अमेरिका – शिक्षा, स्वास्थ्य तथा आपत्कालिन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आएको कल्याणकारी संस्था, हेल्प नेपाल नेटवर्क अमेरिकाले नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा संचालित परियोजनाहरुलाई सक्दो सहयोग गर्न अमेरिका तथा संसार भरिरहेका नेपालीहरु तथा नेपालका मित्रहरुलाई आह्वान गरेको छ।
“हेल्प नेपाल नेटवर्कले स्थापना कालदेखि नै देशका दुर्गम भेगमा कक्षा कोठा बनाउन, स्वास्थ्य शिविरहरु संचालन गर्न, बाढी पहिरो, महाभूकम्प र कोभिडको बेला सक्दो सहायता गर्दै आएका छौं। विकट मुगु जिल्लाको मुर्मामा संचालित हेल्थ पोस्ट तथा धुलिखेलमा संचालित बाल गृह अहिले पनि संचालित छन्। तिनको संचालनका लागि तपाईंहरुको सहयोग जुटाउन हामीले यो अभियान शुरु गरेका हौँ,” हेल्प नेपाल नेटवर्क अमेरिकाका अध्यक्ष ज्वलन्त श्रेष्ठले भने । उनले यो अभियानलाई सक्दो सहयोग गर्न अमेरिका तथा संसार भरिरहेका नेपालीहरुलाई आग्रह पनि गरे।
हेल्प नेपाल स्वास्थ्य चौकी सन् २००४ मा मुगुको मुर्मा गाउँमा निर्माण गरिएको हो। यस परियोजनाको कुल लागत करिब १४,००० अमेरिकी डलर बराबर थियो, जसको करिब ५० प्रतिशत स्थानीय समुदायबाट जग्गा, निर्माण सामग्री र श्रमको रूपमा सहयोग प्राप्त भएको थियो। हेल्प नेपाल हेल्थ पोस्टले समय-समयमा उक्त क्षेत्रमा स्वास्थ्य शिविरहरू पनि आयोजना गर्दै आएको छ । निःशुल्क औषधि वितरण समेत गरिन्छ । स्थानीय समुदाय मात्रै हैन त्यस क्षेत्र हुँदै ट्रेकिंगमा जाने पर्यटकहरु बिरामी हुँदा पनि यो स्वास्थ्य चौकीले सेवा पुराउंदै आएको छ।
हेल्प नेपाल नेटवर्क बालगृह सन् २०१४ नोभेम्बरदेखि सञ्चालनमा आएको हो र हाल यो बालगृहले बालकक्षादेखि कक्षा ९ सम्म अध्ययनरत २३ जना बालिकाहरूको हेरचाह गरिरहेको छ। यो बालगृह विभिन्न दाताहरूको सहयोगमा निर्माण गरिएको हो। उक्त बालगृह काभ्रेपलाञ्चोक, धुलिखेलस्थित पञ्चकन्या आधारभूत विद्यालयको जग्गामा निर्माण गरिएको हो। यहाँ बालिकाहरु नियमित पठनपाठनका अतिरिक्त खेलकुद, कला र संगीत कक्षामा सहभागी हुने गरेका छन् ।
हेल्प नेपाल नेटवर्क अमेरिकाले यो पेजमा गएर मन खोलेर सहयोग गर्न आग्रह गरेको छ।
” सन् २०१५ को महाभूकम्प वा कोभिड तथा जाजरकोट क्षेत्रमा गएको भूकम्पबाट प्रभावित समुदायलाई सक्दो सहयोग गर्न हाम्रा स्वयम्सेवकहरु अग्रपंक्तिमा खटिएका थिए। त्यो सबै तपाईंहरुकै महत्वपूर्ण सहयोगबाट सम्भव भएको हो। यस पटक पनि मुगुमा संचालित हेल्थ पोस्ट तथा धुलिखेलस्थित बाल गृहको संचालनका लागि तपाईंहरुको अमूल्य सहयोगका लागि हामी हार्दिक अपिल गर्दछौं,” हेल्प नेपाल नेटवर्कका ग्लोबल कोअर्डिनेटर डिला खरेलले भने । उनले दाताहरुको सम्पूर्ण सहयोग संकलन पारदर्शी हुने पनि जनाए ।
हेल्प नेपाल नेटवर्कका गतिविधिबारे यो लिंकमा गएर थप जानकारी पाउन सकिन्छ:
प्रतिक्रिया