आकाशको एकांकी
चन्द्रमाको भाव भङ्गी
ताराहरु नाच्छन मोहिनी नृत्य
बादल-वर्षा अभिराम कृत्य
फूलहरु अकारण फुलिरहंछन
झरनाहरु अविछिन्न झरिरहंछन
त्यो दिन,
जुन दिन म रहन्न,
घाम सदा झैँ,यन्त्रवत उदाउनेछ
अनि पुनश्च,निशामा निदाउनेछ!
श्वास-प्रश्वास शायद रोकिनेछ मेरो,
हृदय-गति थामिनेछ
बोल्न थोरै खोज्दा पनि
आवाज धेरै दबिनेछ
आँखामा पुरिने त्यो माकुराको जालो
च्यातिदै बिस्तारै त्यो जीवनरुपी टालो
अंग सबै शिथिल,कर्ण केहि सुन्दैन
धमनीमा सल्बलाउने रगत पनि बग्दैन
भावनाहरुको अन्तिम बिश्राम
कामनाहरुको सुखद अवशान
जब अस्तिस्वले नै माग्नेछ
अविरल यात्राको क्रमभंग
गुनासो तब के गर्नु प्रकाश
पुरानो माटोको दियो संग ?
जुन दिन म रहन्न,
संसार त्यसरी नै चल्नेछ
जसरी आज चलिरहेछ
भावनाका क्रन्दन भन्दा
ब्यबहारका बन्धन नै हावी हुन्छन
हृदयका झंकार भन्दा
यथार्थका आवाज नै कविता बन्छन
म पनि त कतिको मलामी गएको छु
भावाभेषले धेरैलाई सलामी दिएको छु
हरेक आर्यघाटमा मैले
मरेका भन्दा जिउँदा मुर्दा धेरै भेटेको छु
अविनाशी आत्माको रटान ति लगाउछन
अमुक स्वर्ग पुगेसरी झैँ ति भट्याउछन
तिनको जीवनमा,
न कुनै जिज्ञासा,न कुनै अभिलाषा
न कुनै कला,न कुनै मधुशाला
बाच्नुको के अर्थ र कठै
केहि आत्मबोधै नभई ?
उठे,हिंडे,बसे,सुते अनि
बेहोशीमै मर्छन ती सबै !
जे होस्, जसो होस्,
जुन दिन म रहन्न
चिहाएर हेर्नु मेरो मृत अनुहार
रहनेछ उस्तै- निश्चिन्त र निराकार
न मलाई स्वर्गको अभिप्सा
न मलाई नर्कको आशंका
कल्पनाको कल्पवृक्ष भन्दा
यथार्थको पतझड रुख मलाई प्यारो
यान्त्रिक ती बैदिक प्रार्थना भन्दा
शुन्यतामा बग्छ मेरो चैतन्य धारो
जुन दिन म रहन्न,
प्रामाणिक देहधनुबाट त म पक्कै छुट्नेछु
खरानी भै फेरी उर्जामै एकाकार हुनेछु
सित्तैमा पाइएको यो अनमोल जीवन
गुमाउंदा के गर्नु र बिस्मात ?
क्षणभंगुर छ यहाँ हर अस्तित्व
को सधैँ रहन्छ र कसको साथ ?
को सधैँ रहन्छ र कसको साथ ?
-दिपेश पराजुली
प्रतिक्रिया