राजनीतिबाट एनआरएनलाई अलग्याइयोस– अभियन्ता

इनेप्लिज २०७८ चैत २१ गते २१:३७ मा प्रकाशित

नेपाल फर्किएर वा नफर्किए पनि आफूले सिकेकोे ज्ञान,सीप,पैसा आदिबाट आफ्नो मातृभूमिलाई मद्धत गर्न गैर आवासीय नेपालीहरु तत्पर छन तर यसको लागि एनआरएन नेतृत्व र नेपाल सरकारले उचित वाताबरण मिलाइदिनु पर्नेमा विद्धानहरुले विशेष जोड दिनुभएको छ ।

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल(ईन्जा)को नियमित कार्यक्रम “ईन्जा टक” को पाँचौं श्रृंखलामा सहभागी हुदै अमेरिकाका विश्व विद्यालयहरुमा अनुसन्धानमा संलग्न विद्धानहरुले यी विचार व्यक्त गर्नु भएको हो । उहाँहरुले हालैमात्र सम्पन्न एनआरएनको दशौं महाधिबेशनबाट आएको नेतृत्वलाई यी सुझाव दिनु भएको हो । महाधिबेशनले कुल आचार्य,रविना थापा र बद्री केसीको त्रिकोणात्मक नेतृत्व चयन गरेको थियो, जुन अस्वभावि र असुहाउदो देखिएको अनि नेपालका राजनीतिक दलहरुले आ–आफ्नो भागबन्डा लगाएको आरोप लागेको थियो । एनआरएन नेतृत्वले विशुद्ध गैर आवासीय नेपालीहरु र मातृभूमिको हितमा काम गर्नु पर्नेमा केवल नेपालका राजनीतिक दलहरुको झोला बोकेर उनीहरुको कार्यकर्ता मात्र बनेको आरोप पनि लागिरहेको छ।

नेपाल फर्क अभियानका अभियान्ता डा.राजेन्द्रप्रसाद पंगेनी र अर्का अनुसन्धानकर्ता डा.तारा सिग्देलले नेतृत्व चयन प्रक्रियाप्रति असहमति जनाउदै अबको युगमा नेतृत्व चयनका लागि भौतिक उपस्थिति आबश्यक नपर्ने,डिजिटल भोटिंगबाट नेतृत्व चयन गर्नु पर्नेमा पनि जोड दिनु भएको थियो।भौतिक उपस्थितिबाट मतदान गर्ने परमपरागत प्रक्रियाबाट झंझटपूर्ण, खर्चिलो र अन्य कुराहरुबाट प्रभावित हुन पनि सकिने भएकाले डिजिटल भोटिंगबाट नै नेतृत्व चयन गर्ने विधि विधानलाई अनुशरण गरियोस भन्ने माग पनि उहाँहरुको थियो।

कार्यक्रममा सामाजिक अभियान्ताहरु पर्शुराम भण्डारी र रमेश ढकालले पनि तीन अध्यक्ष चयन गरेर एनआरएनको नेतृत्वले राजनीतिक दवाब र प्रभावबाट संस्थालाई अलग राख्न नसकेको आरोप लगाउनु भएको थियो।उहाँहरुले आम मतदातासँग नेतृत्वले क्षमा माग्नु पर्ने विचार पनि राख्नु भएको थियो।

कार्यक्रममा अन्य देशहरु चीन कोरियालगायतले विदेशमा काम गरिरहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन विभिन्न प्रोत्साहनका कार्यक्रमहरु ल्याएको उदाहरण दिदै नेपालले पनि बाहिर रहेर ज्ञान,सीप,अनुभव हासिल गरिरेको जन शक्तिलाई नेपाल फर्किन प्रोत्साहन नगरेसम्म नेपालमा दक्ष जनशक्तिको अभाव भईरहने कुरामा चिन्ता व्यक्त गरिएको थियो।सो अवसरमा नेपाली पासपोर्ट र नागरिकता बोकेर हिडिरहेको व्यक्तिलाई फरक व्यबहार गर्र्न नहुनेमा जोड दिइएको थियो।देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेको विप्रेषण(रेमिटेन्स) आर्जन गर्नेहरु प्रति भने सरकारको ब्यबहार प्रोत्साहित गर्ने किसिमको नभएको गुनासो पनि कार्यक्रममा गरिएको थियो ।

ईन्जा टक गत बर्षदेखि शुरु भएको कार्यक्रम हो।यसमा नेपाल र नेपाली समुदायसँग प्रत्यक्ष जोडिएका विषयहरुमा बहस गर्ने गरेको छ।इन्जाका बरिष्ठ उपाध्यक्ष विष्णु शीतलले सञ्चालन गर्नु भएको इन्जा टकमा अध्यक्ष गुणराज लुईटेलले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नु भएको थियो।उहाँले मे ३ तारिक नेपालमा हुने ईन्जा दिवस र पुरस्कार वितरण कार्यक्रमको बारेमा पनि चर्चा गर्नु भएको थियो।इन्जाले हरेक बर्ष मार्च १ तारिक गर्ने गरेको ईन्जा डे कार्यक्रम यस बर्ष मे ३ तारिकमा गर्ने भएको छ।नेपालका मिडिया र मिडियाकर्मीहरुको हित र प्रोत्साहनका लागि ईन्जाले हरेक बर्ष पुरस्कार र प्रोत्साहन गर्दै आएको छ।

प्रतिक्रिया