सुकिलामुकिला अनि हातमा माला लिएका मान्छेको भीडमा
एकजना भाषण दिँदै थिए आज बाल दिवस हो रे
हामीले ठूलाठूला परिवर्तन ल्याएका छौँ रे
भाद्र चारको बालदिवस उनन्तीसमा पुर्यायौँ रे !!१
संविधानका धारामा बालबालिका सम्बन्धी हक राख्यौँ रे
गरिब,अपाङ्ग, दलित, सबैले निःशुल्क पढ्न पाउने बनायौँ रे
बालबालिका अब सडकपेटी र आश्रममा बस्न पर्दैन रे
यसका लागि हामीले अर्बौं डलर खर्चेका छौँ रे !!२
त्यही भीडमा अपाङ्ग साथीले मुस्कुराउँदै म सँग प्रश्न गर्यो
साथी पानी नआउने धारो सुनकै भए पनि के काम छ र?
आमाको उपचार गर्न खलासी बनेको बालकले खिस्सी गर्दै भन्यो
अधिकार त होइन साथी आज मीठो खान चाहिँ पाइन्छ !! ३
अर्को सडकबालकले भन्यो साथी आज त मेरो तिहार हो
अघिपछि खाते भनेर लखेट्छन् तर आज गलाले माला पाउँछ
वर्ष दिनमा एकपटक पुजिने कुकुर जस्तै म पनि पुजिन्छु
कुकुरलाई बास्मती चामलको भात दिएझैँ मेरो पनि पेट भरिन्छ !! ४
म अरूदिन भोकै र अपमान सहेर बस्छु यही दिनको प्रतीक्षामा
गलामा सयपत्रीका माला अनि प्लेटमा मिष्ठान्नको आशमा
तीनसय चौसट्ठी दिन मलाई मान्छे देख्दैनन् साथी तर
आजका दिन बालबालिका भगवान हुन् भनेर पुजिन्छु सर्वत्र !! ५
बल्ल मैले बुझेँ आज त ठूलै दिन र उत्सव पो रहेछ
खोक्रा,थोत्रा भाषण गरेर डलरको बोरा बोक्ने दिन पो रहेछ
म त उही बालक हुँ जसका जीवनका सबै सपना तुहिए
माध्यम त रहेछु नि मेरो टाउको गनी कसैको ढुकुटी चुलिए !! ६
मेरा अधिकार संविधानमा बन्द गरेर डलरको खेती गरिए
अनाथ,टुहुरा,सडकबालबालिका नाउमा गोष्टीगरी भत्ता बाँडिए
आजको तामझाम देखेर बल्ल बुझेँ आज त ठूलै उत्सव पो रहेछ..
बल्ल बुझेँ मैले आज त ठूलै दिन र उत्सव पो रहेछ !! ७
-शशी खड्का
बूढानिलकण्ठ,काठमाडौँ ।
प्रतिक्रिया