ब्यङग्य कविता:कुकुर पालन

अर्जुनराज पन्त, बाग्लुङ मुलपानी २०७८ फागुन ३० गते २३:५२ मा प्रकाशित

गर्ला भनि घरको रक्षा पाले कुकुर मैले
के को गर्नु रक्षा हजुर घाँडो भा छ ऐले

दुइ घरको जुठो कलो खाँदा मिठो मानी
त्यहि भएर बिग्रो कि खै यो कुकुरको बानी

कुन कलोमा बिगार पर्यो अचम्मै पो भा छ
निस्वार्थी त्यो प्राणि पनि स्वार्थी हुँदै गा छ

घरै फोर्ने चोर आउदा टाँड मुनि लुक्छ
कलो खाने बेला भए सेवा लाउन भुक्छ

अनायसै भुक्यो आज बिघ्न कतै भो कि
बिरामी ति बुढी आमा बढ्यो कि खै खोकी

जर्फराउदै उठे राति हेरे तल माथि
के भएर भुक्यो भन्दै अधेरिको साथी

देखाउनलाइ केहि जस्तै वरिपरि घुम्यो
चम्रे पुच्छर डाेल्याउदै आफ्नै भाँडो शुँघ्यो

हन्तकारी शान्त पार्न कलो थपे मैले
के भएर यस्तो गर्छ सोच्न थाले ऐले

भुक्नै छाड्यो स्याललाई देख्दा शाधु देख्दा भुक्छ
कलो खान सेवा लाउँछ अरु बेला लुक्छ

कुखुरा चोर्ने स्यालसँग साख्खै हुन जान्छ
उनले फाल्या टाउको खुट्टा मिठो मानि खान्छ

टोलै भरका कुकुरको नाइके जस्तै गरी
सबै कुकुर हिँड्दा रैछन उसका वरिपरी

स्यालले फाल्या खुट्टा खाँदा नभरिएर पेट
उसको कलो खादा रैछन हुँदा जम्मा भेट

बन कुकुर र घर कुकुरको हुँदा आज दोश्ती
यिनकै रैछ मोजमस्ती मलाइ दिए शास्ती

अरु पाल्ने जिम्मा समेत लिएको रैछ ऐले
खेद्छु अब यस्तो डाम्नो पल्दीन भो मैले

-अर्जुनराज पन्त, बाग्लुङ मुलपानी

( तिन बर्ष पहिले याे कविता लेखेर बाचन गरे बापत कविको युु टुब नै बन्द गराइएकाे थियाे)

प्रतिक्रिया