गणतन्त्रको स्थापना पश्चात नेपाली युवाहरुले ठूलो आशा गरेका थिए।तर गणतन्त्र स्थापना भएको आज ढेड दशक बितिसक्दा पनि नेपाली युवाहरुले ठोस रुपमा केहि पाएका छैनन्।उल्टै बेरोजगार समस्या हिजो भन्दा आज जटिल र डरलाग्दो बन्दै गईरहेको छ।गणतन्त्र मात्र एकाध व्यक्ति, राजनीतिक दल र तिनका नेताहरुमा मात्रै सीमित भइरहेको छ।
सामान्य भाषामा भन्दा गणतन्त्र भनेको जनताले जनताद्वारा गर्ने शासन हो ।तर याहाँ त गणतन्त्र भनेको जनताले जनता माथि गर्ने शासनको रुपमा मौलाइरहेको छ।यहाँ नेताले जनता माथि शासन गर्ने परम्पराको विकास भइरहेको छ।गणतन्त्र भनेको संसारको उत्तम व्यवस्था हो।याहाँ त गणतन्त्रको आभाष नेताहरुको शव्दमा मात्र सीमित भईरहेको छ।गणतन्त्रिक मुलुकका युवाहरु आज किन कतार जस्तो राजतन्त्र भएको मुलुकमा रोजगारीका लागि जान बाध्य भएका छन् ? आखिर जुनसुकै शासन व्यवस्थाले पनि केहि प्रभाव नपार्दाे रहेछ,यो एउटा उदाहरण र प्रमाणसमेत हो।
इतिहासका विभिन्न कालखण्डहरुलाई हेर्ने हो भने देशको ठूला भन्ने पार्टीहरुलाई यहाँ सम्म ल्याउन युवाहरुको महत्वपूर्ण योग्दान रहेको छ।नेपाली काँङ्ग्रेसलाई नेपालको इतिहासमा सबैभन्दा लामो समय सम्म सत्ताको स्वाद खान पाउने कसले बनायो ? एमालेलाई एमाले भन्ने कसले बनायो ? माओवादीको १०बर्शे युद्धको मोर्चामा समेल भएर माओबादी कसले बनायो मधेशवादी दलहरुलाई सत्ताको हालि मुहालि गर्न सक्ने कसले बनायो ? सत्ताको बागडोर सम्हाल्न सक्ने बनाउने युवाहरुलाई राजनैतिक दल र तिनका नेताहरुले अब स्वदेशमै रोजगारीको सिर्जना गर्ने कि नगर्ने ? अबको सरकार र राजनैतिक दललले युवाको भविष्य सोच्ने कि नसोच्ने ?
दैनिक हजारौँको संङ्ख्यामा फूलको माला लगाएर विदेशिने युवाहरुलाई रोक्नका लागि सरकारले पहल गर्ने कि नगर्ने ? २१ औँ शताव्दीमा पनि आफ्नो जीवन धान्नका लागि युवाहरु बेचिनु पर्ने जुन परिवेश नेपालमा सिर्जना भएको छ यसका बारेमा कुनै राजनेता वा मानव अधिकारकर्मी चुँ समेत बोलेको पाइदैन।आज सम्पूर्णं युवाहरुलाई विदेशिको दास बनाएर नेपालमा बच्चा बच्ची र वृद्ध वृद्धाहरु माथि चर्काे शासन चलाउन मज्जा मान्नेहरुमाथी नेपाली युवाहरुले खबरादारी गर्नु पर्ने समय आएनर ?
तथ्याङ्क अनुसार आज देशमा लगबग एक करोड १२ लाख युवाहरु बेरोजगार छन्।ती युवाहरुलाई रोजगार सिर्जना गर्नका लागि सरकारले आजको भोलि नै ठूला–ठूला कलकारखानाहरु,उद्योगधन्दाहरु विस्तार गर्नु पर्छ भन्ने होइन।मात्र भएको स्रोत र साधनलाई सहि ढङ्गले सदुपयोग गर्न पर्छ भन्ने हो।यो देशमा ८३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ भन्ने कुरा हामीले विभिन्न पुस्तकहरुमा पढेका छौँ।तर हामीले हजार मेगावाट बिजुली समेत उत्पादन गर्न सकिरहेका छैनौँ । यदि जलस्रोतलाई मात्रै सहि सदुपयोग गर्ने हो भने, याहाँ १ करोड ५० लाख युवाहरुले रोजगार पाउँछन्।
के नेपालमा ठूला भनिएका दलहरुले वार्षिक १० हजारको दरले युवाहरुलाई रोजगार दिन सक्दैनन ? तर चाहेर पनि दलहरुले युवाहरुलाई रोजगार दिन चाहँदैनन्।यदि वार्षिक १० हजारका दरले युवाहरु रोजगार भए भने भोलिदेखि नेताको भाषण सुन्न र थपडी बजाउन को जाने ? आन्दोलनमा ढुङ्गा हान्न र प्रहरी सँग पौठेजोरी खेल्न को जाने ? त्यसैले आजसम्म यो मुलुकमा युवाहरुलाई राजनीतिक दलले भर्याङ मात्र बनाइरहेका छन्।चुनावको बेलामा भोट बैङ्कको रुपमा चिनिदै आएका युवाहरुलाई चुनाव अगाडि हरेक आश्वासन दिँदै हिँड्ने र चुनाव पछाडि भुसुक्कै बिर्सिने रोगले अझै नेताहरुलाई छाडेको छैन।
अर्काे तर्फ योे देशमा विज्ञ, वुद्धिजिबि र बैज्ञानिकहरु हजारौँको सङ्ख्यामा रहेका छन्।तर ति दक्ष जनशक्तिहरु एक पछि अर्काे गर्दै विदेश पलाएन भईरहेका छन्।कारण, मानौँ एउटा राजनैतिक दलको सक्रिय कार्यकर्ता या नेता जसको हैसियत केन्द्र,जिल्ला वा क्षेत्र संँग हुन सक्छ तर उसको शिक्षा भने ८/१० कक्षा पास पनि हुदैन।अनि विज्ञहरु उसको प्रशिक्षण सुन्न र मातहातमा बस्नु पर्ने बाध्यता छ।विज्ञले हासिल गरेको उपलव्धिको याहाँ कुनै स्थान नैं छैन र उसको उचित स्थान खोज्न र पहिचान गर्नेका लागि विदेशिनु पर्ने बाध्यता छ।
अर्काेतर्फ हामी युवाहरुमा के घमण्ड छ भने, प्रवेशिका पास गर्ने बित्तिक्कै हात खुट्टा हल्लाएर खान पाउने जागिरको खोजिमा युवाहरु भौतारिन्छन् । पढेलेखेका मानिसहरुले श्रम गर्नु हुँदैन भन्ने गलत मान्यताका कारण बेरोजगार समस्या थपिँदै गएको छ । त्यतिमात्र होइन के के न पाइएला भनेर युवा अवस्थामा राजनीतक दलका झण्डा बोक्ने र उमेर ढल्किदै गएपछि राजनीति छाडेर खाडीतर्फ लाग्ने प्रचलन पछिल्लो समय व्यापक बनेको छ । युवाहरु कुनै न कुनै राजनैतिक दलमा आबद्ध छन्।आफ्नो पार्टी सरकारमा हँुदा व्वाँसो झै सुत्ने र पार्टी सरकारबाट बाहिरिए पछि बेरोजगारको विषयमा बोल्ने प्रबृत्तिले अझै युवाहरुलाई छाडेको छैन।
आज देशमा आइएनजिओको नाममा देशको वार्षिक बजेट भन्दा बढी बजेट भित्रिरहेको छ।खोइत त्यो बजेट कहाँ लगानि भयो ? सरकारले यस्ता बजेटहरुलाई झ्यालबाट होइन ढोकाबाट भित्राउने प्रयास गर्नुपर्छ।अर्काेतर्फ समाजमा मौलाउँदै गएको चोरी,डकैती,हत्या,हिसाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बेरोजगारसँग जोडिएको विषय बनेको छ।सायद आज सबै युवाहरुमा रोजगारीको अवसर सिर्जना भए, युवाहरुमा नकारात्मक सोच पैदा हुदैन र सामाजिक बिकृतीहरु आफँै घट्दै जान्छन्।सबै युवाहरुलाई समान रुपमा रोजगारीको सिर्जना गर्ने हो भने प्रहरी फोर्सलाई गोडाफट र सहतर्क गर्दै तालिम दिइराख्नु पर्ने अवस्था छैन।
प्रहरीलाई तालिम दिएर वा सङ्ख्या बढाएर मात्रै अपराध घट्दैन,त्यति बेला मात्र अपराध घट्छ जति बेला अपराध गर्ने मान्छे नै रोजगारमा व्यस्त हुन्छ।अन्त्यमा विदेशिएका दाजुभाई र दिदीबहिनीको पैसाले रेमिट्यान्स भित्रिएको भन्दै गर्व गर्ने नेता र मन्त्रिहरु अझ लाजै नमानि आर्थिक वृद्धि दर बढेको कुरा गर्न पछि पर्दैनन्।सियो पनि नबन्ने देशमा कसरी आर्थिक वृद्धिदर हुन्छ ? घरको मुख्य मान्छे कमाउनका लागि विदेशिएका हुन्छन्।जसले आफ्नो पारिवारीक समस्याहरु पूर्ति गर्न विद्युतिय सामानहरु (टिभी,मोबाईल) विदेशबाट खरिद गरेका हुन्छन्।अनि सोचौँ त्यो टिभी,मोबाइल फोन हाम्रो देशमा बन्छ ? अनि कसरी हामी आर्थिक रुपले समृद्ध बनेका छौ त ? हामीले त मात्र हाम्रो उमेर, शिप र लगनीलाई विदेशमा खेर मात्रै फालिरहेका छौँ।
त्यसैले यतिबेला हरेक राजनीतिक दल र तिनका नेताहरुले सोच्नु पर्ने बेला आएको छ।बेरोजगार समस्यालाई समाधान नगरे सम्म यो देशमा आर्थिक समृद्धी र विकास सम्भव छैन।सरकारले अब श्रम सम्झौता गर्ने देश खेज्ने कि,स्वदेशमै युवाहरुलाई कसरी परिचालन गर्ने भनेर योजना बनाउने ? यो प्रश्न टड्कारो रुपमा उव्जिएको छ । नेताहरुले अब समस्या उठानको राजनीति होइन समस्या सामाधानको राजनीति गर्न सक्नुपर्दछ।युवाहरुलाई भर्याङ होइन उर्जाशिल र उत्तपादनशिल बनाउनु पर्दछ।देशमा २००७ सालदेखि हालसम्म युवाहरुको आड र भरोसामा आफूहरुलाई विश्वकै उत्कृष्ट प्रजातन्त्रवादी भन्नेहरु र आफूलाई माहान् र गौरवशाली क्रान्तिकारी कम्युनिष्ट भन्नेहरुले गरेको आन्दोलन पनि हेर्यौँ तर युवाहरुले भने केहि पनि हात पर्न सकेनन्।
-बेद प्रसाद घिमिरे
खिजिदेम्बा गाउँ पालिका २ओखलढुंगा हाल काठमाडौ
प्रतिक्रिया