उसको बारेमा धेरै सुनेको थिए नाम चलेको वकिल भन्ने, बहस गर्न त्यतिकै सिपालु अनि व्यवहार पनि एकदमै राम्रो, म अन्तर्वार्ताको लागि अतिथि खोज्दै थिए। अर्को हप्ताको कार्यक्रम थियो तर चाडपर्वले होला अतिथि भेटिरहेको थिएन। गुनासो बोसलाई गरे उहाले फ्याट्टै उसको नाम लिदै भन्नु भयो, ”आजभोली डिभोर्स सिजनै चलेको छ सौगातलाई बोलाउनु होस् भनेको मान्नु हुदैन?” मेरो फेसबुकमा त साथी थियो नै तर आधिकारीक निमन्त्रणा कसरी फेसबुकमा पठाउने भन्दै मैले उसको नम्बर पत्ता लगाए। फोन गरे तर लागेन एसएमएस पठाए, म पत्रकार हून अन्तर्वार्ता गर्न चाहन्छु समय मिलाएर कुरा गरौ। पढ्यो तर जवाफ दिएन, सोचे व्यस्त होला तर ६ घण्टा बितिसक्दा पनि जवाफ आएन। मेसेज पढेर जवाफ नदिने मान्छे मलाई एलर्जी हुन्छ। फेरी फोन गरे, फोन काटिदियो, लौ त लौ भनेर मैले पनि फोन नै ब्लक गरिदिए।
भोलि पल्ट अफिस पुग्न नपाउदै बोसको बोलावट आयो, ”अन्शुजी! यसरी काम हुँदैन मेन स्ट्रिममा बसेर काम गर्ने हो भने आफ्नो व्यवहार सुधार्नु होस्। फोन उठाएन भन्दैमा ब्लक गर्ने ? तपाई जस्ता हजारौ पत्रकारले सम्पर्क गर्छन ठुला मान्छेलाई सबको जवाफ दिनु पर्छ भन्ने छैन व्यावसायिक बन्न सिक्नुहोस।” मैले बुझिहाले बुढोको दिमाग तात्नुको कारण तर मलाई पनि जवाफ फर्काउन मन लागेको थियो, ”दिन भर काम गराउछौ, व्यापारिक घरानाबाट करोडौ असुल छौ तर हामिलाई सित्तैमा काम लगाउछौ अझै आदर्शका कुरा गर्छौ” मनमनै उठेको रिस शान्त पर्दै भने, ” के भयो र सर? मैले के गर्नु पर्यो ?” ”सौगातजीको फोन आएको थियो हिजो सर्वोच्चमा बहस थियो फोनको जवाफ दिन भ्याउनु भएन रे तर पछि कल गर्न खोज्दा तपाइले ब्लक गरिदिनु भएछ। ” मलाई प्रेस कार्ड चाहिएको थियो, त्यसैले यो मेडिया खाली समयमा सित्तैमा काम गरिरहेको थिए तर जति काम गरे पनि बोस कहिले खुशी हुँदैनथ्यो सधै एउटा न एउटा खोट निकालेर दोष देखाउदै बस्थ्यो। दुध दिने गाईको लात सहनु पर्छ भनेर मेरो आमा भन्नु हुन्थ्यो। मैले सच्चिदै भने, ” होइन सर हिजो फोन छोराले खेल्दै थियो, चलाउदा चलाउदै ब्लक भयो होला। म गर्छु सौगात सरलाई फोन। ” मलाई किन हो किन कसैसंग झुक्नै मन लाग्दैन। हतपत गोमालाई फोन गरेर सत्य तथ्य बेलिबिस्तार लगाए। साथी भनेर के गर्नु गोमाको फेरी आफ्नै अनुमान हुन्छ, माया असाध्यै गर्छे मलाई तर बुढी आमा जस्तो सधै गनगन। सौगातलाई ब्लक गरेको कुरामा पनि गोमाले दोष मेरै देखिन। तेरो पनि काम छैन भनेर फोन बीच मै काटिदिए र ब्लक खोलेर फोन थिचे। उसले उठायो मैले माफी माग्दै समय मागे तर कति घमण्डी वकिल रहेछ। म यस्तो कुरा फोन मा गर्दिन इमेल गर्नुस अनि क्यालेन्डर हेरेर समय मिलाउछु पो भन्छ। मैले लाचार भएर हस भने। इमेल पठाउनु अघि बोसलाई देखाए, बोस आफुलाई भुल सुधार आयोगको पनि हाकिम नै सम्झिनछ, मेरो भाषा पुरै छाटेर अर्को लेखिदिए। इमेल पठाएको दुई दिन पछि जवाफ आयो ओके भनेर।अन्तर्वार्ताको मिति तय भयो, र अन्तवार्ता पनि निकै शालीन र सभ्य भयो। अन्तवार्ता सकिएको एक घण्टा पछि सौगातको इमेल आयो, ”अंशुजी! तपाइको समयको लागि धन्यवाद! यहाको अन्तर्वार्ता शैली र शालीनताबाट म साच्चै प्रभावित भए। सम्पर्कमा बसौ।” म अच्चमित भए, मैले घमण्डी चित्र कोरेको मान्छेको भलादमी चरित्र देखेर। चाड पर्व र उत्सवहरुमा हाम्रो शुभकामना आदानप्रदान हुनु थाल्यो।
मेरो लेखिका बनेर किताब प्रकाशन गर्ने ठुलो सपना, कथा संग्रह तयार गर्दै थिए। १५ वटा कथा लेखेर सकाए, गोमाको सल्लाह अनुसार एउटा प्रकाशन गृहलाई सम्पादन र प्रकाशनको जिम्मा दिने निश्चय गरेर गोमा र म सम्पादकलाई भेट्न गयौ। कुराकानी भयो गर्दै थियौ, टुप्लुक्क सौगात आइपुग्यो, प्रकाशकले हामीलाई चिनाउदै भने, ”अंशुजी तपाईका कथाहरु ऐन कानुनसंग सम्बन्धित छन् त्यसैले सौगात सर राम्रो सम्पादक पनि हुनुहुन्छ, तपाइको कथा संग्रहको जिम्मा उहाले लिनु हुन्छ। ” म अक्क न वाक्क परे। उनले मलाई हेर्दै भने, ‘तपाइले पहिले प्रकाशन गरेका कथाहरु पढेको थिए, हाम्रो समाजको यथार्थ चित्रण गर्नु भएको छ, कथा मार्फत उठान गर्नु भएको विषयलाई अझै परिष्कृत गरी सामाजिक सचेतना बढाउन सकिन्छ, त्यसैले म सम्पादन गर्न चाहन्छु।” मैले सोधे , ”तपाई वकिल होइन र पेशाले ?” उसले हास्दै भन्यो, ”तपाई पनि पर्यटन व्यवसायी होइन र पेशाले?” एक महिनामा सम्पादन सकेर दुइ महिना भित्र कथा संग्रह प्रकाशन गर्ने सम्झौता गरेर गोमा र म त्यहाँ बाट निस्कीयौ, गोमाले बाटो भारी मलाई उसको नाम लिदै जिस्काई रहिन। म भने कल्पनाको संसारमा हराई रहे। घर पुगेर भान्छा कोठामा बसेर सोचिरहे यो कस्तो सन्जोग?
कथा सम्पादन गर्न थाले पछि सौगात र मेरो सम्पर्क बाक्लो हुन थाल्यो। मेरो लेख्न शैली, मेरो कार्यक्रम संचालनमा , उसले दिने सुझाव र सल्लाहले म दिनदिनै आफ्ना कमीकमजोरी सुधार्दै थिए। उसंगको सम्बन्धले मलाई एउटा उर्जा मिलेको थियो। किशोरावस्थाको अल्लारे प्रेममा रहेर गरेको मेरो वैवाहिक जीवन सुखी थिएन। पारिवारिक जिम्मेवारी त् थियो नै त्यसको साथै आफै कमाएर परिवार धान्नु पर्ने बाध्यता पनि थियो। मैले आफ्ना व्यक्तिगत कुरा उसलाई बताएको थिएन तर पेशागत कुरा सबै उसंग बाढ्दा मलाई आफ्नो पारिवारिक बोझ बोक्न समेत सहज महशुस भएको थियो। सौगात र मेरो सामिप्यले ममा परिवर्तन आएको कुरा गोमाले पनि महशुस गरेकी थिएन, मलाई जिस्काउनु, मसंग ठट्टा गर्नु, दुख पिर पर्दा खम्बा बनेर उभिने गोमासंग म निहु खोज्न सक्थे, झगडा गर्न सक्थे तर उसंग झूठ बोल्न कदापी सक्दैनथे। झुक्किएर झूठ बोले भने पनि उसले पक्रिहाल्थिन।
कथा सम्पादन सकिदै थियो, अन्तिम कथा सम्पादन गर्ने दिन सौगातले मलाई फोन गरेर भन्यो, ”अब सम्पादन सकियो, अब बोल्ने र कुरा गर्ने बहाना फेरी भेटिदैन होला, त्यसैले आज तपाईसंग भेटेर कफी पिउन मन छ। ” मैले नाइँ भन्न सकिन र हुन्छ भन्न पनि सकिन किनकी म पारिवारिक अवस्थाबाट थाकिसकेको थिए र म मुक्ति चाहन्थे तर यो सब सत्य बताउने आट ममा थिएन। यो सोच्दासोच्दै उसले फेरी सोध्यो, ”समय मिल्छ म्याडम?” मैले हस भने, ”म पांच बजे तपाईलाई लिन आउछु तपाइको अफिसमा,” भनेर फोन काटिदियो। म भने बेचैन भएर सोच्न थाले। सत्य बोलु या नबोलु भनेर।
सौगातलाई यथार्थता खोल्ने आट नहुनुको दुइ वटा कारण थियो, पहिलो कारण म मेरो श्रीमान संग सम्बन्ध विच्छेद गर्न त् चाहन्थे तर सम्बन्ध विच्छेद पछि यो समाजसंग लड्ने ताकत मसंग थिएन किनकी किशोरावस्थाको प्रेमलाई विवाहमा बदलेर सुन्दर पारिवारिक संसारको कल्पना गरेको म वर्षौदेखि कुण्ठित जीवन बाचिरहेको थिए र दोश्रो कारण मेरो असफल वैवाहिक जीवन कथा उसलाई सुनाएर म उसको सामिप्य गुमाउन चाहन्नथे।
कफी पिउदै उसले मलाई सोध्यो, ”अन्यथा मान्नु हुँदैन भने, एउटा कुरा सोधु?’ उसको र मेरो आँखा जुध्यो, कुरालाई निरन्तरता दिदै भन्यो, तपाई को लेखाइमा गम्भीरता छ, र प्राय तपाइका कथाहरु वियोगान्त रहेका छन्, कसरी यति गहिराईमा पुगेर पिडाहरुलाई महशुस गर्दै कल्पनामा ढल्नु हुन्छ कथा मार्फत?तपाईका कथा पढ्दा झ्यालबाट छिमेकमा घटेका घटना हेरे जस्तै हुन्छ तपाइका पाठकलाई।” मैले भावुक हुँदै जवाफ दिए, ”मेरा हरेक कथामा कहिँ न कहिँ मेरो जीवनको यथार्थ पनि जोडिएका छन् सौगात जी त्यसैले होला मेरा कथा जीवन्त भएका। ” ”यो अनुमान मैले पहिले लगाएको थिए”, कफीको चुस्की लिंदै उसले बोल्यो।
कौतुहल नजरले मैले उसलाई हेरे, आकाशमा उडिरहेको बादल हेर्दै ऊ बोल्यो ‚‘‘मेरो कथा पनि तपाई कै जस्तो छ , म पनि अन्त्य गर्न चाहन्छु मेरो वैवाहिक जीवन तर तपाइको जस्तै समाजको डर भन्दा पनि दवाव छ मलाई पनि, नाम चलेको वकिल, सबैलाई कानुनले तोकेको हक अधिकार दिलाउन रात दिन बहस गर्ने वकिल म आफ्नै वैवाहिक सम्बन्धसंग सघर्ष गरिरहेको छु। मेरी श्रीमती मसंग सम्बन्ध विच्छेद गरेर छुट्टिन चाहन्छे। मसंग सम्बन्ध विच्छेद गरेर छुट्टिन चाहनुको कारण धेरै छन्, पहिलो कारण मसंग न्याय माग्न प्राय महिलाहरु आउछन र मेरी श्रीमती सोच्छे न्यायका लागि मेरो ल फर्म आउने महिलाहरु मसंग न्यायको माग्न नभई प्रेमको भिख माग्न आउछन र म हरेक दिन कामले थाकेर होइन प्रेमको भिख दिएर घर फर्कने गरेको निहुमा हरेक दिन झगडा हुने गर्छ। घरमा छोराछोरी छन् र मैले दुखले कमाएको सम्पति छ , न म छोराछोरीलाई अलग राख्न सक्छु न त मैले दुखले कमाएको सम्पति सम्बन्ध विच्छेद गरेर बाढन सक्छु न रातदिन हुने श्रीमान श्रीमती झगडा नै रोक्न सक्छु।”
मैले अनायास उसको हात समातेर भने, ”सौगात जी! कतिपय सम्बन्धलाई मनमा प्रगाढ माया र सम्मान हुदाहुदै पनि कुनै खास नाम दिन सकिदैन रहेछ। तपाइको र मेरो सम्बन्ध त्यस्तै नै जस्तो लाग्यो।हाम्रो सम्बन्धलाई म कुनै नाम त दिन सक्दिन तर जीवनभर दुखसुखमा साथ दिन सक्छु” मैले यति भनि रहदा गोमाको फोन बज्यो, फोन काटिदिए , तुरुन्तै मेसेज आयो, ”अझै अफिसमै, घर जानु पर्दैन ?”
मनमनै सोंचे, प्याराच्युट जस्तै छ मानिसको जीन्दगी, कहिले हावा झोक्काले दिशा परिवर्तन गरिदिन्छ, कहिले घामको तापले गति रोकिदिन्छ। हावामा उड्दा सुन्दर दृश्यले मन त कल्पिन्छ तर यथार्थताको धरातलमा जब तनमन बजारिन्छ त्यसले होला पीडाले तन मात्र होइन मन पनि थकित हुन्छ ।यहि थकित मनको भारी बिसाउन एउटा यस्तो सम्बन्ध चाहिदो रहेछ।
बाबा राजेश्वरी थापा
भिएना,अष्ट्रिया
पत्रकार ,सामाजिक अभियन्ता ,कार्यक्रम प्रस्तोता तथा लेखिका हुन् । काठमाडौँ घर भएकी थापा हाल अष्ट्रियाको भिएना बसोबास गर्छिन ।
प्रतिक्रिया