हाम्रो देश नेपाल भाषा,भेष ,संस्कृति,र परम्परामा अन्य देशको तुलनामा निकै अगाडि छ।यसैकारणले गर्दा हामी सांस्कृतिक रूपमा धनी छौं।संसारको जुनसुकै कुनामा किन नबसौं हामीलाई हाम्रै मौलिक संस्कृति प्यारो लाग्छ।युट्युव वा टिकटकमै किन नहोस धान रोपेको,हिलो खेलेको हेर्न पाउँदा आनन्द लाग्छ।तीजका गीतमा दिदीबहिनी मिलेर छमछम नाच्न पाउँदा, दशैंमा छुट्टि मिलाएरै भएपनि परिवारसंगै बसेर टिका लगाउन पाउँदा,तिहारमा देउसी भैलो खेल्दा हामीलाई साच्चै खुसीको अनुभूति हुन्छ।त्यसैले त हाम्रो देश र हाम्रो देशको संस्कृति विश्वमै अगाडि छ भन्न पाउँदा गर्व लाग्छ।चाहे असारमा धान रोप्दा होस् या त मंसिरमा धान भित्र्याउँदा किन नहोस हामी त्यस्ता दिनहरूलाई पर्वका रूपमा मनाउने गर्दछौं।असार पन्ध्रको असारे गीत र दहि च्युरा,साउने पन्ध्रको खीर, माघे सक्रान्तिको तीलको लड्डु,खिचडी,तरुल र सखरखण्ड यी सबैको विशेष महत्त्व छ हाम्रो लागि।
प्रकृतिमा हरियोलाई उत्पादन र खुसीयालीको प्रतीक पनि मानिन्छ।त्यसैले प्रकृतिको एक उत्कृष्ट रङ्ग हो हरियो।चारैतिर हरियालीको उल्लास फैलिने महिना हो साउन।त्यसैले साउन महिनालाई आफैमा एउटा उल्लासको महिनाको रूपमा लिन सकिन्छ।साउन यस अर्थमा पनि महत्त्वपूर्ण किन मानिन्छ भने साउने सक्रान्तिदेखि बिस्तारै नेपालीहरूका घर आँगनमा चाडपर्वको आगमन हुन् थाल्दछ।त्यसैले पनि साउन महिना हामी नेपालीहरू माझ छुट्टै उल्लास र उमङ्ग लिएर आइपुग्छ।यसैकारण साउन प्रकृति र संस्कृतिको सुन्दर महिना हो।अर्को रूपमा भन्नुपर्दा हरियो सागपात,तरकारी स्वास्थ्यको लागि पनि अत्यावश्यक कुरा हो। साउन महिना प्रसस्त हरिया तरकारी लौका,घिरौला,करेला,चिचिन्ना,भिन्टी,मकै बोडी फल्ने महिना हो।त्यसैले स्वास्थ्यका दृष्टिले पनि साउन एउटा महत्त्वपूर्ण महिना हो।
धार्मिक दृष्टिले हेर्दा पनि साउनलाई भगवान शिवजीको महिना मानिन्छ।शिवजीले कालकुट विष सेवन गरी ब्रह्माण्डलाई बचाएको महिना हो यो। शिवजीले नकारात्मक तत्वहरूलाई फालेर सकरात्मकता सुरुवात गरेको महिना हो साउन महिना।यस महिनामा शिवजीको पूजाआजा गरे शिवजी प्रसन्न रहनुहुन्छ भन्ने विश्वास रहदै आएको छ।त्यसैले साउनको सोमबार शिवजीको व्रत राखेर पूजा गर्नेहरूको भिंड शिवालयहरूमा देख्न पाइन्छ।हिन्दू धर्म अनुसार साउन पवित्र महिना भएकाले अरू बेलाका मांसाहारी व्यक्तिहरू पनि यस महिनामा एक महिनासम्म शाकाहार नै भएर भगवान शिवजीको पूजाआजा गर्दछन।
चारैतिर हरिया रूखहरूले भरिएको पहाड,अग्ला अग्ला हरिया मकैका बोटले भरिपूर्ण बारीहरू,भर्खरै गोड्न सुरू गरिएका लहलह धानका आलीहरूले निकै सुन्दर देखिन्छन घर,गाउँ,वन-पाखाहरू यतिबेला।सायद यिनै कारणहरूले अझ सुन्दर बनाएको हुन्छ साउन महिनालाई।त्यसैले हामी नेपालीहरू साउन महिनाको पहिलो दिनलाई साउने सक्रान्ति भनेर मनाउने गर्दछौं।साउने सक्रान्तिको आफ्नै मौलिक परम्परा र संस्कृति रहेको छ जसका कारणले यो दिन नेपालीहरूका लागि विशेष दिन हो।
पहिले पहिले साउने सक्रान्तिको दिनलाई लुतो फाल्ने दिनका रूपमा लिने गरिन्थ्यो।यद्दपि गाउँघरतिर यो चलन अझै रहिरहेको पाइन्छ।लुतो विशेष गरेर रातिको समयमा ठूलो आगोको अगुल्ठाले लुतो जा,लुतो जा भनेर चिच्याएर फ्याक्ने चलन छ।जब हामी साना थियौं हाम्रा लागि साउने सकार्न्ति एक विशेष दिनका रूपमा आउने गर्थ्यौं।यो दिन लुतो फाल्ने कुराले भन्दा पनि हरिया मकै चराउने कुराले हामी बढी उत्साहित हुन्थ्यौं।मकै सामन्यतया बाले यही दिनमा चराउने हुनाले पनि हामी साउने सक्रान्तिको दिनको व्यग्र प्रतीक्षामा हुने गर्दथ्यौं।त्यो दिन पनि विशेष गरेर बाले विहानमा मकै चराउने र रातिमा लुतो फाल्ने गर्नुहुन्थ्यो।
साउने सक्रान्तिमा हामी अर्को कुराले पनि औधि खुसी हुने गर्थ्यौं किनभने त्यो दिन तिउरी लाउने दिन हुन्थ्यो।अहिले अहिले हातमा मेहेन्दी लाएजस्तै हामी हातभरि तिउरी लगाउने गर्थ्यौं।साउने सक्रान्तिको दिन दिउसैदेखि तिउरीका रूख खोजेर जम्मा पारिन्थ्यो।साझपख त्यसलाई ढुंगामा थिचेर मसिनो पारिन्थ्यो। बेलुकीको खाना खाइसकेपछि हातभरि तिउरी लगाइन्थ्यो।त्यो तिउरी राम्ररी बसोस भन्नका लागि त्यसमा अमिलो,माकुराको जालो,कुमलकोटीको माटो पनि राख्ने काम हुन्थ्यो।हातमा लगाइसकेपछि गाभाको पातले बेरेर डोरीले बाँधेर नफुत्किने गरेर सुतिन्थ्यो।तर कहिलेकाहीं डोरी फुत्केर बिस्तारा पूरै रातै पनि हुने गर्दथ्यो। जब भोलिपल्ट बिहान हुन्थ्यो तब पँधेरामा कस्का हात बढी राता भए र राम्रा देखिए भन्ने खालको एक किसिमको प्रतिस्पर्धाजस्तो पनि हुने गर्दथ्यो।जसका हात राता भए उसले राम्रो तरिकाले तिउरी लगाएको ठहर्थ्यो भने अलि कम राता हुनेले त्यति धेरै तरिका नअपनाएकोजस्तो लाग्थ्यो।
तर जे होस् त्यति गर्न पाउँदा पनि हामीलाई यति धेरै खुसी मिल्थ्यों कि सायद हामीले संसारका अमूल्य चीज प्राप्त गर्यौं। त्यो खुसीमा आत्मीयता र हार्दिकता मिसिएको हुन्थ्यो। अझ त्यसमाथि मौलिकताको रङ्ग थपिदा गज्जबको रमाइलो आभाष हुन्थ्यो मनमा। वाल्यकालको खुसी पो खुसी। जहाँ हामी सानो कुराले पनि धेरै खुसी हुन् सक्थ्यौं। थोरै रहर पूरा हुँदा पनि धेरै रमाउने सक्थ्यौं। हाम्रो खुसी आफ्नै खालको हुन्थ्यो रमाइलो अर्गानिक।
समय परिवर्तनशील छ।समयको परिवर्तनसंगै यस पर्वलाई पनि आधुनिकताको वाछिटाले अलिकति छिटयाएको भने पक्कै छ।साउने सक्रान्तिको आगमनसंगै हामी महिलाहरूले हातमा लागाउने मेहेन्दी, हरिया चुरा,हरियो साडी र हरिया पोते र टीकाको फेसनले साउने सक्रान्तिको मौलिकतामा प्रश्न चिन्ह भने खडा गरिदिएको छ।अझ अर्को शब्दमा भन्दा यसले हरिया सामानहरूको व्यापारलाई अझ फस्टाउने मौका भने दिएको छ। हामी प्राकृतिक कुरामाभन्दा पनि कृतिम कुरामा रमाउनमा व्यस्त भएका छौँ।आफ्ना परिवार र आफूले खाने हरिया तरकारी र सागपातमा ध्यान जानुको साटो फेसन आएको हरिया चुरा र साडीमा बढी ध्यान दिन थालेका छौ। प्रकृति र प्रकृतिबाट पाउन सकिने अनुपम उपहारतिर भन्दा आधुनिक तडकभडक र अप्राकृतिक कुराहरूमा बढी रमाउन थालेका छौं। जसको परिणाम स्वरूप हाम्रा मौलिक संस्कृति र परम्पराबाट हामी आफ्ना सन्तानहरूलाई वन्चित गराउदै लगेका छौं।त्यसैले लाग्छ अहिलेको पिढीको जीवन रङ्ग उडेको जीवनजस्तो बनेको छ। । इन्जिनले चल्ने मेशिनजस्तो भएको छ।
आजभोलिको पुस्तालाई तिउरी,लुतो,सक्रान्तिजस्ता शब्दहरू नौला लाग्दै गएका छन।अब त हुँदा हुँदा अहिलेको पुस्ताले मकै,चामलजस्ता अन्न पनि मेशिनबाटै उत्पादन हुन्छ होला भनेर बुझ्न थालिसकेको छ।अहिलेको पुस्ता हाम्रा मौलिक परम्परा र संस्कृतिबाट अपरिचित बन्न पुगेको छ।तसर्थ अब हामीले आफ्नो मौलिक संस्कृति र परम्पराको जगेर्ना कुरामा सचेत रहनुपर्ने बेला आएको छ।आफूले सानैदेखि मनाउँदै आएको मौलिक संस्कृति र परम्पराको निरन्तरता दिदैं आफ्ना सन्तानहरूलाई पनि त्यस बारेमा बुझाउन सकेमा हाम्रो देशको मौलिक परम्परा र संस्कृति भोलिका दिनसम्म पनि जीवित रहिरहनेछ।हाम्रा चाडपर्व र रितिरिवाजसंगै हाम्रो देशको मौलिक परम्परा सदासर्वदा उच्च रूपमा रहिरनेछ र हामी नेपाली भनेर विश्वमा आफ्नो छुट्टै पहिचान लिएर उभिन सक्नेछौं।
जब हाम्रो संस्कृति र चाडपर्व रहन्छ अनि बजाउने छन् दाइले गाइने दाइले सारंगी मीठो धुन, घन्कनेछ दोहोरी भाका रोधी घरहरूमा,मीठो भाका हालेर खेतालाहरू गाउनेछन मीठा मीठा असारे गीतहरू।देउसी र भैलो घन्कनेछ घर घरमा।लाहुरे दाइ कम्मर मर्काइ मर्काइ नाच्नेछन पानको पातमा युगौ युगसम्म।
-विष्णु पगेनी सिग्देल,मेरिल्याण्ड,अमेरिका।
प्रतिक्रिया