भाद्र २२ गते २०७८ साल,कुशे ओैंसीको दिन अर्थात् बुवाको मुख हेर्ने दिन।कुशे ओैंसीको आफ्नो छुट्टै धार्मिक महत्त्व छ।वर्ष भरी पूजाआजा तथा पितृकार्यको लागि नभै नहुने कुश भित्र्याउने दिनको रुपमा पनि परिचित छ कुशे ओैंसी।सनातन हिन्दू परम्परा अनुसार कुशको विशेष महत्त्व छ अर्थात कुशलाई देव कार्य तथा पितृ कार्य दुबैमा प्रयोग गरिन्छ।आजको यही दिन बुवाको मुख हेर्ने दिनको रुपमा पनि लिइन्छ।
“पितृ देवो भव” अर्थात् बुवा देवता हुन्।हिन्दू शास्त्र अनुसार “मातृ देवो भव”,”पितृ देवो भव” भनेर माता पिता अर्थात् आमाबुवालाई भगवान समान मानिएको छ। जसरी भगवानले चराचर जगतको पालना गर्नुहुन्छ त्यसैगरि हाम्रा बुवाआमाले पनि हामीलाई पालन पोषण गर्नुहुन्छ।सायद त्यसैले होला माता तिर्थ ओैंसीमा आमाको विशेष सेवा गरिन्छ भने कुशे ओैंसीमा बुवाको।
आमा भनेकी धर्ती हुन् भने हाम्रा बुवा आकाश हुन्।नेपाली समाजमा प्राय:जसो बुवाले नै आर्थिक बोझ उठाउनु हुन्छ र परिवारलाई संरक्षण दिने काम गर्नुहुन्छ। त्यसैले त बुवा हुँदा हाम्री आमालाई पनि घर चलाउन सजिलो हुन्छ।बुबाले जीवनका हरेक कठिनाइमा लड्न सिकाउनु हुन्छ।कहिले अल्ली कठोर बनेर त कहिले नम्र भएर बुबाले हामीलाई हरेक कदममा साथ दिनुहुन्छ, हामीलाई बाटो देखाउनु हुन्छ। त्यसैले उहाँको सम्मान स्वरुप आजको दिन अर्थात् कुशे ओैंसीको दिनमा मिठा मिठा परिकार खुवाएर तथा राम्रा राम्रा लुगा दिएर बुबाको मुख हेरिन्छ अर्थात् बुबालाई खुशी पारिन्छ।बुबा नहुनेले आजको दिनमा गोकर्ण ,देवघाट तथा आफ्नो क्षेत्रमा रहेका विभिन्न तिर्थमा गएर दान,तर्पण,अर्थात् श्राद्ध गर्ने चलन रहेको छ।
तर बुबाको सम्मान यही एकदिन मात्रै गरेर हुँदैन।अनि बर्षमा एकदिन मात्रै फलफूल दिएर बुबा खुशी हुनुहुन्न।बुबा त आफ्नो सन्तानको उन्नति र प्रगतिमा खुशी हुनुहुन्छ।अनि आफ्ना सन्तान सत्मार्गमा हिँडेको देख्दा खुशी हुनुहुन्छ।जसरी हामी सानो हुँदा बुबाले हामीलाई ओैंला समाएर हिँड्न सिकाउनु भयो, त्यसैगरी वृद्ध भएका हाम्रा बुबाको ओैंला हामीले समाऊँ।बुबाले नै हामीलाई असल संस्कार सिकाउनु हुन्छ।उहाँले देखाउनु भएको असल मार्गमा हिँडौं।अनि मात्रै हाम्रो बुबा खुशी हुनुहुन्छ।
आमा हाम्रो घरको जग हुन् भने बुबा छानो अनि हामी छोराछोरी त्यो घरका भित्ताहरु हौं।अनि मात्रै एउटा पूर्ण घर बन्न सक्छ।यि तिनवटै कुरामा मेलमिलाप भए मात्रै परिवार सुखी अनि खुशी बन्छ।त्यसैले हामी सबै एक असल बुबाआमा अनि एक असल छोराछोरी बनौं।हामी बुबाको रुपमा पनि आफ्ना सन्तानलाई अति नै प्रेम गर्ने राजा दशरथ जस्तो बनौं अनि सन्तानको रुपमा श्रवणकुमार जस्तो बनौं।न कि हिरण्यकशिपु जसले आफ्नो गलत सिद्धान्त नमान्दा आफ्नै पुत्रलाई निर्मम यातना दिएको थियो अनि कंश जस्तो पुत्र जसले आफ्नै बुबालाई जेल हालेर आफू राजा भएको थियो।अनि जसको विनाश गर्न भगवानले अवतार लिनु परेको थियो।
आफना सबै सन्तानलाई समान रुपले व्यवहार र माया गरेर असल कर्म दिने समस्त पितृ जगतमा कोटी कोटी नमन।एक असल सन्तान बन्ने कोशिस गरौं र असल अभिभावक पनि। कुशे ओैंशीको विशेष शुभकामना 🙏🙏
-दुर्गा लोहनी
प्रतिक्रिया