आज गाई, गोरु, गोवर्धन र हलि पूजा गरिँदै,नेपाल सम्वत ११४२ पनि सुरु

इनेप्लिज २०७८ कार्तिक १९ गते १०:५२ मा प्रकाशित

नेवारी समूदायमा आजको दिन म्हपूजा भनेर धुमधामकासाथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ, म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यसअर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयूक्त याचना हो।आजको दिन आत्मतत्तवलाई वोध गराउने अनि सजिवताको आभाष गराउने दिन पनि हो।नेवारी भाषामा म्हं शब्दको प्रयोग र ईतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययकारुपमा ब्यापक रुपमा वोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ।जस्तै छित म्ह फुला ? अर्थात तपाईलाई सञ्चै छ ?

म्ह फु अर्थात सञ्चै छ
म्ह मफु अर्थात् सञ्चो छैन

म्ह अर्थात देहवाचक अनि चेतनाप्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरुमा म्ह को प्रयोग हुँदैन।यसै चेतना अनि स्व-तत्वलाई उजागर गर्दै नेवार समुदायमा आज म्हपूजा मनाउने चलन रहेको छ।नेवारी समूदायमा आफ्नै शरीर भित्रको चेतनाप्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ।शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप आजको दिन अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईन्छ।

अन्य वर्षहरुमा आजकै दिन नेवार समुदायले नेपाल संवतको नयाँ वर्ष अर्थात् पहिलो दिन अर्थात न्हुदँया भिन्तुना (नयाँ वर्षको शुभकामना आदान प्रदान) गर्ने चलन हुन्थ्यो तर यस वर्ष भनें भोली अर्थात भाइटीकाका दिन गोवरधन पूजा र भिन्तुना पर्न गएको छ।

गाईगोरु पूजा, हलि तिहार
आज तिथि अनुसार गोवरधन पूजा परेन यद्धपि आजको दिन गाईगोरु, हलिफाली अनि अन्य कृषिजन्य औजारहरु पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरुमा हिँउदको शुरुवातसंगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरु बाहिर निकालेर आजका दिन पूजा गर्ने चलन छ । यसकारण पनि आजका दिनलाई हलितिहार भनिएको हो।

कृषिकर्ममा सहयात्रा गर्ने जीवहरु गाई, गोरु लगायतको पनि आज पूजा गरिन्छ, उहिले उहिले त आजको दिन गाईको गोडा मुनीबाट छिर्ने चलन पनि थियो भन्ने लोकउक्तिमा पाइन्छ । गोवरधन पूजा भोली परेका हुनाले गाइगोरु पूजा भोली पनि गरिन्छ।

आजको दिनको अर्को ब्यापक रौन्क हो , देउसी।हिजो भैलेहरुको भाका अनि आज देउँसेहरुको भाका।हुन त कोरोना त्रास र स्वास्थ संकटका कारण यसवर्ष यि रमाइला कुराहरु थाती नै रहने भए तर अर्कोवर्षको रौनक अनि वितेका वर्षको यादमा हामी संझना बिर्सना गरिहन्छौं।

अनि तपाईको के छ त योजना ? जाने हैन त देउसी खेल्न ?

वलिराजाले पठाएका भनेर मानिने टोलछिमेकका पुरुषहरुको यो सांगीतिक दस्ता जस्लाई देउसे भनिन्छ अनि यिनीहरुले गाउने अनि प्रस्तुत गर्ने सांगीतिक कोसेली,जस्लाई देउसी भनिन्छ ।

देउसीमा एकजना भट्याउने ब्यक्ति हुन्छन्, सामान्यतया भाका, स्वर अनि छन्दमा यि भट्याउने ब्यक्ति जानकार हुन जरुरी छ । केही देउसीका सर्वप्रिय भाकाहरु वाहेक धेरैअन्य पक्तिंहरु परिस्थितीपरक हुन सक्छन्, कहिलेकाँही देउसेको अपेक्षाअनुरुप देउसीको दक्षिणा नपाँउदा चाँही

यो घर हेर्दा सिँहदरवारजस्तो
आँगनहेर्दा टुँडिखेल जत्रो
दक्षिणा हेर्दा माग्नेलाईजस्तो
आदिजस्ता पक्तिहरु अनि
केराको थम्वा
हामी यतिजना भाई जम्मा
झिलीमिली झिल्ला
ताते रोटी मिल्ला जस्ता पत्तिंहरु हामीमध्य धेरैको वाल्यकालसँग जोडिएको होला ।
देउसेले दिएको आशिषले साच्चीकै विशेष मान्यता राख्दछ,
यसपाला आँउदा जस्ताको छाना
अर्कोसाल आँउदा पक्काको छाना
त्यस्पछि आँउदा चाँदीको छाना
त्यसपछी आँउदा सुनको छाना
यो घरैका केटा केटी

दुवोमौलाजस्तै मौलाइमा रहुन जस्ता आशिषहरु साँच्चीकै समय सान्दर्भीक छन् । वास्तवमै हामीसबैलाई देउसेले दिएको आशिष लागोस्, सदभाव वढोस् । आजको दिन रिसराग सबै भुलेर छरछिमेकको घरमा देउसीखेल्न जाने र सदभाव वढाउने चलन छ । देउसीवाट उठेको रकमले कुनै सामाजिक कार्य गर्ने या वाँढेर लिने या वनभोज जाने पुरानो रिती नेपाली समाजमा पुस्तौ पुस्ताले दोहोर्याइरहेको छ । आजको दिनको हार्दिक शुभकामना।

गोवर्धन पूजा | गाईगोरु पूजा

आज गोबर्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन।काग, कुकुर गाई हुँदै आजको दिन प्राचिन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ।कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्वका कारण सम्झिने गरिन्छ।

भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा अाइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोबरधन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासीलाई ओत लागाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख  ।भगवान श्री कृष्णसंग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन,श्री कृष्णले आफ्नो औंलाले उठाउनुभएको त्यही गोबर्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोबरधन पर्वतको पूजाआजा गर्दा गार्इवस्तुको गोबरलाई नै गोबरधन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिअाएको छ।

गोबरधनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो । श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन् । आजको दिन यि हलगोरु अनि हलोको पूजा गर्ने दिन हो।हलोको तलपट्टि जमिनलाई खोस्रिन धातूबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलार्इ जुवा भनिन्छ । आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरु लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ।

प्राचिन नेपाली समाजको स्मरण गर्ने हो भने गोरुगाडा लगायतका जनावरले तान्ने गाडाहरु नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरु थिए। यीनै गोरुहरु अनि बहरकालागि आजको दिन पिठो, नुन, चोक्कर र पानी मिश्रीत घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी अर्थात बावर खान दिइन्छ।

नेपाल सम्वत् ११४२

आजको दिन नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवासगर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात “न्हूदँया भिन्तुना” (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि जातिय एकता र पुर्ख्रयाैली साझा मौलिक संस्कृतीका रुपमा विकास भएको म्हपूजालाई आफ्नो-आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रुपमा मनाइन्छ।विशेषत नेवार समूदायले मान्ने यो संवत् नेपालको मौलिक सम्वत् पनि हो।

राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्वत् नै नेपाल सम्वत् हो।यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्‍याली निकालिन्छ । नेपाल सम्वत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विक्रम संवतको कार्तिक शुक्ल पक्षका दिनमा नेपाल संवतको प्रथम दिन पर्दछ । भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी कार्यलयमा नेपाल संवतको प्रचलन रहेको इतिहास छ । १२ वटा औंसीको एकवर्ष मापन गरिएको यस संवतमा एउटा औंसीबाट अर्को औंसीसम्मको मापनलाई एक महिना मानिएको हुन्छ र यस सवंतमा ३५४ दिनको एक वर्ष पर्नजान्छ।नेपाल सम्वत् अनुसारका महिनालाई क्रमशः कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ।आधिकारीक रुपमा चलनचल्तीमा प्रयोग बढिरहेको यस संवतलाई नेपाल सरकारले पनि आधिकारीक मान्यता दिएको छ । नेवारी समूदायमा भने यस संवतको ब्यापक प्रयोग र मापन गरिएको पाइन्छ ।

सबैमा नेपाल संवत् ११४२ को कछला महिनामा स्वागत छ ।

प्रस्तुत सामाग्री हाम्रो पात्रोकालागि सुयोग ढकालले विभिन्न श्रोतहरु, वेबसाईट अनि संस्कृतीविद् सत्यमोहन जोशीको पुस्तक म्हपूजाको अध्यनका आधारमा तयार पारिएकाे हो ।

प्रतिक्रिया