बर्षको एक दिन आमाको फोटोको तल “आइ लभ माइ मम” लेख्नेहरुको लागी

नवीन रायमाझी २०७९ वैशाख १७ गते ९:२१ मा प्रकाशित

आज मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन।अर्को अर्थमा बर्षमा एक दिन मात्र भए पनि आमालाई मिठो चोखो खान दिएर सेवा गर्ने दिन।

तर,सन्तानको मुहारमा खुशी देखेर नै खुशी हुने आमाको मुख हेर्ने दिनको के बिशेषता छ? त्यो संस्कृतविदलाई जानकारी होला।आजकाल यो दिनलाई आफू आधुनिक भएको प्रदर्शन गर्न धेरैले ‘ह्याप्पी मदर डे’ भन्ने गरेका छन्।तर,पश्चिमा मुलुकको ‘मदर डे’ र हाम्रो ‘मातातिर्थ’ औंशीमा निकै फरक छ।जे होस् जसरी पनि जन्म दिने आमालाई सम्झिने दिन मनाउनु राम्रै कुरा हो।

२०४३ सालमा क्यान्सरको कारण आमा बित्दा म सानै थिए।त्यसैले कहिले पनि यो दिन आमालाई भनेर केहि उपहार दिन पाइन्।त्यस्तो केहि दिनुपर्छ भन्ने न समझ थियो,न हातमा पैसा नै।

सत्य कुरा बोल्ने हो भने,आजको जस्तो कुनै चलन पनि थिएन,उबेला। आज देख्छु,सामाजिक सञ्जालमा आमालाई अंगालो मारेर खिचेको फोटोको तल ‘आइ लभ माइ मम’ लेखेर पोष्टाएको।यो दिन सामाजिक सञ्जालमा आमाको फोटो पोष्टाउनेहरुको बाढी नै लाग्छ।

यो दिन सामाजिक सञ्जालमा आमाको फोटो पोष्टाउनेहरुको बाढी नै लाग्छ।

आफुले त्यस्तो गर्न नपाएको डाहा हो कि,नाटक जस्तो लागेर हो,मलाई यो कुरा अलि हास्यास्पद लाग्छ।अमेरिका बस्ने एकजनाले हरेक बर्ष त्यस्तै फोटो राखेको र आमालाई नेपालमा कसरी एक्लै छोड्ने भनेर आफूसँग अमेरिका लिएर आउँदा सबैले ती आमाको भाग्यको इर्श्या गरेका थिए।

कोहि मायाले त कोहि डाहाले सबै उनको कुरा काट्थे– ‘छोरो हुनु त फलानीको जस्तो’ शैलीमा। अहिले यहाँ आएर थाहा भयो,नेपालबाट बढो भाग्यमानी भएर अमेरिका आएकी ती बुढी आमाको अवस्था केही बर्ष पहिले प्रदर्शन भएको हिन्दी चलचित्र ‘आ अब लौट चले’ को कथा जस्तै रहेछ।

अमेरिकामा घरायसी काम गर्ने सहयोगी राख्नु गैरकानुनी भएको र काम गर्ने मान्छे राख्न हैसियत नभएको कारण नि:शुल्क काम गर्ने मान्छे राख्न घरबाट प्राय: आमालाई बोलाइने रहेछ।

अंग्रेजी बोल्न र बुझ्न नसक्ने कारण त्यी बुढी आमा आफ्नो कथा र व्यथा कसैलाई सुनाउन असमर्थ छिन्।यहाँका नेपालीको फलानो समाज र ढिस्कानो मञ्च नाम गरेका च्याउ उम्रे सरीका संघसंगठनले उनको समस्या बोलिदिए हुन्थ्यो तर सधै काम परिरहने छोराबुहारीलाई शत्रु बनाएर केहि हैसियत नभएकी एउटी बृद्ध नारीको पक्षमा को उभिदिने?

जहाँसम्म मेरी आमाको कुरा छ, उहाँले सम्भवत स्कुलको अनुहारसम्म देख्न पाउनु भएन।सुदूर पश्चिमको डडेल्धुरामा चार दाजुभाई र आठ दिदीबहिनीबीच जन्मे हुर्केकी मेरी आमाले त्यो समयमा स्कुल जान पाउनु भनेको असम्भव कुरा थियो।फेरी छोरी भनेको त मान्छे नै होइन जस्तो गर्ने त्यतिबेलाको समाज र परिवारले छोरीलाई पढ्न जान दिने कुरा पनि भएन।

हामी मामाघर जाँदा पनि नातिनातिनाबीच छोरा र छोरीको सन्तानमा ब्यापक भेदभाव हुन्थ्यो। तर,मावलीको काम पर्नसक्ने र आर्थिक रुपमा सम्पन्न छोरी पट्टिका नातीनातिनालाई भने त्यो नियम लागु हुन्थेन।

घरैमा साउँ अक्षरसम्म चिनेको र बढो मुश्किलले आफ्नो नामसम्म लेख्न सक्ने भए पनि उहाँमा शिक्षाप्रतिको चेत गजबकै थियो।आफ्नो बच्चाले होमवर्क गर्यो कि गरेन वा पढ्यो कि पढेन भन्ने कुरा हाम्रो अशिक्षित आमालाई कसरी थाहा हुन्थ्यो? त्यो मैले आजसम्म बुझ्न सकेको छैन।आज लाखौं रुपियाँ खर्च लाग्ने स्कुलमा भर्ना गर्दा पनि शिक्षित बाबुआमाका छोराछोरीले पढ्न नसकेको वा नपढेको देख्दा मलाई मेरी आमा कुनै बिश्व विद्यालयबाट विधाबारिधी प्राप्त शिक्षित व्यक्ति हो जस्तो लाग्छ।

तर,मावलीको काम पर्नसक्ने र आर्थिक रुपमा सम्पन्न छोरी पट्टिका नातीनातिनालाई भने त्यो नियम लागु हुन्थेन।

यदी उहाँले पढ्न पाएको भए कति ज्ञान हासिल गर्नसक्नु हुन्थ्यो होला भन्ने लाग्छ।हामी कहिलेकाही पाठ्यपुस्तकभित्र कमिक्स राखेर हेर्ने गर्थौं।तर, मेरी आमाले निकै टाढाबाट नै यो किताब पढेको होइन भन्ने थाहा पाइहाल्थिन्।अहिले मलाई लाग्छ,बाहिरी पुस्तक पढ्दा जुन आनन्द आउथ्यो,त्यो अनुहारको भाव हेरेर नै थाहा पाइन्थ्यो होला।

मेरी आमालाई मैले पढ्न नसकेर जीवनमा धेरै दु:ख पाउने भए भन्ने निकै ठूलो पीर थियो।कम्तिमा पनि एसएलसी पास गर्न सके छोरोले पिउनको जागिर खाएर भए पनि आफ्नो गुजारा गर्थ्यो भन्ने धोको थियो।यद्यपि म आमाले भनेको जस्तो पिउनसम्म पनि हुन् सकिन।यहाँ पिउनको अर्थ सरकारी जागिर भन्ने हो।यस्तै कुनै ठूलो महत्वकांक्षा नभएकी मेरी आमाको क्यान्सरको रोगले अलि कष्ट पाएर मृत्यु भयो।म लगायत हामी दुई दाजुभाई र एक दिदी टुहुरा भयौं।सबैलाई आफ्नो आमा महान लाग्छ र त्यसमा म पनि अपवाद छैन।तर,मैले थाहा पाएसम्म मेरी आमाले लाउने खाने जस्तो कुनै किसिमको इच्छा व्यक्त गरेको देखेको थिइन।

म आफुलाई एक्लो भएको र दुख पिर परेको समयमा आज पनि परलोक भइसकेकी मेरी आमा लाइ सम्झने गर्छु.आमा लाइ सम्झने बितिकै मेरा आँखा अनायास आँशुले डम्म भरीन्छन.आँशु ले भरिएको आँखा बाट सबै कुरा धमिलो देखिन्छ तर मलाई अर्कै प्रकारको आनन्द आउँछ,सायद यो मेरी आमा ले मलाई दिएको आशिर्बाद होला ।

आमा लाइ सम्झने बितिकै मेरा आँखा अनायास आँशुले डम्म भरीन्छन.आँशु ले भरिएको आँखा बाट सबै कुरा धमिलो देखिन्छ

मेरो बिचारमा मातातिर्थ औंशी भने पनि,‘मदर डे’ भने पनि यो एउटा ‘सिम्बोलिक’ कुरा मात्र हो।आमालाई बर्षैभरि खान दिन र इज्जत दिन सक्नुपर्छ।एकदिन मात्र कुहिएको मिठाई खान दिएर बुढीआमाको स्वास्थ बिगार्नु र आमालाई अंगालो हालेर खिचेको फोटो सामाजिक सञ्जालमा अपलोड गरेर अंग्रेजीमा ‘आइ लभ माइ मम’ लेख्नुभन्दा ह्रदयदेखि नै इज्जत र माया गर्नसके त्यो ठूलो कुरा हुन्थ्यो।तर यसको मतलब आमाको फोटोको तल “आइ लभ माइ मम” लेख्ने एपिसोड खराबै हो भन्न खोजेको अर्थ भने नलागोस.

नवीन रायमाझी

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया