विराटनगर,२२ माघ।मोरङको धनपालथानको उखुबारीमा दुई र ललितपुरको गोदावारीमा एक जनाको हत्या गर्ने थप दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ।
यसरी पक्राउ पर्नेहरुमा जिल्ला मोरङ रंगेली नगरपालिका –३ आमतोला बस्ने ३३ बर्षिय मोहम्मद सुभाम र सुनसरी जिल्ला देवानगञ्ज गाउँपालिका –६ जिरोगौवा बस्ने १८ बर्षिय मोहम्मद हकिम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनु भयो।
प्रहरीले यसअघि नै उक्त हत्याकाण्डका सङ्लग्न तीन जनालाई पकाउ गरि शुक्रबार नै सार्वजनिक गरेको थियो।
निजहरुले सुनसरी धरान उपमहानगरपालिका–३ का ४८ बर्षिय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षिय शम्भुकुमार चौधरी तथा काठमाण्डौ –३ गोठाटार वस्ने ६३ बर्षिय मोहन लिम्वुको हत्या गरी गाडेको अवस्थामा शव प्रहरीले फेला पारेको थियो।आरोपीतले श्रेष्ठ र चौधरीको हत्या गरि मोरङको धनपालथान गाउँपालिका –७ को उखुबारीमा र लिम्वुलाई गोदावारी–१२ ठेचो चरङ्गखेलस्थित गोदाम घरमा गाडेको अवस्थामा प्रहरीले शव वरामद गरेको थियो।
चौधरी र श्रेष्ठको लाश गाडेको अवस्थामा धनपालथान गाउँपालिका–६ स्थित उखुबारीमा माघ १२ गते फेला परेको र लिम्वुको लाश माघ १२ ललितपुर गोदावारी–१२ ठेचोमा फेला परेको थियो।
हत्याका आरोपीतहरुले लिम्वुलाई मङ्सिर २८ गते,श्रेष्ठलाई पुस ५ र चौधरीलाई पुस ७ गते डोरी र मफलरको प्रयोग गरी हत्या गरेका थिए।
प्रतिक्रिया