विराटनगर,१ चैत।दुर चिकित्सा सेवा प्रभावकारी सञ्चालनका लागि थप चिकित्सक र आवश्यक सञ्चार उपकरणको व्यवस्था हुनु पर्ने सुझाव सहभागी चिकित्सकहरुले दिएका छन्।
प्रदेश नं १ स्वास्थ्य मन्त्रालय,स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज यहाँ आयोजित दुर चिकित्सा सेवाको नीति वैठकमा सहभागीहरुले चिकित्सकहरुलाई थप प्रोत्साहन भत्ता,दुर चिकित्सा केन्द्र लगायत प्रदेशका जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रमा सूचना प्रविधि जनशक्तिको नियुक्ति गरेमा सेवा प्रभावकारी हुने धारणा राखेका छन्।
प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्वोले मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवा दुर्गम क्षेत्रका लक्षित वर्गलाई सेवा उपलव्ध गराउन दुर चिकित्सा प्रभावकारी हुने बताउनु भयो।
उहाँले आगामी असार मसान्त अगाडि सेवा सञ्चालन गरी जिल्ला अस्पतालहरुलाई जोड्न आग्रह गर्दै सरकारी अस्पतालहरुवीच आपसी सहकार्य गरी जनतालाई गुणस्तरीय उपचार सेवा प्रदान गर्नुपर्नेमा जोड दिनु भयो।
स्वास्थ्यमन्त्री जयराम यादवले सिंहदरवारको अधिकार घरघरमा भन्ने अनुभूति दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रवाह गरेमा अनुभूति हुने विचार व्यक्त्त गर्नु भयो ।
उहाँले स्वास्थ्य सेवालाई सवल बनाएमा सङ्घीयताको सफल कार्यान्वयन एवं स्थायित्व कायम हुने धारणा राख्नु भयो।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल,स्वास्थ्य मन्त्रालयका सचिव अनुज भट्टचन,स्वास्थ्य सेवा विभाग टेकु काठमाडौका पूर्व महानिर्देशक डा.मिङमार ग्याल्जेन शेपा,निर्देशनालयका प्रमुख ज्ञानन्द्रवहादुर वस्नेत लगायतले दुर चिकित्सा सञ्चालनबाट प्रदेशको स्वास्थ्य क्षेत्रले गति लिने बताउनु भएको छ।
कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,मेची अस्पताल, कोशी अस्पताल,प्रदेश प्रयोशाला,विश्व स्वास्थ्य संगठनका चिकित्सक,सूचना प्रविधि विज्ञको सहभागिता थियोे।
बैठकमा सङ्घीय सरकारबाट दुर चिकित्सा सेवा सञ्चालनका लागि हाललाई रु ५० लाख बजेट आएको जानकारी गराइयो।
प्रतिक्रिया