रौतहटको मौलापुर नगरपालिकाले निर्माण गरेको मर्यादपुर एकीकृत दलित बस्तीको एक समारोहबीच नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका छन्।मौलापुर नगरपालिकाद्वारा निर्मित नगर गौरव आयोजनाको रुपमा रहेको मर्यादपुर एकीकृत दलित बस्तीको शनिवार उद्घाटन गर्दै नेता ज्ञवालीले दलित बस्ती निर्माण एउटा नमुनाको काम भएको बताएका छन्।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले स्थायी समिति सदस्य तथा विकासवादी नेता प्रभु साहले मर्यादपुर दलित बस्ती देशकै लागि एउटा नमुना कार्यक्रम भएको बताएका छन्।जनताबाट कुनै पनि कर नलिने मौलापुर नगरपालिकाले इच्छुक सबै घरपरिवारलाई ग्याँस चुलो र सिलिन्डरसहितको पूजा सेट नै उपलब्ध गराइसकेको छ भने तीन ओटा दलित बस्ती निर्माण गरेर देशका अन्य पालिकाको लागि पनि अनुकरणीय काम गरेको बताएका छन्।दलितहरुको लागि जमिन किनेर सुविधा सम्पन्न पक्की र सुरक्षित घर निर्माण कार्य गरेर हस्तान्तरण गरिएको सम्भवतः पहिलो कार्य भएको स्थायी समिति सदस्य साहको भनाइ छ।
मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले तिलासक्रातको अवसरमा मर्यादपुरका दलितहरुका लागि दलित बस्ती उपहार दिएको बताएकी छन्। नगरपालिकाको स्रोतबाट दलितहरुका लागि २५ ओटा सुविधा सम्पन्न पक्की घर निर्माण गरी हस्तान्तरण गर्नुलाई मौलापुर नगरपालिकाले गौरवको रुपमा लिएको मेयर साहको भनाइ छ।
मूल सडकसित जोडिएको ठाउँमा दलित बस्तीका लागि नगरपालिकाले जमिन किनेर पक्की घर बनाएर शनिवार हस्तान्तरण गरेको हो।बस्तीको प्रत्येक घरमा शुद्ध खानेपानीको धारा,छतमा खानेपानीको टंकी,छतमा चढ्ने फराकिलो सिढी तथा शौचालय रहेको छ।हरेक घरसम्म पुग्ने फराकिलो पक्की सडक पनि निर्माण गरिएको छ।हरेक घरबाट पानी निकासको पनि व्यवस्था गरिएको छ।यसै गरी घरमा वायरिङ गरी बत्ती पनि बालिएको छ।बालबालिकाको लागि खेल्ने जमिन तथा थोरै बारी पनि प्रत्येक घरको लागि रहेको दलित बस्तीमा हरेक घरमा प्राकृतिक उज्यालो घाम र हावा जाने किसिमले घरको निर्माणमा ध्यान दिएको उपमेयर गौरीशंकर जयसवालले बताएका छन्।
एक घरदेखि अर्को घरको बिचमा पर्याप्त ठाउँ खाली रहेको र वातावरणको दृष्टिकोणले पनि उपयुक्त किसिमले घरको निर्माण गरिएको दलित बस्तीले दलितहरुको आत्मसम्मान बढाएको एमालेका स्थायी समिति सदस्य प्रभु साहको भनाइ छ।
आफूहरुले कल्पना गरेको भन्दा धेरै राम्रो र सुविधा सम्पन्न घरको निर्माण गरिएको ४६ वर्षीय राम गोविन्द महराले बताएका छन्।जीवनमा आजको दिनभन्दा खुसीको क्षण कहिल्यै नआएको बताउँदै रामले अहिलेसम्म आफूहरुले यति राम्रो दलितबस्ती कतै नदेखेको पनि स्पष्ट पारेका छन्।
यसै गरी स्थानीय बिल्टी देवी रामले पक्की घरमा धनिक महाजनको जस्तो सुविधा भएको बताएकी छन्।दलित बस्तीका दलितहरुले समाजमा आफ्नो इज्जत नै बढेको सगर्व बताउन थालेका छन्।
मौलापुर नगरपालिकाले गत वर्ष मौलापुर दलित बस्तीको निर्माण र हस्तान्तर गरेको थियो भने मौलापुरकै सात डोम परिवारका लागि उनीहरुले खोजेकै ठाउँमा घर निर्माण गरिदिएको छ।
-सञ्जय साह मित्र,रौतहट
प्रतिक्रिया