राप्रपा नयाँ नेतृत्व र यसले उठाएका प्रश्नहरु ?

दीपक पन्त  २०७८ मंसिर २० गते ११:३६ मा प्रकाशित

यसै साता भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिवेशनबाट  राप्रपाका यूवा नेता राजेन्द्र लिङ्देनले राप्रपाका निवर्तमान अध्यक्ष  कमल थापालाई  हराएपछि  नेपाली राजनीति छुट्टै किसिमबाट तरंगित भएको छ । प्रजातन्त्रको पुनस्थापना २०४६ साल अगाबै राष्ट्रिय राजनीतिमा  होमि सकेका थापा ,जीवनको उत्तरार्धमा आफूले हुर्काउदै  गरेको युवा नेतृत्वबाट पराजित हुनु एक संयोग मात्रहो कि ? यसले समाजको चेतना स्तर र यूवा सहभागिता माथि प्रश्न उठाएको छ ।

समकालीन राजनीति मोर्चामा हेर्ने हो भने भर्खरै सम्पन्न भएको एमालेको  १० औ महाधिवेशनबाट ७० वर्ष उमेर हाराहारीका केपी शर्मा ओली चुनिइरहँदा, कांग्रेसमा ७५ वर्ष कटिसकेका शेरबहादुरदेउवा यसै महिनामा हुने १४ औ महाधिवेशनमा नेतृत्व लिनका लागि फेरि तम्सिइरहँदा, अनि झण्डै ३५ वर्षदेखि पार्टी सत्तामा बसेर नेतृत्व लिइरहेका पुष्पकमल दाहाल “प्रचण्ड” माओवादी केन्द्रको फेरि अध्यक्ष बन्ने तयारी गरिरहँदा थापामाथि लिङ्देनको विजय नेतृत्व परिवर्तनको आकांक्षा राख्ने युवा पुस्ताका लागि सुखद सन्देश हो ।

लिङ्ग्देनको विजयलाई मुख्य रुपमा दुइ बिषयमा हेर्न सकिन्छ :

१) रा .प्र .पाले मुख्य रुपमा उठाएको मुद्दा (राजतन्त्रको पुनस्थापना र हिन्दु रास्ट्र )मा थापाको कार्यकालमा  उनले खेलेको भूमिकामा कार्यकर्ता हरु सन्तुष्ट हुन  सकेनन् ।

२) रा .प्र .पा भित्रका स्थापनाकालीन हस्तीहरु नेतृत्वमा बसिरहन खोज्ने सूर्य बहादुर थापा बिति गए। लोकेन्द्र बहादुर चन्द यसअघि नै नेतृत्वको दौडबाट बाहिरिइसकेका थिए । निवर्तमान अध्यक्षहरू पशुपति शमशेर जबरा र प्रकाश चन्द्र लोहनीले पनि यस पटकबाट नेतृत्वबाट अवकाश लिने घोषणा गरेपछि पुरानो पुस्ताका थापा मात्र थिए । दोस्रो पुस्तामा नेत्तृत्व ल्याउन थापाको हार अनिबार्य थियो र सोही अनुरुप युवा नेतृत्वले आन्तरिक गृह कार्य गरेको थियो ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा राजावादी नेताको छवि बनाएका लिङ्देनले गणतन्त्रवादी कांग्रेसी नेता कृष्ण  प्रसाद सिटौलालाई कांग्रेसकै ‘गढ’ मानिने झापा– ३ मा ठूलो मतान्तरलेपराजित गरे ।

सिटौला र लिङ्देनबीच पहिलो चुनावी भिडन्त २०५६ को आमनिर्वाचनमा भएको थियो । दुईपटक पराजय बेहोरेका लिङ्देन सिटौलाको ह्याट्रिक यात्रामा पूर्ण विराम लगाउँदै राप्रपाका एक्ला प्रतिनिधिसभा सदस्य बनेका थिए । पार्टीका तत्कालीन अध्यक्ष कमल थापा समेतलाई कम्युनिस्ट गठबन्धनको भेलले बगाउँदा लिङ्देन चाहिँ एमालेको समर्थनमा सांसद बनेका थिए ।

समलालिन राजनीतिमा नेपाली  कांग्रेस र नेकपा एमाले भित्र उदयमान युवा नेताहरु गगन थापा , बिश्वप्रकाश शर्मा , शंकर भण्डारी, योगेश भट्टराई , गोकर्ण बिस्ट , घनश्याम भुसालहरुले नेतृत्वका लागि खुट्टा कमाइ रहेको बेला राप्रपामा युवा नेतृत्वले संगठन हाक्ने पाएको अवसरलाई कसरी मुल्याङ्कन  हुनेछ त्यो भाबी समयले बताउला ।

थापाको पराजय किन र कसरी ?   

सत्तामा पुग्न थापाले फेरिरहने समीकरणलाई टिप्पणीकारहरू ‘मुसा प्रवृत्ति’ भनेर घोचपेच गरि रहन्छन्।

हुन पनि उनी विचार मिल्ने र नमिल्ने दुबै राजनीतिक शक्तिसँग सत्ताका लागि उदारपूर्वक समीकरण गर्छन्। मन्त्री हुनको लागि गरिने त्यस्ता समीकरणले राप्रपाले बोक्ने राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा कमजोर बन्दै गयो। एमाले, माओवादी केन्द्र र राप्रपा मिलेर २०७२ मा संविधान जारी भएपछि सरकार बनाए। त्यो गठबन्धनले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा अघिबढायो। राजतन्त्रका हिमायती थापा गणतन्त्रको ‘सिम्बोल’का रूपमा रहने राष्ट्रपति पदमाभण्डारीलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थक बने। यस्ता कतिपय घटनाले कमल थापालाई राजतन्त्र वा हिन्दु राज्य हैन, सत्ता चाहिएको हो भन्ने मत बलियो बन्दै गयो।

थापा हार्नुमा दोस्रो कारण राप्रपाका पूर्व अध्यक्ष द्वय पशुपति शमशेर राणा र डाक्टर प्रकाश चन्द्र लोहनी हुन्। पार्टी एकता जोगियोस् भनेर यसपालि उनीहरू दुबैले नेतृत्वमा दाबी छोडेका थिए।लोहनीले खुला रूपमै लिङदेनलाई  सघाए । राणा थापाको पक्षमा चुनावको अन्तिम समय सम्म नखुल्दा र लोहनीले उनको पक्षमा बोल्दा यी दुबै हस्तीका समर्थकले थापालाई नेतृत्वबाट हुत्याउन लिङदेनलाई सहयोग गरे।

अन्त्यमा , 

अप्रत्यासित जित हात पारी संगठनको नेतृत्व समाल्न पुगेका लिङ्ग्देलका लागि घोषित नाराहरु कार्यान्वयन भने त्यति सहज छैन । तत्कालिन माओबादि  द्वन्द रुपान्तरणका सहमतिका प्रारुप स्वरुप ल्याइएका गणतन्त्र र धर्मनिरपेक्षता संबिधान सभा २०६२/६३ ले अनुमोदन गरेको थियो ।

राप्रपाको बिगतको नेतृत्व हेर्दा मुख्य रुपमा राजतन्त्र र हिन्दु राज्य स्थापनाका लागि राप्रपाले उठाएको नारा केवल सत्ता प्राप्तिको भर्याङ्ग का लागि मात्र सिमित रहेको अबस्थामा के यी बिषयहरुको निर्क्योल सामान्य जनस्तर कै मताधिकार बाटै गराउन लिंग्देल नेतृत्व साकार होला त? समय प्रतिक्षाको रहेको छ ।

वा ,मरिसकेको राजतन्त्र ब्यूँत्याउने मिसन भन्दा राष्ट्रवादी एजेण्डा बोकेर एउटा स्थापित ,बिकासप्रेमी ,देश भक्ति दलको रुपमै राप्रपालाई लैजाने जिम्मा लिङ्देन  र उनको टिमलाई हुनेछ ।

दीपक पन्त

मिल्वाकी ,अमेरिका

प्रतिक्रिया