सूचनाको अधिकार ‘षष्टिका बस्नेत’ पुरस्कारबाट वुढाथोकी र साह सम्मानित

इनेप्लिज २०७८ चैत १६ गते २२:२३ मा प्रकाशित

विराटनगर,१६ चैत।षष्टिका बस्नेत सूचनाको अधिकार र प्रोत्साहन पुरस्कार–२०७८ बाट यस वर्ष गजेन्द्र वुढाथोकी र देवनाराण साहलाई आज यहाँ प्रदान गरिएको छ।

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाबाट प्रदान गरिदै आएको सुचनाको अधिकार पुरस्कारको राशि रु ५० हजार ५१ टक्सार म्यागजिनका प्रधान सम्पादक वुढाथोकीलाई र प्रोत्साहन पुरस्कारको राशि रु १५ हजार ५१ बाट कान्तिपुर दैनिकका मोरङ सम्वाददाता साहलाई प्रदान गरिएको छ।

प्रदेश न.१ का सभामुख प्रदीपकुमार भण्डारीले सम्मानित सञ्चारकर्मीद्वय पुरस्कार प्रदान गर्दै पत्रकारहरुले निश्पक्ष,सत्यतथ्यका आधारमा जनताको पक्षमा समाचार पस्कनु पर्नेमा जोड दिदै मुलुकको सामाजिक तथा राजनीतिक परिवर्तन क्षेत्रका खेलेको भूमिकाको प्रशंसा गर्नु भयो।

उहाँले नागरिकको अधिकारप्रति कलम चलाउन आग्रह गर्दै पत्रकार विश्वासिलो भएमा जनतामा सम्मानिय हुने धारणा राख्नु भयो।

यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले पत्रकारको जीविकोपार्जन,पेशाप्रति दक्ष बनाउन प्रदेश सञ्चार व्यवस्थापन विधेयक प्रदेश सभामा पेश गरेको जानकारी दिदै कानूनको पालनावाट मुलुकमा सुशासन कायम हुने विचार राख्नु भयो।

उहाँले महिला,दलित अपाङ्ग र पिछडिएका क्षेत्रका महिलाहरुलाई पत्रकारिता स्नातकोत्तर अध्ययनमा छात्रवृत्तिको व्यवस्था गर्ने बताउदै प्रदेशमा दर्ता भएका पत्रपत्रिकाहरुलाई लोककल्याणकारी विज्ञापनको समानुपाति वितरणको व्यवस्था गरेको जानकारी दिनु भयो।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यवसायिक पत्रकारहरुको पेशागत हकहित संरक्षणका लागि तीनतहको सरकारको दायित्व रहेको छ भन्दै यस पेशाबाट जीवन निर्वाह गर्न समस्या रहेको आफ्नो अनुभव सुनाउनु भयो।

 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राज्यको काम कारवाहीलाई पारदर्शी बनाउन सबैले आफ्नो क्षेत्रबाट प्रतिवद्धता व्यक्त गर्नुपर्नेमा जोड दिदै सूचनाको अधिकार व्यवहारमा उतार्न जटिलता रहेको बताउनु भयो।

महासङ्घका मोरङ सभापति सन्जिव खनाल,उपाध्यक्ष तारा आचार्य,कोषाध्यक्ष अभय राई,महासङ्घ प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे,नेपाल प्रेस चौतरीका केन्द्रीय सचिव विक्रम लुईटेल,प्रेस संगठन नेपालका प्रदेश अध्यक्ष विनोद घिमिरे,यज्ञ शर्मा,कोषका दाता केदारबहादुर बस्नेत र सम्मानित वुढाथोकीले जनताको हक अधिकार संरक्षण लागि महासङ्घ अगाडि वढ्नु पर्ने आवश्यक्त्ता औल्याउनु भयो।

विराटनगर– ११ निवासी बस्नेतले सूचनाको अधिकार क्षेत्रमा कार्य गर्ने अभियन्ता एवं पत्रकारलाई प्रदान गर्न आफ्नो स्व.धर्मपत्नी षष्टिका बस्नेतको नामा रु सात लाख अक्षय कोष स्थापना गर्नु भएको थियो।

सूचना अधिकार पुरस्कारबाट यसअघि बिनय कसजु, शिव गाउँले, तारानाथ दाहाल र धर्मेन्द झा र प्रोत्साहनबाट राजु श्रेष्ठ,गणेश लम्साल र मोहन काजीलाई प्रदान गरिएको कोषका सल्लाहकार निर्मल तामाङले जानकारी दिनु भयो।

महासङ्घको स्थापना दिवसको उपलक्ष्यमा विगत चार वर्षदेखि पुरस्कार वितरण गरिदै आएको महासङ्घ मोरङ सचिव सचिव नेत्र पि अधिकारीले बताउनु भयो।

प्रतिक्रिया