विराटनगर,१५ फागुन।प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवले स्वास्थ्य क्षेत्रमा विशेष उपकरण सञ्चालनका लागि दक्षजनशक्ति परिपूर्ति गर्ने बताउनु भयो ।
मन्त्रालयका आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न एक सय दिने कार्यक्रम सार्वजनिक गर्दै उहाँले प्रदेशका स्वास्थ्य क्षेत्रमा आवश्यक ५० प्रतिशत दरबन्दी खाली रहेकोले पदपूर्ति गर्ने जानकारी दिनु भयो।
मन्त्री यादवले सार्वजनिक गर्नु भएको २० बुदें प्राथमिकताहरुमा प्रादेशिक स्वास्थ्य नीतिको खाका तयार गर्ने,पशुबाट मानिसमा सर्ने रोगहरुको नियन्त्रणका लागि एक स्वास्थ्य रणनीति तयार गर्ने,स्वास्थ्य बिमा बोर्डको प्रदेश कार्यबिधि तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेश गर्ने,मेची अस्पताललाई २०० शैयामा स्तरबृद्धि गर्न आवश्यक तयारी स्विकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पेश गर्ने रहेका छन्।
यसैगरी प्रादेशिक आयुर्बेद अस्पताल सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्ने, प्रदेश जनस्वास्थ्य प्र्रयोगशालाको सेवा आफ्नै भवनबाट शुरु गर्न,स्थानीय स्वास्थ्य संस्थाहरुको सुदृढीकरणको कार्यक्रम कार्यान्वयन गर्ने,मेची अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारी,इनरुवा,अस्पताल र गाइघाट अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा तथा प्रषण प्रणाली सुदृढ गर्न एम्बुलेन्स हस्तान्तरण गर्ने रहेका छन्।
अन्य प्राथमिकताहरुमा प्रदेशभरिका स्वास्थ्यकर्मीहरुका रिक्त पदको बिवरण संकलन गरी लोकसेवामा पठाउन तयारी अवस्थामा राख्ने,कोभिड–१९ उपचार केन्द्रको दीर्घकालिन कार्ययोजना तयार गर्ने,प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको लागि जग्गाको व्यवस्था गर्ने लगायतका रहेका छन्।
उहाँले विराटनगरमा उपचारमा आउने विरामीहरुलाई ठगी हुने कार्यलाई रोकथामका लागि मन्त्रालयमा एक समिति गठन गरि विशेष अभियान सञ्चालन गर्ने जानकारी दिनु भयो।
प्रतिक्रिया