बेलायतका नेपाली पत्रकार डा जगन कार्कीद्वारा लन्डन म्यारथन दौड़मा सहभागी

इनेप्लिज २०७८ असोज २० गते १०:५० मा प्रकाशित

बेलायत स्थित नेपाली पत्रकार डा जगन कार्कीले लन्डन म्यारथन दौड़ सम्पन्न गरेका छन ।

विश्वभरबाट करिब ८० हजार सहभागीहरुले भाग लिएको ‘लन्डन म्याराथन २०२१’ गत आइतबार सम्पन्न भएको थियो । करिब ४० हजार धावकहरुले प्रत्यक्ष रुपमा र थप ४० हजारले एप मार्फत भर्चुअल रुपमा दौडमा सहभागिता जनाएका थिए । कार्कीले भर्चुअलरुपमा सम्पन्न गरेका थिए ।

लण्डन म्याराथन ४ घन्टा ५५ मिनेटमा दौडिएका कार्कीले नेपाल रन टिम संग सामूहिक रुपमा नेपालमा बालबालिकालाई बाल श्रम शोषणबाट मुक्त गरी उनीहरुको शिक्षा र लालनपालनको लागि साथ र सहयोग गरिरहेको संस्था चाइल्ड रेस्क्यु नेपालका लागि £२,२०८ पाउण्ड (नेपाली ३ लाख ५३ हजार रुपियाँ) संकलन पनि गरेका छन ।

दौड र शारीरिक तन्दुरुस्ती अभियानमा समुदायलाई निरन्तर प्रेरणा र साथ दिन गठित नेपाल रन समूह बेलायतमा दर्ता भएर इंगल्याण्ड एथलेटिक्ससंग अनुबन्धित रहेको संस्था हो ।

दौड तक्मा र प्रतियोगिताको रुपमा भन्दा शरिरक तंदुरुस्तीको रुपमा लिएर च्यारिटी संग़ै परिवार र साथिहरुलाई तंदुरुस्त रहन प्रोत्साहन गर्ने उदेश्य रहेको कार्कीको भनाइ छ ।

लण्डनमा प्राध्यापन पेसामा सम्लग्न कार्की २०२० मा पनि लन्डन म्यारथन गरेका थिए भने यस अलावा धेरै अर्ध म्यारथन र दौड़मा निरन्तर सहभागी हुने गरेका छन ।
यो महामारी, वातावरण र प्रविधि संग़ै बदलिंदो जिवन शैली अनुरूप आफुलाई स्वास्थ्य र तन्दुरुस्त राख्न निरन्तर शारीरिक अभ्यास ज़रूरी रहेकोले दौड़ एक सजिलो र उत्तम उपाय रहेको कार्कीको राय छ ।

यो वर्ष लन्डन म्याराथनमा बेलायतस्थित नेपाली धावकहरुको राम्रो उपस्थिति थियो । करिब १०० जनाको सहभागिता रहेको नेपाल रन युकेले जनाएको छ । नेपाल रनले ८४ जना धावकहरुको नाम संकलन गरेको थियो ।

प्रतिक्रिया