मोरङ, ४ फागुन । मालव्यून क्रिकेट क्लव संयुक्त अधिराज्य र नेपाल क्रिकेट फाउण्डेशन आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकट खेलाडी उत्पादन लक्ष्यले कार्य शुरु गरेको छ।
फाउण्डेशनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ, धनकुटा र मधेश प्रदेशको राजविराज सहित आठ जिल्लाका विद्यालयस्तरका युवा तथा युवतीलाई क्रिकेट सम्वन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्त सम्वन्धी ज्ञान दिने भएका छन्।
मेलव्यून क्लवका निर्देशक एन्गुस बेरीले आगामी दुई वर्षका लागि नेपालका विद्यालयस्तरमा छात्र तथा छात्रालाई विशेष प्रशिक्षण दिन बार्षिक रुपमा रु ३० लाख सहयोग गर्ने जानकारी दिनु भयो।
उहाँले प्रशिक्षणबाट उत्कृष्ट भएका नेपाली खेलाडीहरुको एक टिम गठन गरी भविष्यमा संयुक्त अधिराज्य र ओमान लगायत अन्य देशमा प्रतियोगितामा सहभागि गराउने बताउनु भयो।
फाउण्डेशनका संयोजक अभिशेषक श्रेष्ठले तल्लो तहबाट युवा महिला खेलाडीलाई क्रिकेट सम्वन्धित ज्ञान दिई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्नका लागि सक्षम बनाउन प्रशिक्षणको आयोजना गरिएको बताउनु भयो।
उहाँले आफुले सन् २०१६ देखि विराटनगरमा प्रशिक्षण शुरु गरी हालसम्म १४ जना राष्ट्रियस्तरको महिला खेलाडी उत्पादन गर्न सक्षम भएको जानकारी दिनु भयो।
पत्रकार सम्मेलनमा संयुक्त अधिराज्यका तेश्रो तहका क्रिकेका प्रशिक्षकद्वय साना वेग लि र जोनाथन वुथाले क्रिकेट प्रति छात्र तथा छात्रा आकर्षण वृद्धि गरी आय आर्जनमा सक्षम बनाउन प्रशिक्षणको आयोजना गरिएको जानकारी दिनु भयो।
उक्त प्रशिक्षण आजदेखि एक महिनासम्म विराटनगर,धनकुटा,राजविराजमा सञ्चालन हुने छ।
प्रतिक्रिया