जीवनको भोगाइमा ‘स्यानी’ उपन्यास

     सूर्य गौतम,बारपाक सुलिकोट,गोरखा २०७८ फागुन २३ गते १२:०९ मा प्रकाशित

कहाँबाट सुरु गरौँ लेख्‍नलाई कलम चल्दैन,जति जति किताब पढ्दै गयो उति मन थामिदैन।

नेपाल सरकारका पूर्व सचिव डा. खगराज बरालको ‘स्यानी’ उपन्यास पढ्दैँ गर्दा आफ्नो जीवनका हरेक पलपलका पीडा सम्झदैँ पढेर सकियो । यस उपन्यास वि.स. २०७७ को अन्तिमतिर बजारमा आएको थियो । यो बजारमा आएदेखि नै निकै चर्चमा आएकाले मलाई पनि पढ्न मन लागेको थियो । मलाई पनि अलि ढिलै गरी पढ्ने मौका मिल्यो र यो पढ्दै गर्दा यसका बारेमा केही न केही धेरै थोरै भए पनि लेख्‍न मन लाग्यो र मेरो जीवनको भोगाइमा ‘स्यानी’ उपन्यासका बारेमा दुई चार शब्द लेख्‍ने प्रयास गरेँ।

लेखक बरालले यसमा आमालाई गुमाउँदाको पीडालाई निकै मार्मिक शब्द र सरल भाषामा उतारेका छन् । बरालले आफ्नी आमालाई यस उपन्यासको मुख्य पात्रका रुपमा केन्द्रित गरेका छन् । यस उपन्यासकी मुख्य पात्र स्यानीलाई पनि सानै उमेरमा उनका बाआमाले मामाघरमा छाडेर मुग्लान गएका छन् । यस उपन्यासमा मुख्य पात्र स्यानीका चार दाजुभाइ मध्ये एक भाइ नेपालम नै बसेका कारण बा कहिलेकाहीँ नेपाल आउँदा स्यानीको र बाको भेट हुने र आमा नेपाल नआएका कारण आमासँग स्यानीको भेट भएको छैन ।लेखकले आमा गुमाउँदाँको पीडा र आफू तेह्र दिनसम्म किरिया बस्दा आमाको यादमा आएका घटनालाई निकै पीडादायी किसिमले उल्लेख गरेका छन्। लेखकले उपन्यास कथावस्तुको सुरुवात नै आफू राति नौ बजे सुत्ने बेलामा घरबाट आमा बिरामी भएको र छिट्टै घर आइज भनी फोन आएको, रातिको समय भएकाले ट्क्यासी नपाएको र पाएको ट्क्यासी चालकले आफूलाई विश्वास नगरेको घटनाबाट गरेका छन् । जसोतसो ट्क्यासी लिएर जाँदा आफूले घरबाट आएको अर्को ट्क्यासीलाई बाटैमा भेटेको र आफू पनि त्यहीबाट फर्केर अस्पताल पुगेको र अस्पताल पुग्दा आमा नभएको खबरले निकै मर्माहित बनाएको छ लेखकलाई। यसरी लेखकले तेह्र दिनसम्म आमालाई विभिन्न तरिकाले सम्झेका छन् ।

यो उपन्यासमा प्रयोग भएका शब्द हालका नयाँ पुस्ताले भुल्दै गएका छन् । यसले रीतिरिवाज, चालचलन, कला, परम्परा, धर्म, संस्कृति र भाषा आदि जस्ता समाजका परम्परालाई मौलिक रुपमा चित्रण गर्न सफल भएको छ । यसमा लेखकले गाउँमा बस्दा, पढ्दा र सहरमा आफू एक्लै बस्दा आमाको न्यानो काखबाट टाढिएको महसुस गरेका छन् ।यसमा बुबाआमालाई बोझ मानी अशक्त उमेरमा पाटी, पौवा, मन्दिर आदि जस्ता ठाउँमा छाडने छोराछोरीलाई पाठ सिकाउँदै आमाबुबाको महत्व दर्साएका छन् ।

यो उपन्यासको कथासँग मेरो व्यक्तिगत जीवन पनि गाँसिएको छ । यस उपन्यासकी पात्र स्यानी मेरो जीवनको आधार हुनुहुन्थ्यो ।म जन्मेको पन्ध्र दिनमा नै मेरी आमाको आगोमा परेर घाइते भएपछि आमाले नै मलाई यस उपन्यासकी मुख्य पात्र स्यानी र मेरी हजुरआमाको जिम्मा लगाई छोडेर यस धर्तीबाट बिदा लिनुभएको थियो । जब म बुझ्ने भएदेखि नै मैले स्यानीलाई दिदी भने गरे पनि मैले स्यानीलाई आमासरह नै मान्दथे र अहिले पनि मान्छु । जब उहाँको मुत्युको खबर पाए मलाई पनि ठूलै चोट पर्यो । आमा नभए पनि आमाको जस्तै माया त पाएको थिए । त्यही माया पनि मेरो जीवनमा अधुरै रह्यो । यसरी स्यानीबाट विछोड भएको केही वर्षमा हजुरआमाले पनि छाडेपछि आमाबाको माया पाउने सपना जीवनमा कहिल्यै पूरा नहुने भयो । यस उपन्यासले बिर्सिसकेको घटनाको याद फेरि दिलाइदियो ।

‘स्यानी’ उपन्यासले आमाको माया नपाएका धेरै पाठकलाई रुवाउने गरेको छ । यस उपन्यास पढ्न म जस्ता आमा नहुनेलाई पढ्न निकै गाह्रो हुनेछ । यसले आमाबाबाट टाढा नभईसँगै बस्न प्रेरणा प्रदान गरेको छ । उपन्यासको अन्तिमसम्म नै लेखकलाई आमाको यादले सताइरहेको छ ।यो उपन्यास आमा हुने र नहुने दुवैले पढ्नै पर्ने पुस्तकका रुपमा रहेको छ ।

अन्त्यमा यो ‘स्यानी’ सामाजिक यथार्थवादी मन छुने सन्देशमूलक र पठनीय दुवै रहेको छ ।यो उपन्यास आफ्ना सन्ततिलाई आफूले भोगेका विगतका विभिन्‍न समस्याको चित्रण गरी भविष्यका पुस्तालाई ज्ञानको माध्यम बन्न सफल भएको छ । यो उपन्यासमा लेखकले आमाको मृत्यु भएको दिनदेखि तेह्र दिनसम्मका काम र उपन्यासको सम्पूर्ण भाग यसैबिचमा समाप्त भएको छ । उपन्यास रोचक छ, कथावस्तुको वर्णन चलचित्रमय छ, पाठकको मन छुने खालको छ । लेखकबाट भविष्यमा अझ उत्कृष्ठ उपन्यासका अपेक्षा राख्न सकिन्छ ।

कृति : “स्यानी”

विधा : उपन्यास

लेखक : खगराज बराल

प्रकाशक : साङग्रिला बुक्स प्रा.लि.

सस्करण : पहिलो, २०७७

मूल्य : ४९५

पृष्ठ : २५७

प्रतिक्रिया