मदन बस्नेत,क्यानाडा।सृजनशिल नेपाली समाज क्यानडाले नयाँ बर्ष २०७९ को उपलक्ष्यमा आयोजना गरेको शुभकामना तथा सांस्कृतिक कार्यक्रम एक भब्य समारोहकाबीच सम्पन्न गरेको छ।
अप्रिल ८ शुक्रबारका दिन सम्पन्न उक्त “शुभकामना साँझ २०७९” मा टोरोन्टो जिटिए क्षेत्रका थुप्रै नेपालीहरुको सहभागिता रहेको थियो। संस्थाका नवनिर्वाचित अध्यक्ष निर्दोषप्रसाद शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानिय क्षेत्रका एमपी, एमपिपी र नेपाली समुदायका विभिन्न संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
नेपाल र क्यानाडा दुबै देशको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा सहभागिता जनाउने अतिथिहरुलाई संस्थाका सचिब नवराज ढुंगाना र बोर्ड अफ डाईरेक्टर अपर्णा आचार्यले नेपाली ढाका टोपी र दोसल्लाले स्वागत गर्नु भएको थियो।
कार्यक्रममा नेपाली मौलिक गीतमा नाचगान लगायतका विविध सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। साँस्कृतिक कार्यक्रमको दौरान साना-साना केटाकेटीहरुले नेपाली गीत र तालमा छमछमी नाचेको देखेर सबै अचम्मित भएका थिए।
बाल प्रतिभा बिशेशको गायनले कार्यक्रमलाई थप आकर्षित बनाएको थियो। उनले गाएको “रातो र चन्द्र सुर्य” र “रेशम फिरिरी” गीतले दर्शकहरुलाई नाच्न बाध्य पारेको थियो। ठुला नानीहरुले “माईतिघर – माईतिघर” बोलको गीतमा प्रस्तुत गरेको नृत्यले दर्शकहरुलाई त झन स्टेज सम्मै पुर्याएको थियो। सांस्कृतिक कार्यक्रम अन्तर्गत प्रस्तुत गरिएका विभिन्न नृत्यका प्रशिक्षक निपूर्ण, सोफी र अपेक्षाको कार्यक्रमका सहभागीहरुले निकै धेरै प्रशंसा गरेका थिए। कार्यक्रम संचालक मधु थापाको पनि निकै तारिफ भएको थियो।
सात समुन्द्र पारी बिदेशी भूमिमा हुर्के बढेका र यतैतिर जन्मेका केटाकेटीले त्यसरी आफ्नो मौलिक नेपाली भाकाको गीत र भेषभुषामा नाचेको, गाएको र नेपाली नयाँ बर्ष मनाएको देखेर क्यानाडा भ्रमणमा आउनु भएका नेपाली परिवारका जेष्ठ नागरिक एवं अभिभावकहरु हर्ष बिभोर हुनुभएको थियो।
उक्त कार्यक्रममा स्कारब्रो साउथ वेस्टकी एमपीपी डली बेगम, बिचेज क्षेत्रकी पूर्व सिटी काउन्सिलर मेरी मार्गरेट, बिचेज ईस्ट योर्क क्षेत्रका एमपी नथानियल ईर्स्किन स्मिथका अफिस म्यानेजर तनवीर सहनवाज लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्कारब्रो साउथ वेस्टकी एमपीपी डली बेगमले सम्पूर्ण नेपालीलाई नयाँ बर्षको शुभकामना दिदै उनको आफ्नो कार्यालयको तर्फबाट सृजनशिल नेपाली समाज क्यानाडालाई मायाको चिनो पनि प्रदान गरेकी थिईन्।
त्यसैगरी नेपाली संघसंस्थाको तर्फबाट नेपाली साहित्य समाज क्यानाडाका प्रेसिडेन्ट खेम गुरागाईं, हेल्पिङ् ह्याण्डस् विदाउट बोर्डर्सका प्रेसिडेन्ट अन्जनी भट्टराई, एनसीसीएस क्यानाडाका चेयरपर्सन डा. थमनाथ अधिकारी, एनसीसीएस क्यानाडाका प्रेसिडेन्ट तुलसी पाठक, बाग्लुङ सेवा समाज क्यानाडाका प्रेसिडेन्ट भबी न्यौपाने, नेपाली साहित्य समाज क्यानाडाका पूर्व अध्यक्ष रबिन थपलिया, एनसीसीएस क्यानाडाका पूर्व अध्यक्ष रमेशकुमार प्रसाईं लगायतको सहभागिता रहेको थियो।
सांस्कृतिक कार्यक्रमको अन्तमा कार्यक्रमका अतिथि र सहभागी सबैले संयुक्त रुपमा नाचगान गरेर नयाँ बर्ष २०७९ लाई स्वागत गरेका थिए।
सृजनशिल नेपाली समाज क्यानाडाका संथापक अध्यक्ष एवं संरक्षक तथा नयाँ बर्ष २०७९ को शुभकामना कार्यक्रमका संयोजक शिशिर पाण्डेले संस्थाको गत साता सम्पन्न साधारणसभाबाट नवनिर्वाचित पदाधिकारीहरुलाई उपस्थित सबै अतिथि र सहभागीहरुबीच परिचय गराउनुका साथसाथै नयाँ बर्ष २०७९ को उपलक्ष्यमा सबैलाई शुभकामना दिनुभएको थियो।
वहाँले नेपाली कला,साहित्य र सस्कृतीको संरक्षण र सम्बर्द्धन गर्ने र क्यानाडामा बस्ने नेपाली केटाकेटीहरुलाई नेपाली सस्कार र संकृतीको पुस्तान्तनण र हस्तान्तरण गर्ने तथा उनीहरुलाई नेपाली भाषा, गीत, संगीत, नृत्य लगायतका विभिन्न कला र प्रतिभा सिक्ने सिकाउने र त्यसलाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने उदेश्यले सृजनशिल नेपाली समाज क्यानाडाले निरन्तर रुपमा त्यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आएको र आगामी दिनहरुमा पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको थियो।
– मदन बस्नेत,क्यानाडा।
प्रतिक्रिया