हाम्रो बालसखा चुन्का हेमरम

सुशील निरौला २०७९ वैशाख ९ गते २१:३५ मा प्रकाशित

बैसाख ४, २०७९ समय: राती ९:०० बजे  | झापा भ्रमणको क्रममा २०३४ साल ब्याजका स्कुल बालसखाहरु संगको दिनभरीको भेटघाटका तस्विरहरु हाम्रो ग्रुपको मेसेन्जर ईनवक्समा अपलोड मात्र के गरिसकेको थिए ट्रिङग… ट्रिङग ….. गर्दै मेरो मोवाईलको मेसेन्जरमा घन्टी बज्यो ।

यसो हेरे ममता राईले कल गरेकी रहिछन् ।
हलो… मात्र के भनेको थिए ।
उतावाट आवाज़ आयो: सुशील तिमीले चुन्कालाई भेटेयौ त ?
फोटो हेरेनौ ? मैले भने ।
त्यही हेरेर त फोन गरेको । कसरी कहाँ कहिले भेट भयो ? एकै सासमा ममताले घेरै प्रश्न तेर्साईन ।

म सन् २००८ मा पाताल ( अमेरिका) प्रवास गएपछि जब जब नेपाल आउँथे त्यस वेला मेरो बालापन विताएको चन्द्रगढीको भ्रमण गर्न चुक्दिनथे । चन्द्रगढीको भ्रमणका मेरा प्रमुख २ उद्देश्य हुने गर्थे । पहिलो आफन्तहरुसंगको भेटघाट र अर्को मेरा स्कुल पडदाका बालसखाहरुसंगको भेट र अन्तरक्रिया ।

किन किन प्रवास गएपछि मलाई साथीभाईको निकै याद आईरहन्थ्यो । सायद टाडा भएर पनि होला । मैले प्रवासमा रहदां नै फेसबुक मेसेन्जरमा हाम्रो ब्याजका साथीहरुको ग्रुप बनाएको थिए । त्यो ग्रुपमा हामी लगभग २५/२६ जना जोडिएका थियौ । अझैपनि जोडिने क्रम जारी नै छ । हामी विच नियमित संवाद मेसेन्जर मार्फत हुने गरेकोछ।

स्कुल छोडे देखि भेट हुन नसकेको तथा मेसेन्जरमा समेत संवाद हुन नसकेको कारणले हुन सक्छ म चन्द्रगढी आएको वेला २ जना साथीहरुको अक्सर खोजी गर्ने गर्थे; मोहन दाहाल र चुन्का हेमरमलाई ।

मोहनको वारेमा के गर्दैछ कहाँ छ भन्ने जानकारी त प्राप्त हुन्थ्यो । उस्ले पनि मलाई भेटन चाहेको सुचना पाउँथे तर भेटने तारतम्य मिलिरहेको थिएन । तर स्कुल जीवन पछि चुन्का हेमरम कहाँ छ के गर्दैछ भन्ने कुनै सुचना प्राप्त गर्न सकिरहेको थिईन। चुन्का को संझना हुनुको मुख्य कारण के पनि थियो भने; स्कुल पडदा म कक्षाको उमेर र उचाई दुवैमा सानो थिए भने चुन्का दुवैमा सबै भन्दा ठुलो । अनी सन्थाल ( सतार ) समुदायवाट स्कुल पडन आउने हाम्रो कक्षाको ऊ एक्लो बिध्धार्थी ।

यस पटक पारिवारिक विवाह समारोहमा भाग लिने शिलसिलामा फेरी झापा आउने अवसर पाईयो । विवाहको औपचारिक कार्यक्रम सकेर बालसखा समिरलाई फोन गरे ।

म चन्द्रगढी आउँदैछु । तेरो फुर्सद के छ? समय दिन सक्छ की सक्दैनस्? आएपछि फोन गर न । उस्ले भन्यो ।
चन्द्रगढी आउनासाथ समिरलाई फोन गरे । उ ४ बजे मलाई लिन आयो र भन्यो; लु भन कहाँ कहाँ जाने तेरो ईच्छा छ ?
मैले भने मुख्य त मोहन दाहाल र चुन्का हेमरमलाई भेटने ईच्छा छ । समय मिलो भने अरुसंग पनि भेटघाट गर्नु पर्ला ।

समिर र म मोहन दाहालको घर तिर लाग्यौ । मोहनको घर भएको एरिया त समिरलाई थाहा रहेछ तर घर नै चै थाहा रहेनछ । १/२ ठाउँमा सोध्दै मोहनको घरमा पुग्यौ । मोहन कतै काममा गएको रहेछ । भाउजु र छोरीलाई आफ्नो परिचय दिए पछि उहाँले मोहनको फ़ोन न. दिनु भयो । मैले त्यहीवाट फोन गरेर भने – तँ मोहन दाहाल होस् ?
हो ! तँ को बोलेको ? मैले तँ भनेर सम्बोधन गरेकोले उस्ले पनि ठाडै भाषामा जवाफ फर्कायो ।
म तेरो घरमा आएको छु । तँ तुरुन्त घरमा आईज ।
के काम छ भन ?
घर आईज न अनी भनौला ।
म घाँस काटन आएको छु । अहिले आउन्न ।
मैले सोचे, मेरो परिचय नदिई यो आउने वाला छैन र भने म सुशील निरौला ।
ओहो ! लु म तुरुन्त आए भनेर फोन राखी दियो ।
मोहनसंग एकाध घन्टाको अन्तरक्रिया पछि उसंग विदा भएर हामी विनयको घर तिर लाग्यौ । तर भेट हुन सकेन । साँझ पर्न लागेको थियो । फर्कने क्रममा भोली चुन्कालाई भेटन पाराखोपी जानु पर्छ तेरो फुर्सद के छ ?
चुन्काको वारेमा तलाई के थाहा छ ? समिरले सोध्यो ।
मैले भने- स्कुल पडदा पाराखोपी तिरवाट आउँथ्यो त्यतै होला । फेरी पाराखोपीमा ममता पनि छिन् । म उनीसंग कुरा गरौला ।
त्यसो भए भोली मेरो फुर्सद भएपछि तलाई कल गर्छु भन्दै समिर आफ्नो घर तिर लाग्यो ।

साझँ मैले ममतालाई फोन गरे- हामी भोली तिम्रोमा आउने कार्यक्रम छ । तिमी कहाँ हो ?
म त काठमाण्डौमा पो छु त ।
ए ! भोली तिमीलाई पनि भेटने अनी चुन्काको वारेमा पत्ता लगाएर उस्लाई भेटन जाने सोच बनाएका छौ। नहुने पो भो त !
म नभएर के भो त । टोप बहादुर पाराखोपी मै छ । उस्लाई फोन गरन ।
त्यसपछि उनले चुन्का हुन सक्ने एरियाको वारेमा केही जानकारी उपलब्ध गराईन् ।

साझं नै मैले अर्की बालसखी चन्द्रकलालाई फोन गरेर साथीभाई बिच भेटघाट गर्ने कार्यक्रम मिलाउन भने । उनले भोली नवदिदीकोमा हामी केही साथीहरु भेटन जाने सोचिरहेका छौ भनिन् ।
त्यसो भए साझँ ४ बजे लेखनाथ चोकमा भेला भएर संगै जाउँन त । अनी सके सम्म धेरै भन्दा धेरै साथीहरुलाई खबर गरौ है ।

हिजोको सल्लाह अनुसार समिर क़रीब ११ बजे तिर आयो । हामी पाराखोपी तिर लाग्यौ । मित्र टोप बहादुर कार्की हामीलाई पर्खि राखेको रहेछ ।
टोपबहादुर हामी भन्दा एक ब्याज अगाडी थियो । उसंग पनि भेट नभएको धेरै बर्ष भएको थियो । सामान्य भलाकुसारी पछि चुन्काकोमा जाने कुरा भयो । तर कहाँ र कसरी जाने भन्ने कुरामा दुविधा भए पनि मैले ममताले दिएको सुचनाको फलो गरौन भन्ने प्रस्ताव राखे ।
टोपबहादुरले भन्यो: त्यहाँ मेरो साथी लालमोहन किस्कु छ । पहिले उ सम्म पुगौ । त्यहाँवाट अगाडीको केही सुचना प्राप्त हुन सक्दछ ।
हामी लालमोहन किस्कुको घर पुग्यौ । भेटघाट र चिनापर्ची पछि हाम्रो आउनुको उदेश्य उस्लाई भन्यौ ।चुन्का धेरै बर्ष अघि पाराखोपीवाट महेशपुरमा रहेको एक चियाबगानको पुर्वी छोरमा रहेको एक संन्थाल बस्तीमा बसाई सरेर गएको रहेछ । उ सम्म पुग्ने बाटोको जानकारी लिएर हामी फेरी यात्रामा निस्कियौ ।

त्यहाँवाट रमाईलो चोक, मन्त्रीचोक (महेशपुर) हुदैं भट्टारी चोक सम्म पुग्दा धेरै ठाउँमा चुन्काको नाम लिएर सोध्दा कसैले थाहा नभएको बताई रहदा हामी भेट हुन सक्ने सम्भावना प्रति लगभग निराश भईसकेका थियौ । भट्टारी चोकमा पुगेपछि त्यहाँ एक कपडा सिलाई गर्ने पसलमा रहेकी बहिनीलाई सोध्दा उनले चुन्कालाई चिनेको र उस्को घरको लोकेशन समेत बताई दिए पछि हामीमा हाम्रो मिशन पुरा हुने कुराले उत्साहित बनायो । त्यही बहिनीले भनेको बाटो पछ्याउँदै हामी चुन्का हेमरमको घरको आँगन मैं पुग्यौ ।

घरमा दुई जना महिला पात्रहरु थिए । मैले सोधे; यो चुन्का हेमरमको घर हो ?
हो !
खोई त चुन्का ?
घाँस दाउराको लागी नजिकैको जंगलमा जानु भएको छ ।
हामी उस्को स्कुल पडदाका साथी । उस्लाई भेटन आएको । बोलाई दिन सकिन्छ ?
एक छिन को अजमस्य पछि एक जना महिला चुन्कालाई बोलाई दिन गईन ।
मैले सोधे- तपाईहरु चुन्काको को ?
म चुन्काको भतीजी हुँ । बोलाउन जाने चैं श्रीमती ।
हामी चुन्काको आगमनको प्रतिक्षामा बस्यौ । पानी मागेर पियौ । भेट हुदाँ एक अर्कालाई चिनिन सक्छौ की सक्दैनौ होला भन्ने संचय मनमा रुमलिरहेको थियो ।
केही समय पछि एक युवती देखा परिन ।
मैले सोधे- तिमी चुन्काको छोरी हो ?
हो ! उनले भनीन् !
बाबु जस्तै अग्ली रहिछौ भनेर जिस्काए ।
उनी हाँस्दै साईकल लिएर कतै काममा निस्किईन् ।केही समय पछि चुन्काकी श्रीमती फर्किएर चुन्का आउँदै गरेको जानकारी दिईन र आफ्नो घरधन्दामा लागिन।

एकै छिनमा चुन्का आँगनमा आईपुगे ।
तिमी चुन्का हेमरम होईन ? मैले सोधे ।
हो ! शायद अरु ठाउँमा भेटेको भए हामीले पनि चिन्न सक्ने थिएनौ क्यार ।
हामीलाई चिन्यौ ? मैले सोधे ।

उनी आश्चर्यचकित हुदैं हामीलाई चिन्ने प्रयास गर्दै थिए । त्यसपछि हामी सबैले आफ्नो नाम भन्दै परिचय दियौ । अझै उनी अजमस्यमा नै थिए । त्यसपछि विस्तारै कुराकानी अगाडी बढदै गयो । पहिले उनले टोपबहादुरलाई चिने । किनकी टोपबहादुर पाराखोपी कै बासिन्दा हो ।त्यसपछि मलाई चिन्ने प्रयास गरे अनी समिरलाई ।

अब चुन्का अलिक खुलिसकेका थिए । स्कुलमा धेरै घटना र मित्रहरुको वारेमा खुलेर कुरा गर्न थाले । स्कुल छोडेको ४४ बर्ष पछि हाम्रो भेटघाट हुदैथियो । उनि भन्दै थिए- यत्रो बर्ष सम्म कसैले सोधखोज पनि गरेको थिएन । मलाई खोज्दै तिमीहरु आएको देख्दा म आश्यर्चकित भएकोछु ।साथै खुशी पनि लागेको छ ।

गफगाफको क्रममा थाहा भयो चुन्कालाई विवाह गर्ने ईच्छा रहेनछ । पछि बुढेसकालमा छोराछोरीको सहरा चाहिन्छ भन्ने सबैको सल्लाहा पछि ३५ बर्षको उमेरमा विवाह गरेछन् । हाल एक छोरा र ३ छोरीका बाबु भईसकेका चुन्काकी जेठी छोरीको बिबाह भईसकेको रहेछ । आफ्नो घर बनाउने आफ्नै एक टुक्रा घडेरी भए पनि हाल अरुकै जग्गा मा परम्परागत किसिमको माटाले बनेको घरमा बस्ता रहेछन् । जीविकोपार्जनको लागी मजदुरीको काम गर्ने गरेको कुरा हामीलाई बताए ।

करिव एक घन्टाको बसाई पछि फेरी पनि यसरी नै भेटघाट हुने विश्वास दिलाउँदै हामी चुन्कालाई उनकै परिवेशमा छोडेर फर्कियौ । चुन्काको घरवाट फर्किरहदाँ मनमा एउटा कुरा बिझाई रह्यो । के एक पटक भेटन आउदैमा मेरो ज़िम्मेवारी पुरा भयो त ?

पुर्वनिर्धारित कार्यक्रम अनुसार साँझ ४ बजे हामी २०३४ ब्याजका १३ जना ( पार्वती, देवी, कमला, चन्द्रकला, बाबुराम, गोबिन्द, रुपलाल, प्रकास सुवेदी, नरेन्द्र, समिर, गोपाल श्रेष्ठ, मोहन र म ) साथीहरु लेखनाथ चोकमा भेला भयौ । त्यहाँ मैले सबैलाई चुन्कासंग भेट भएको तस्विर र कथा सुनाए । त्यसपछि गुरुआमा नवदिदीको घरमा गएर स्कुल जिवनका तितामिठा पलहरुको स्मरण गर्यौ ।स्थानिय चुनावको राजनैतिक व्यस्तताका विच नवदिदीको घरको कार्यक्रममा आईपुग्न नसकेपनि बालसखा एकराज कार्की चोकमा हामीसंग भेट गर्न आईपुगेको थियो ।

ममताले भनीन्: जे होस् तिमी भेट गर्न सफल भयौ । तर चुन्काको लागी केही गर्न सकिन्छ की ? त्यस वारेमा पनि सोच है । चुन्कालाई भेटेर फर्किए पछि मेरो मनमा पनि यही कुरा खेलिरहेको थियो। तर कसरी ? सोच्न सकिरहेको छुईन मैले भने ।

सुशील, फेसबुक मै भए पनि तिम्रो लेख्ने वानी छ । चुन्काको वारेमा केही लेख्न सक्यौ भने लेख है । अनी साथीहरु माझ हाम्रो तर्फवाट के गर्न सकिन्छ चर्चा पनि चलाउ है उनले भनिन् ।
निश्चय नै मैले गर्न सक्ने पहल म गर्ने छु ।

ति स्कुल जीवनका दिनहरु सबै खाले वर्गीय विभेदवाट मुक्त भएर हामीले विताएका थियौ । त्यसपछिका जीवनका अनेक उतार चडावहरु पार गर्दै हामीहरु विभिन्न वाद र वर्गमा विभाजित भएका छौ । तर पनि बालापनको यादमा ताजा रहेको हाम्रो मन आज पनि विभेदहरुवाट मुक्त रहनु पर्छ भन्ने मेरो मान्यता छ ।त्यसैले हामी बिचको दुरीलाई सहयोगको हात बढाएर कम गर्न प्रयासरत रहन सक्यौ भने मात्र बालसखाका नाममा मैले खर्चेका यी शब्दहरुले सार्थकता पाउने थियो भन्ने मेरो बुझाई छ ।

नोट: चुन्का हेमरमलाई भेटने क्रममा मलाई साथ दिने बालसखा समिर र मित्र टोपबहादुर प्रति आभारी छु । साथै चुन्काको वारेमा केही लेख्न प्रेरणा दिने सखी ममता प्रति कृतज्ञ छु ।
April 19, 2022 भक्तपुर ।

प्रतिक्रिया