चुरेमा नदिजन्य पदार्थको अवैधरुपमा दोहन र उत्खनन हुँदै

वीरेन्द्र रावल २०७८ पुष १८ गते ११:५१ मा प्रकाशित

धनगढी,पुस १८÷कैलाली जिल्लाको चुरे,मोहन्याल गाउँपालिका र डोटी जिल्लाको बडिकेदार,जोरायल गाउँपालिका भएर बग्ने ठूलीगाड खोलाबाट नदिजन्य पदार्थको अवैधरुपमा दोहन र उत्खनन् भइरहेको छ।नदी तथा खोलानालाबाट अनुमतिबीना नदिजन्य पदार्थ दोहन र उत्खनन् गर्न मिल्दैन तर कैलाली र डोटी जिल्ला भएर बग्ने स्थानीय खोला ठूलीगाडबाट अवैधरुपमा नदिजन्य पदार्थहरु धमाधम उठाउने कार्य भइरहेको छ।

खोलानालाबाट नदिजन्य पदार्थ उत्खनन गर्दा सम्बन्धित स्थानीय तहले वातावरणीय प्रभाव मुल्यांकन गर्नुपर्ने हुन्छ तर,वातावरणीय प्रभाव मुल्यांकननै नगरिकन कैलाली र डोटीको चुरे क्षेत्रबाट अवैधानीकरुपमा नदिजन्य पदार्थको दोहन र उत्खनन् कार्य भइरहेको छ।जसले गर्दा जल प्राणीहरुको वासस्थानमा ठूलो असर पुगेको जानकारहरु बताउँछन।

वतावरणीय प्रभाव मुल्यांकन गरेर खोलानालाबाट नदिजन्य पदार्थको उत्खनन गर्नु पर्यो भने सो क्षेत्रको ५०० मिटरदेखि एक किलोमिटरको दुरीबाट नदिज्य पदार्थ उठाउनु पर्ने प्रावधान छ र एक मिटर भन्दा बढी गहिरो खाडल पारेर उत्खनन गर्न मिल्दैन तर त्यसो भएको पाइदैन।

त्यसमा पनि वातावरणीय प्रभाव मुल्यांकन नगरिकननै जलप्राणीहरुलाई संकटमा पारेर स्थानीय खोलानालाहरुबाट अवैधरुपमा ढुंगा,गिट्टी,बालुबाजस्ता नदिजन्य पदार्थ दोहन र उत्खनन बढ्दै गएको छ।नदिबाट उत्खनन भइरहेको बालुवाले उभयचर प्राणीहरुलाई समस्या भएको छ भने ढुंगा संकलन हुँदा माछाको वासस्थानमा समस्या देखिएको छ।जसले गर्दा पछिल्लो समय स्थानीय खोलानाला र नदिहरुमा पाइने उभयचर प्राणी र माछाहरु लोप हुँदै गइरहेको जलाधार संरक्षणको एक तथ्यांकले देखाएको छ।

खोलाबाट नदीजन्य पदार्थ (ढुङ्गा,बालुवा,गिट्टी) उत्खननका लागि कैलाली र डोटीका कुनैपनि स्थानीय तहहरुले सम्झौता गरेको छैन।तर खोलाबाट ढुंगा–बालुवा उत्खनन कार्य भने धमाधम भइरहेको स्थानीयले बताएका छन।स्थानीयका अनुसार व्यवसायिले रातिको समयमा खोलामा ट्याक्टर तथा टीपर लगाएर नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन।वातावरणीय प्रभाव मुल्यांकनमा नदिजन्य पदार्थको उत्खनन गर्दा बिहानको समयमा घाम नलागुञ्जेल र साँझको समयमा घाम अस्तायपछि खोलानालाबाट नदिजन्य पदार्थ उठाउन पाइदैन,भनिएको छ।तर कैलालीका अधिकाँश खोलानालाहरुबाट रातिको समयमा नदिजन्य पदार्थको धमाधम उत्खनन गरिदै छ।

स्थानीयकाअनुसार पटक–पटक स्थानीय तह र प्रहरीलाई नदीजन्य पदार्थ तस्करी भइरहेका बारे जानकारी गराउँदा पनि नियन्त्रणको विषयमा कुनै पहल भएको छैन ।र स्थानीय तहको खोलामा ठेक्का नलाग्दै तस्करले ढुंगा–बालुवा,गिट्टी उत्खनन गरिसके।

त्यस्तै कैलाली जिल्लाको तल्लो तटिय क्षेत्रको गोदावरी, खुटिया खोलामा गिट्टी कुटेर घर खर्च चलाउँदै आएका सुकुम्बासीहरुलाई नदिजन्य पदार्थ राति तस्करी हुँदा घरखर्च कसरी चलाउने भनेर चिन्ता हुन थालेको छ।तल्लो क्षेत्रमा ढुंगा बालुवा नपाइएपछि तस्करहरू चुरेसम्मै पुगेर नदीजन्य पदार्थ संकलन गर्दै लैजान थालेका छन्।जसले गर्दा गिट्टी कुटेर जीवन निर्वाह गर्नेको पेसासमेत संकटमा परेको छ।स्थानीय खोलानालाबाट नदिजन्य पदार्थको दोहन र उत्खनन अवैधरुपमा हुने हो भने अबको १० वर्षपछि स्थानीयहरुले घर बनाउनका लागि ढुंगा,गिट्टी र बालुवा पाउन कठिन पर्ने देखिन्छ।त्यसैले नदिजन्य पदार्थको संरक्षण र नियन्त्रण गर्नका लागि सम्बन्धित सरोकारवाला निकायले समयमै ध्यान जान जरुरी छ।

-वीरेन्द्र रावल

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया