदस्य तथा पूर्वमन्त्री प्रभु साहकी धर्मपत्नी नगर प्रमुख साहले मौलापुर नगरबासीको अधुरा सपना पूरा गर्ने समय आइसकेको जनाएकी छन्।
साहको नेतृत्वमा भौतिक पूर्वाधार,पर्यटन,संस्कृति,शिक्षा,स्वास्थ्य तथा सामाजिक कार्यमा जिल्लामा मौलापुर नगरपालिकाले अभूतपूर्व कार्य गरेको छ।
मौलिक विकासको भिजन र मिसन भएको पालिका नेतृत्वले मौलापुरको नाम र मानको लागि थप विकासका कार्यहरु सम्पन्न हुने मौलापुरका स्थानीयको विश्वास रहेको छ।सर्वसाधारणले दोस्रो कार्यकालको लागि दिएको अपार विश्वासको आफूले पूरापूर सम्मान गर्ने नगर प्रमुख साहको भनाइ छ।
यसैबिच रौतहटको राजपुर नगरपालिकाका नगर प्रमुख भिखारी यादवले पदभार ग्रहण गर्दै नगरपालिकामा एम्बुलेन्स किन्ने पहिलो निर्णय गरेका छन्।
प्रतिक्रिया