मनोज दाहाल,विराटनगर,१ असोज(रासस):नेपालको संविधान जारी भएपछि नागरिकहरुले आआफ्नो घरआङ्गनमा सिंहदरवार आएको अनुभूति गरेका छन्।
संविधानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पछि निर्मित तीन तहको सरकार मध्ये स्थानीय सरकारबाट सुविधा प्राप्त भएपछि जनताले खुशी छन्।
संविधान अनुरुप निर्माण भएको प्रदेश नं १ रहेको १४ जिल्लामा १३७ स्थानीय तह अन्तर्गत महानगरपालिका एक,उप महानगरपालिका दुई,नगरपालिका ४६ र गाउँपालिका ८८मा एक हजार ५७ वडा भित्र ४५ लाख ४३ हजार ९४३ जनताको बसोबास छन्।
सविधानले दिएको अधिकारमा जनताले नागरिकता र राहदानी बाहेक अन्य सबै प्रकारका सेवा सुविधा घरपायक पालिकाबाट उपलब्ध गरिरहेका छन्।
पालिकाबाट सबै सुविधा पाउन थालेपछि जनता सदरमुकाम धाउत्र छाडेका छन्।
यस्तै,संविधान मार्फत स्थापित प्रदेश सरकारले यस क्षेत्रका जनताको आर्थिक विकासका लागि गरेका कार्यहरु समेत उल्लेखनीय छन्।
नागरिकको सहजतालाई प्रदेश सरकारको बहुवर्षीय गौरवको आयोजना अन्तर्गतका घिनाहाटघाट विराट चोक २२ दशमलव पाँच किलोमिटर लम्वाई र १६ मिटर चौडाइको निर्माणाधिन अवस्थामा रहेको छ।यो बाटो निर्माणसँगै यस क्षेत्रका जनताको जीवन स्तरमा निकै परिवर्तन आउने झोराहाट निवासी तुलसी चौधरीले बताउनुभयो।
यसैगरी खेलकुदप्रति युवालाई आकर्षित गराउन विराटनगरको शहीद रङ्गशालामा रात्रिकालिन वत्ति( फ्लड लाइट) जडान गर्ने कार्य सम्पन्न गरेको छ।
प्रदेश सरकारले नागरिकलाई सहज आवत जावत एवं आफ्नो सरकार भएको अनुभूति गराउन विभिन्न जिल्लामा प्रादेशिक निर्वाचन लक्षित बहुवर्षीय ६२ वटा सडक आयोजना (८८४ दशमलव पाँच किलोमिटर) सडक अन्तर्गत ५१ वटाको सम्झौता भई कार्य शुभारम्भ भएको छ।
बर्षातको समयमा जनतालाई खोलामा सहज आवत जावतका लागि केन्द्रबाट हस्तान्तरित चार सहित ३६ बटा झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न गरिएको छ।
शिक्षा क्षेत्रमा प्रदेश सरकारले २०८ विद्यालयमा स्मार्ट कक्षा व्यवस्थापन गरी सञ्चालन गरेको जसबाट यस क्षेत्रका बालबालिकाले विश्वस्तरको ज्ञान प्राप्त गरी सक्षम नागरिक निर्माण हुने आशा प्रदेश सरकारको छ।
यस क्षेत्रमा छात्रछात्रालाई विज्ञानको शिक्षकको कमीको कारण अध्ययनमा भएको बाधा हाटाउन २८ वटा माध्यमिक विद्यालयमा शिक्षकको व्यवस्था गरेको छ भने ९२४ जना शिक्षकहरुलाई पेशागत क्षमता विकास तालीम प्रदान गरिएको छ।
आर्थिक समस्याका कारण उच्च शिक्षा अध्ययनमा समस्यामा परेका अपाङ्गता भएका ६४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ।
मनमोहन प्राविधिक विश्वविद्यालय स्थापनाले यस क्षेत्रका उद्योगहरुहलाई आवश्यक प्राविधिक जनशक्ति पदपूपर्ति गर्नुका रोजगारी वृद्धि गरी जनतामा क्रयशक्तिको समेत वृद्धि गर्ने छन।
विश्वविद्यालय दुर्गम र पहाडी क्षेत्रमा प्राविधिक शिक्षाको अध्यापनबाट त्यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादनबाट स्वरोजगार बनाउनु प्राविधिक विश्वविद्यालयले मद्दत गर्ने विश्वास लिन सकिन्छ।
जस अन्तर्गत प्रदेशका हिमाली तथा पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ्ग, संखुवासभा ,भोजपुर, तेह्रथुम र सोलुखुम्बूुमा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने कार्य आगाडि बढाइएको छ।
प्रदेशका ४१ वटा विद्यालयमा भवन निर्माण र मर्मत सुधार कार्य सञ्चालन कार्य अगाडि वढाइनुका साथै स्थानीय तहको साझेदारीमा एक हजार ५५६ महिला एक हजार २४४ पुरुष गरी दुई हजार ८०० जनालाई प्रदेश जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम मार्फत दाँत लगाइने कार्यक्रमले हाँसो हराएको नागरिकले हाँस्न पाएका छन् ।प्रदेश सरकार गठन भएपछि प्रदेशमा ४० वटा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ भने सबै आयुर्वेद केन्द्रहरुमा प्रयोगशाला स्थापना गरिएको छ।
यसैगरी आयुर्वेद सेवा सुदृढीकरणका लागि स्वास्थ्य आयुर्वेद स्वास्थ्य केन्द्र झापा,मोरङ,उदयपुर र औषधालय इलाममा करारमा जनशक्ति व्यवस्था गरिएको छ।
यस्तै कोरोना महामारीमा जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको यस क्षेत्रमा गरेको कार्यबाट देखिन्छ।
प्रदेश सरकारले कोभीड–१९ सङ्क्रमितहरुको उपचारका लागि एचडियु, आयुसीयु तथा भेन्टिलेर सेवा सहित विराटनगरमा कोशी अस्पताल(कोभीड उपचार) केन्द्रमा सञ्चालनमा ल्याएको छ।
यस्तै,मेची अस्पताल भद्रपुर झापाको स्तरोत्रति गर्नुका साथै प्रदेशका अन्य जिल्ला अस्पताल,स्वास्थ्य चौकीहरुमा आवश्यक सुरक्षा सामग्री लगायतका उपचार, औजार र औषधि समेत व्यवस्था गरेको छ।
कोरोना परीक्षणको दायरालाई फराकिले पार्न प्रदेश सरकारले छ स्थानमा पीसिआर परीक्षणको व्यवस्था गरिएको छ।
कोरोना समुदायमा नफैलियोस भन्नका लागि जिल्ला अस्पतालहरुमा न्यूनतम १० शैययाको आइसोलन केन्द्र स्थापना गर्नुका साथै कोभीड–१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न सचेतनामुलक सन्देश प्रचार प्रसार गरिएको छ।
प्रदेशका सबै जिल्लाका नागरिकहरुलाई कोरोना विरुद्धको खोपको अभियान सञ्चालन गरिएको छ।
जनताको स्वास्थ्य परीक्षण सहज,गुणस्तरीय र विश्वसनीय बनाउनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाको क्षमता अभिवृद्धि गरिनुका साथै आफ्नो भवन निर्माणको कार्य शुरु गरिएको छ।
प्रदेश नं १ सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले जनताको स्वास्थ्यप्रति सरकार सचेत भएकाले अहिलेसम्मका प्रदेशका २० प्रतिशत जनतालाई कोभिड विरुद्धको खोप लगाइएको छ भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा ६० प्रतिशत जनतालाई खोप लगाउने लक्ष्य अनुरुप कार्य गरिरहेको बताउनु भयो।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नागरिकलाई आफ्नो सरकार छ भन्ने अनुभूति गराउन कोरोना महामारीको पहिलो तथा दोश्रो लहरमा निःशुल्क पीसिआर परीक्षण,अक्सिजनको व्यवस्था तथा वडाहरुमा कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको बताउनु भयो।
विराटनगर– ११ का वडाअध्यक्ष तीर्थेन्द्र न्यौपानेले नागरिकले आफ्नो घरनजिकको स्वास्थ्य सहितको सम्पूर्ण सुविधा प्राप्त गरेकोले सङ्घीयताको सफल कार्यान्वयनमा आगाडि बढेको बताउनु भयो।
पत्रकार
प्रतिक्रिया