“ऋतिक रोशनले नेपालको बदनाम गरेको समाचार पत्रिकामा आएछ।आन्दोलन होला जस्तो, तिमी कहाँ छौ कान्छु?” मम्मीले आतिदै फ़ोन गरिस्यो।,”मेरो फ्लाइट ८ बजे छ,म पोखरा एअरपोर्टमा भर्खर आएर चेकिंग गरे,बोर्डिंगको लागि कुर्दैछु,हजुर न आतिस्योस मम” मैले मम्मीलाई सान्त्वना दिदै भने।“मिल्छ भने आज त्यही बस,एअरपोर्टबाट घर कसरी आउछौ?” मम्मीले फेरि भनिस्यो।“मम्मी! मेरो एम्बेसीमा इन्टरभ्यु छ ३ बजे। भिजा क्यान्सिल हुन्छ गएन भने। फोन राखिस्यो,म जसरी पनि आउछु,बुवालाई पठाईस्योस लिन ।” अली कडा स्वरमा बोलेछु मम्मी केही नभनी फोन काटिस्यो।मेरो मम्मीलाई सानोसानो कुरामा पनि छिट्टै मन दुख्छ, त्यसमा पनि म मम्मीको कान्छी छोरी, मैले अलिकति ठुलो स्वरले बोले पनि मम्मीको मन दुख्छ तर जब देखि मैले पढ्न अमेरिका जाने निर्णय गरे, त्यो बेला देखि त मैले जे गरे पनि मम्मीको आंखा रसाउन शुरु हुन थालेको थियो।
मम्मीलाई सम्झिदै थिए,फ्लाइट डिले भएको सुचना मोनिटरमा आयो।मेरो मन बेचैन हुन थाल्यो। काउन्टरमा सोधे,काठमाडौको आकाश खुलेको छैन,खुल्ने बितिक्कै उडान शुरु हुन्छ भन्ने जवाफ आयो।मनमा कुरा खेल्न थाल्यो र डर पनि लाग्न थाल्यो,यदि उडान रद्द भयो भने के गर्ने भन्ने छटपटी पनि हुन थाल्यो। मम्मीले त एकदिन अगाडी आउनु भनिसेको थियो तर मलाई नै हजुरबुवासंग समय बिताउन मन लाग्यो,त्यसैले भिजा लाग्नु अघि हजुरबुवाको आशिर्वाद लिन म पोखरा आएको थिए।
९ बज्यो उडान हुने कुनै छाँटकाट देखिएन,फेरि काउन्टरमा गएर सोधे,होइन अली धैर्य हुनुस न,उताबाट पनि उडान भएको छैन,आकाश खुलेपछि जहाज उडिहाल्छ नि।” काउन्टरकी महिलाले झर्को माने झै जवाफ दिइन।डर,त्रास र बेचैनी बढ्दै थियो साथै घडीको सुई पनि आफ्नै रफ्तारमा घुमिरहेको थियो।
१० बजे उडान रद्द भएको सुचना मोनिटरमा आयो,मेरो सातोपुत्लो उड्यो।सरासर काउन्टरमा गएर हात बजारेर ठुलो ठुलो स्वरले भने,“ मलाई जुनसुकै हालतमा आज काठमाण्डौ पुग्नै पर्छ।मलाई जसरी पनि काठमाण्डौ पुर्याईदिनुस।” एयरलाइंस म्यानेजरले नम्र हुदै भन्यो,“आज काठमाण्डौ जान सम्भव छैन बहिनी।”मैले उसंग रुदै झगडा गर्न थाले,भीड जम्मा भयो,कतिले मलाई गाली गरे कतिले ट्याक्सी लिएर जाने सल्लाह दिए।म छेऊको मेचमा बसेर रुन थाले।कोही आएर मसंगै बस्दा भन्यो,” किन एअरपोर्ट नै थर्किने गरेर चिच्याएको? आज एकदिन काठमाण्डौ नजादैमा प्रलय जान्छ?” मैले आंसु पुछ्दै हेरे मैले टिकट लिएको एअरलाइन्सको पाइलट रहेछ।उसले फेरि थप्यो,” काठमाण्डौमा तोडफोड शुरु भएको छ,चक्काजाम छ,जतासुकै टायर बाल्न शुरु भएको छ।आज काठमाण्डौ कुनै हालत जान सकिदैन।” “मेरो भिजाको अप्वाइन्टमेन्ट छ अमेरिकन एम्वेसीमा,प्लिज मलाई काठमाण्डौ एअरपोर्ट पुर्याई दिनुस।” मैले हात जोड्दै भने। “ए! अमेरिका पो जान लागेको, पढ़ाई सकाएर उतै बस्ने होला होइन? सरी म तपाईलाई हेल्प गर्न सक्दिन।” एक सासमा कुरा सकाएर ऊ जुरुक्क उठेर हिड्यो। म उसको पछि दगुर्दै पछाडीबाट उसको ज्याकेट तान्दै भने,”प्लिज मलाई हेल्प गर्नुस न, म पनि तपाई जस्तै पाइलट बनेर यही फर्केर जहाज उडाउछु ।” अनि उसले मेरो परिचयपत्र र टिकट माग्यो र मलाई कुर्न भनेर धावनमार्गतिर दौडियो । पाँच मिनेट पछि हस्याग फस्यांग गर्दै आएर भन्यो, “बि रेडी क्वीक! प्राइभेट चार्टरको हेलिकप्टर उड्दै छ काठमाण्डौ,मैले सिट मिलाई दिएको छु।तर काठमाण्डौको स्थिति डरलाग्दो छ,एअरपोर्टबाट एम्बेसी कसरी जानुहुन्छ?”
मैले जवाफ दिए,” काठमाण्डौसम्म पुगेपछि त एम्बेसी हिडेर पनि पुग्छु! थ्याक यु सो मच!” म धावनमार्ग तिर हिडे।मम्मिलाई म आउदै छु लिन आइस्योस भनेर फोन गर्दै धावनमार्गमा पुग्दै थिए पछाडीबाट कसैले “अंशु! वेट!” भनेको जस्तो लाग्यो फर्किएर हेरे, त्यही पाइलट दगुर्दै मतिर आयो र सानो कागजको चिट दिदै भन्यो,“मेरो नम्बर र नाम लेखिदिएको छु।काठमाण्डौ एअरपोर्टमा केही भयो भने र भिजा लागे पछि लेट मी नो है!” म टाउको हल्लाए हेलिकप्टरतिर हिडें। हेलिकप्टरको ढोकाबाट फर्केर हेर्दा ऊ मैतिर हेरेर बसेको रहेछ, मैले हात हल्लाएर बिदा मागे।
म काठमाण्डौ पुग्दा काठमाण्डौ टायरको धुवाँमा रंगमंगिसकेको थियो।सवारी साधन सबै बन्द भइसकेको थियो।बुवा मलाई लिन आइसेको रहेछ। हामी डराइ डराइ अगाडी बढ्यौ।कोपुण्डोलको चोकमा काट्दै थियौ,एउटा घरबाट गमलाले हानियो र गमला हाम्रो गाडीको छतमा बज्रियो,बुवा आतिनु भयो र गाडीको गति झन् बढाउनु भयो, फेरी अर्को घरको झ्यालबाट प्रहार भयो र बुवाले पुल्चोक नजिक गाडी साइड लगाउदै होइसिन्थ्यो एक हुल मानिसहरु आएर हाम्रो गाडीमा पेट्रोल छर्किन थाले र बुवाले रोक्दा रोक्दै सलाई कोरेर आगो लगाइदिए दिए। बुवा टाउकोमा हात राखेर सडकको पेटीमा बसेर रुन थालिस्यो र म पनि बुवाको छेउमा बसेर रुन थाले।आधा घण्टामै बुवा नया गाडी खरानीमा परिणत भयो। भारी मन लिएर हामी त्यहाँबाट हिड्दै घर पुग्यौ। अप्वाइन्टमेन्ट क्यान्सील भयो भनेर घरमा फोन आइसकेको रहेछ। गाडी जलेको कुरा सुनेर मम्मी पनि डाको छोडेर रोइस्यो। मैले आफुलाई दोषी सम्झीरहे, मेरै कारण एअरपोर्ट देखि घर आइपुग्दा सम्म घटेको घटनाले मलाई साह्रै दुखी तुल्यायो, रातभर अनिदो बिताए। भोलि पल्ट बिहान पत्रपत्रिकाहरुमा समाचार बिकाउन गरिएको पित पत्रकारीतामा भारतीय व्यापारीको गाडी पुल्चोकमा जलाइयो भनेर बुवाको जलेको गाडीको फोटो छापीदा झन् विरक्त लाग्यो।
म आफ्नो कोठामा बसिरहेको थिए मम्मीले यति एअर्लाइन्सको अफिसबाट फोन आएको छ भनेर बोलाइस्यो, मलाई कसैसंग पनी कुरा गर्न मन थिएन तर यति एअर्लाइन्सबाट किन फोन आयो भनेर म छक्क पर्दै फोन सम्म पुगे। मैले, ”हेल्लो ” भने,उताबाट आवाज आयो,”अंशु! म सन्जु,हिजो पोखरा एअरपोर्टमा भेटको। तिम्रो नम्बर अफिसबाट पाए, के भयो तिम्रो भिजा?” मैले उसलाई हिजो को घटना सविस्तार सबै बताई दिए। उसले भन्यो, ‘स्याड स्टोरी! डोन्ट वरी, म फ्लाइट सकिए पछि काठमाडौँ आउछु र अरु राम्रा फ्लालिंग स्कुलहरुको ठेगाना दिन्छु यदि तिमि साच्चै पाइलट बन्ने हो भने’ मैले ओके भनेर फोन राखे।
मैले घरमा फेरी भिजाको कुरा गरे तर मम्मी र बुवाले यो कुरा सुन्नै चाहिसेन। मम्मी त मेरो बिहाको हतार गर्न थालिस्यो। पाइलट सन्जुलाई अब मेरो पाइलट बन्ने र जहाज उडाउने कुनै इच्छा बाकी नभएको र अब परिवार ले जे भन्छ त्यहि गर्न तयार रहेको कुरा बताइदिए। उसको मनमा के कुरा खेलेछ एउटा टाढाको आफन्त मार्फत उसले विवाहको प्रस्ताव आयो घरमा। कुलघरानको केटाको विवाह प्रस्ताव आएकोले मम्मी बुवामा पनि खुशी र उत्साह छाह्यो। मम्मी बुवाको निर्णयमा मैले बोल्ने कुनै सवाल उठ्दैनथ्यो। परिवार भेट्ने कुरा भयो। उसको परिवारलाई र मेरो परिवारलाई धेरै कुरा चित्त बुझ्यो र विवाहको कार्यक्रम तोक्ने निर्णय सम्म भयो तर केहि दिन पछि लमी मार्फत दाइजोको कुरा अगाडी सारियो। उसको बुवा चाहनुहुन्थ्यो छोरा पाइलट भएकोले घर जग्गा र गाडी अनि सुन चाँदी दाइजोको रुपमा दिनु पर्र्ने। छोरीको बिहेमा यति ठुलो दाइजो दिन सक्ने हैसियत मेरो मम्मी बुवाको थिएन। मैले सन्जुलाई यो कुरा बताई दिए। घरको एक्लो छोरा ऊ पनि आफ्नो बुवा मम्मीको इच्छा विरुद्ध केहि बोल्न सक्दैनथ्यो।झन्डै एक वर्ष त हामीले प्रयास नगरेको होइन तर यता मेरो बुवा मम्मी मेरो लागि अर्को केटा खोज्न थाल्नु भयो उता उसको बुवा मम्मी उसको लागि अर्को केटि खोज्न।हामी दुबै एक अर्कालाई माया गर्थ्यौ,एक अर्कालाई जीवन साथीको रुपमा हेरेका थियौ तर परिवारको अगाडी चुपचाप बस्न बाध्य भयौ।अन्तत् उसको भन्दा पहिले मेरो बिहे तय भयो।परिवारको अगाडी मैले मेरो खुशीलाई समर्पण गरिदिए।
मेरो विवाहको अघिल्लो दिन मुस्तांगबाट पोखरा फर्किदै गरेको जहाज दुर्घटनामा पर्यो जसको उडान पाइलट सन्जुले गरेको थियो तर यो खबर मैले विवाहको केहि दिन पछि मात्र थाहा पाए। उसको मृत्युको खबर पाउदा म मन खोलेर रुन समेत नसक्ने अवस्थामा थिए।उसको दुर्घटना भएको आज वर्षौ बितिसकेको छ। मेरो आफ्नै परिवार छ तर पनि आकाश मा तारा लाग्दा होस् या जहाज उडदा पाइलट सन्जुले चिहाएको महशुस हुन्छ।यो संसारमा सबै भएर पनि आफ्नो मनको मान्छे नहुदा भिडमा पनि एक्लो अनुभव हुँदो रहेछ। शायद छोराछोरीको बिहेलाइ बाबु आमाले अधिकार वा बोझ सम्झिने, बिहेलाई दाइजोको कारोवार गर्ने व्यवसाय सम्झिदिने चलन हुदो हो त् हाम्रो समाजमा,म आफ्नैहरुको माझमा बिरानो हुने थिइन् होला।ऋतिक रोशन काण्ड घटेको २२ वर्ष बितिसकेको छ, सन्जुको दुर्घटना भएको १८ वर्ष बितिसकेको छ तर यो घटना मेरो मानसपटलमा गहिरो चोट बनेर बसेको छ।
बाबा राजेश्वरी थापा
भिएना,अष्ट्रिया
पत्रकार ,सामाजिक अभियन्ता ,कार्यक्रम प्रस्तोता तथा लेखिका हुन् । काठमाडौँ घर भएकी थापा हाल अष्ट्रियाको भिएना बसोबास गर्छिन ।
प्रतिक्रिया