सङ्क्रमणकालको अन्त्य हुँदैछ: अध्यक्ष ओली

इनेप्लिज २०७२ साउन ४ गते ११:०३ मा प्रकाशित

kp-oli-final-final9दमक, ४ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विद्यमान सङ्क्रमणकाल अन्त्य हुनै लागेको बताउनुभएको छ ।

झापाको दमकमा आज दिउँसो पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमति ऐतिहासिक दस्तावेज भएको र त्यही सहमतिका आधारमा नयाँ संविधानको मस्यौदा जनताबीच छलफलका लागि आएको प्रस्ट्याउनुभयो ।

अध्यक्ष ओलीले सर्वसाधारणले उपलब्ध गराएका महत्वपूर्ण सुझावलाई संविधानमा प्रतिबिम्बित गरिने बताउनुभयो ।

उहाँले नयाँ संविधान जारी हुनुअगावै आफूहरुले सीमाङ्कनको मुद्दा टुङ्ग्याउन चाहेको भए पनि तत्काल दलीय सहमति सम्भव नदेखिएका कारण थाती राख्नुपरेको पनि जिकिर गर्नुभयो ।

नयाँ संविधान समान अधिकार, समान अवसर, समान सुरक्षा र समान मानवीयता झल्कने तथा नागरिक सम्मानको अनुभूति हुने गरी बनाइने उहाँले आश्वासन दिनुभयो ।

आफ्नो गृह क्षेत्र दमकमा आयोजना गरिएको सुझाव सङ्कलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ संविधान जारी भएर संविधानसभा विघटन भई बन्ने संसद्ले सीमा निर्धारण आयोगको सुझावअनुसार सीमाङ्कनलाई अनुमोदन गर्ने बताउनुभयो ।

सुझाव सङ्कलनमा अवरोध पु¥याउने पक्राउ

संविधानको मस्यौदामाथिको सुझाव सङ्कलन कार्यमा अपरोध पु¥याउने दुईजना प्रदर्शनकारीलाई दमकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज रेडक्रस सभाहलमा झापा–७ का सभासद् तथा एमाले अध्यक्ष ओली बोलिरहँदा लिम्बुवानका कार्यकर्ताले हल बाहिर चर्काे नाराबाजी र माइक तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन ती दुई प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सङ्घीय लिम्बुवान पार्टी नेपालका सन्तोष तुम्बापो र ध्रुव लावती रहेका छन् ।
मस्यौदा संविधानमाथि सुझाव लिने कार्यक्रममा एमाले अध्यक्ष ओली र काँग्रेस सभासद् महेन्द्राकुमारी लिम्बू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया