नेपालमा प्रत्येक वर्ष हजारौँ नयाँ पुस्तक छापिन्छन् । कुनै पुस्तक पाठकसम्म पुग्छन्, पाठकका दिल दिमागमा डेरा जमाउंछन् । केही पुस्तक प्रेसवाट पसलसम्म पुग्छन्, केही समय पसलमा सजिन्छन् र गोदाममा थन्किन्छन् । चित्रकुमारी थाम्सुहाङ सुव्वालाई आफ्नो पहिलो पुस्तक ‘सहकारीमा २५ वर्ष भोगाई र अनुभूति‘ पसलमा मात्रै सजिने हो कि पाठकको मनमा सजिने हो भन्नेमा शंका थियो ।
उनले लेखकीयमा भनेकी छिन्, ‘देशमा सयौँ स्थापित लेखक तथा साहित्यकार छन् । म उनीहरूसँग प्रतिस्पर्धामा खरो उत्रिन सकुँला ? म स्थापित लेखक होइन, पाठकहरूलाई आफूसँग बाँध्न सक्ने साहित्यकार पनि होइन । मानिसहरूलाई लठ्ठ पार्ने तार्किक शक्ति भएकी दार्शनिक पनि होइन । मैले लेख्न लागेको किताबले मानिसहरूलाई कति प्रभाव पार्न सक्ला ?’
चित्रालाई जति दुविधा थियो तर उनलाई नजिकवाट चिन्ने मानिसलाई यो पुस्तक एउटा ऐतिहासिक वन्न सक्छ भन्ने अनुभूति भएको थियो । चित्रा जे विषयमा पुस्तक लेख्न गइरहेकी थिइन्, त्यो विषयमा उनको २५ वर्ष लामो अनुभव थियो । नेपालमा सहकारी अभियान सुन्यवाट कसरी उत्कर्षमा पुग्यो भन्ने उनले नजिकवाट अनुभूत गरेकी थिइन ।
हालै वजारमा आएको पुस्तक ‘सहकारीमा २५ वर्ष भोगाई र अनुभूति‘मा उनले यिनै कुरालाई सम्झदै भनेकी छिन्, ‘मैले लेख्न लागेको विषयसँग म २५ वर्षभन्दा लामो समय जोडिएकी छु, यो घटनाक्रमलाई निकटबाट नियालेकी छु, जसलाई पुस्तकका रूपमा अभिलेखीकरण गर्नुपर्छ । म एउटा विकासक्रमको साक्षी हुँ । नेपालमा सहकारी अभियान शून्यबाट कसरी ७७ जिल्लाका गाउँ–गाउँमा पुग्यो? एउटा अभियानले कसरी सर्वसाधारणको जीवन बदल्यो? सहकारी आन्दोलनले देशको अर्थतन्त्रमा कसरी टेवा पुर्यायो? यी सवै कुराहरुलाई मैले नजिकवाट अनुभूति गरेकी छु । म यो एउटा अभियानको एउटा प्रमुख साझेदार पनि हुँ । सहकारी अभियानले मलाई बदल्यो, मैले आफैँ सक्रिय भएर धेरै मानिसको जीवन बदल्न सहयोग गरे । यो अभियानले देशलाई वदल्ने छ भन्ने मलाई विश्वास जागेको छ ।’
सहकारी महासंघमा एउटा लेखापाल जागिरवाट प्रवेश गरेर हाल महाप्रवन्धक पदमा कार्यरत चित्रालाई यो २५ वर्ष सहज थिएन । पूर्वी पहाड पांचथरमा जन्मि हुर्किएकी चित्राको वारेमा यो पुस्तकले जति वताउंछ, त्यो भन्दा वढी सहकारी अभियानले सर्वसाधारण जनताको जीवनमा कसरी परिवर्तन ल्यायो भन्ने वुझाउंछ । नेपालको अस्थिर राजनीतिका वीचमा पनि सहकारी अभियानलाई नेतृत्व दिएर हिंड्न सफल चित्रालाई यो पुस्तकले पक्कै पनि उचाइमा पुर्याउंछ भन्ने दुविधा छैन ।’
चित्राले पुस्तकको वारेमा आफैं चर्चा गर्दै भनेकी छिन्, ‘यो पुस्तक आफैंमा सर्वसाधारण मानिसको जीवन बदल्ने अभियानको दस्तावेज हो । देशको अर्थतन्त्रलाई सवलीकरण गर्ने मार्गको एउटा चित्र हो । भोलिको पुस्ताले पढ्नुपर्ने समाज रूपान्तरणको एउटा इतिहास हो भन्ने लागेको छ । समग्रमा भन्दा उज्यालोतर्फको यात्रा हो । अभियानमा जुट्दा आफैँले भोगेको अनुभूति पनि हो । कोरा इतिहास भन्दा पनि इतिहास र अनुभूति जोडियो भने मात्रै पुस्तक पठनीय बन्छ भन्ने मलाई लाग्यो । यो पुस्तक आफ्नो करियर बनाउन खोज्दै गरेका युवायुवतीहरूका लागि प्रेरणाको श्रोत हो । आफ्नै जिन्दगीलाई बदल्नु अरूका लागि त्यति महत्वपूर्ण नहोला, तर लाखौँ मानिसको जीवनशैली नै बदल्नु निकै महत्वूर्ण कुरा हो । म गौरव अनुभूति गर्छु, किनकि नेपालको सहकारी अभियानमा आफू जोडिन पाएँ । जुन अभियानले नेपालीको मात्रै होइन, धेरै विकासोन्मुख देशका नागरिकको जीवन बदलेको छ ।’
चित्राले सहकारी अभिायनको विषयमा नेपालको मात्रै होइन, छिमेकी मुलुक भारत, जापान र अन्य कैयौ मुलुकका सन्दर्भहरु समेत जोडेर अझ सान्दर्भिक वनाएकी छिन् । उनले चुलो चौकोमा सिमित महिलाहरु कसरी घरको अर्थतन्त्रको मेरुदण्डका रुपमा परिवर्तित भए, कसरी राजनीतिमा आए भन्ने इतिहासलाई पनि उजागर गरेकी छिन् । चित्राले आफैं भनेकी छिन् , ‘धेरै मानिसहरूले सहकारी अभियानलार्ई केवल आर्थिक पाटोसँगमात्र जोडेर हेर्ने गरेका छन् । म तपाइहरुलाई यो पुस्तकमार्फत केही नयां कुराहरु अलग ढंगवाट बताउने छु । सहकारी अभियानले कसरी चुलोचौकोमा सीमित महिलाहरूलाई परिवार, समाज हुँदै राजनीतिको मूलप्रवाहमा जोड्यो । चुरापोतेका लागि पतिको मुख ताक्ने महिलाहरूलाई कसरी घरको अर्थतन्त्रको मियोको रूपमा स्थापित गर्यो । कसरी सदस्यहरूको जीवन रूपान्तरण गर्यो? न्यून आय भएका किसानहरूलाई कसरी सघायो ? देशको अर्थतन्त्रमा कसरी टेवा पुर्यायो । म ती कथाहरू बोकेर आएकी छु ।’
प्रतिक्रिया