आजभोली बर्थडे अथवा जन्म दिन मनाउने चलन सर्वत्र चलेको पाइन्छ।झन यो सामाजिक सन्जालको सहजताले यसले व्यापकता पाएको छ।खासमा जन्म दिन मनाउने चलन कहिले देखि र कहाँबाट शुरू भयो भन्ने तिथि मिति चैँ ठ्याक्कै पाइँदैन।यो दिन,महिना,गते,र बर्ष जस्ता समयलाई गन्ने पात्रो बन्नु भन्दा अगाडि भने चैँ पक्कै पनि थिएन होला भन्न सकिन्छ।किन भने बार,गते, महिना र बर्ष नहुँदा त कहिले जन्मिएको भन्ने हेक्का नै रहँदैन।उहि पहिला पहिला घडी नभएको बेलामा कती बजे जन्मेको हो भनेर सोद्दा घाम अस्ताउन एक जुवा बाँकी थियो भनेर जन्मेको समय नाप्ने चलन थियो।
अब पात्रो चैँ कहिले र कहाँ आविष्कार भयो भन्नेमा पनि एक मत छैन।बेलायतका पुरातत्व विज्ञानका खोजकर्ताका अनुसार सब भन्दा पुरानो पात्रो आठ हजार बिसीमा बनेको थियो।उनीहरुका अनुसार हण्टर एण्ड ग्यादरर सोसाइटी स्कटलेण्डले पहिलो पात्रो बनाएका थिए।पात्रोको शुरूवात त्यस ताका भए पनि जन्म दिन मनाउने चलन ३०० बिसी पूर्वमात्र भएको अनुमान गरिन्छ।३०० बिसी पूर्व फरूह इजिप्सियन देवताको जन्म दिन मनाउँन शुरु गरेको हो भन्ने छ।ग्रिकहरूले आर्टिमिसलाई चन्द्रमाको उपमा दिएका थिए।उनलाई जिवित कुमारी देविका रूपमा सम्मान गर्थे।उनलाई खुशी पार्न चन्द्रमा आकारको केक उनको जन्म दिनमा लिएर जान्थे।कुमारी देवीलाई खुशी पार्न जन्म दिन मनाउन शुरू गरेको हो भन्ने पाइन्छ।प्राचिन रोमबासीले सर्वसाधारणको पचास बर्ष पुग्दा बिशेष प्रकारको केक बनाएर जन्मदिन मनाउन थालेका थिए भन्ने पनि पाइन्छ।उनीहरूले गहुँको पिठो मुच्छेर त्यसमा ओलिभको तेल र मह लगाउँथे अनि त्यस माथि चिजलाई धुलो बनाएर केक बनाउँथे भन्ने पाइन्छ।अठारौँ सताब्दी देखि नै जर्मनीमा आज जस्तै केक काटेर मैनबत्ती बाली जन्म दिन मनाउन थालिएको थियो भन्ने पाइन्छ। फ्रान्सको औधोगिक क्रान्ति पछी गुलिया केक बनाउन थालियो र धनाड्यहरूले जन्म दिनमा गुलिया केक काट्ने चलन चलाए । केक सँगै मैन बत्ती बाल्दा त्यो धुवाँ उडेर भगवान सम्म पुग्छ भन्ने विस्वास भएको पाइन्छ।
सन १८९३मा अमेरिकाको क्यान्टोकीमा एउटा स्कुलका शिक्षिका दिदीबहिनी प्याटी हिल र मिल्डर्ड हिलले स्कुलमा गुडमर्निंङ टु अल गीत लेखेर गाउँन शुरू गरे । १९३३मा ईरभिङ बर्लिन म्यूजिकल बेण्डले त्यो गीत अनुमति बिना नै गायो । हिल सिस्टर्सले कपी राइटमा मुद्दा हाले र उनीहरूको पक्षमा फैसला भयो । पछी १९४२मा रोवर्ट कोलमेनले एउटा गीत संग्रह प्रकाशन गरे । त्यो हिल सिस्टर्सले लेखेको गुडमर्निङ टु अल भन्ने गीत पनि उक्त संग्रहमा संग्रहित भयो । त्यो गीत नै आजको बर्थ डे गीत हुन गयो।
यता पूर्विय धर्म र संस्कृतिका आधारमा हेर्ने हो भने यो जन्म जयन्ती मनाउँने परम्परा हजारौं बर्ष पुरानो देखिन्छ।बैदिक सनातन धर्मको खगोलिय गणना अनुसार सत्य युग १७२८००० बर्ष त्रेतायुग १२१७००० बर्ष द्धापर ८६४००० बर्ष थियो भनिन्छ।त्रेता युगमा अयोध्याका राजा दशरथ थिए।उनका जेष्ठ सुपुत्र राम थिए । उनी चैत शुक्लपक्ष रामनवमीमा जन्मिएका थिए।त्यससमय देखि नै रामनवमीलाई उनको जन्म दिनका रूपमा मनाउन थालियो । आज लाखौ बर्ष पछि पनि चैत्र शुक्लपक्ष नवमीलाई रामनवमी भन्दै भव्यताका साथ पर्वका रूपमा मनाउने प्रचलन छ।त्यस्तै गरी द्धापर युगमा भारतको हाल उत्तर प्रदेश मथुरामा उग्रसेनका छोरा कङशले आफ्ना बाबु उग्रसेनलाई बन्दी बनाएर आफु राजा भए।त्यस समयमा भाद्र कृष्णपक्षमा अष्टमी तिथिका दिन गोकुलमा वशुदेव र देवकीका आठौ सन्तानका रूपमा कृष्ण जन्मिएका थिए।कृष्ण जन्मिएको अष्टमीलाई नै कृष्णजन्माष्टमी भनेर आज सम्म पनि भव्यरूपमा मनाउने चलन निरन्तर छ।बुद्ध जयन्ति मनाएको पनि २६०० बर्ष भै सक्यो।त्यस्तै जिसस्क्राइष्टको जन्मदिन मनाउँन थालेको पनि २१००बर्ष भैसकेको छ।
संसार भरीका राजा महाराजाहरूले जन्म दिनलाई भव्यताका साथ मनाउने चलन चलाए।बेलायतमा सन १७४८मा राजा जर्ज द्धितियको पाला देखि जन्म दिवस मनाउन शुरू गरियो।तोप पड्काएर सलामी दिई भव्यरूपमा जन्म दिनमनाउने चलन शुरू भयो । त्यस पछी क्रमश अरू देशहरुमा पनि यो चलन फैलँदै गएको पाइन्छ।नेपालमा २००७सालको प्रजातन्त्र प्राप्ती पश्चात योगी नरहरीनाथले श्री ५ पृथ्विनारायण शाहकोजन्म पृथ्विजयन्ति तथा एकता दिवस मनाउनु पर्छ भनेर २००९ साल देखि शुरू भयो।त्यस पछी त्रिभुवन जयन्ति तथा प्रजातन्त्र दिवस, महेन्द्र जयन्ति, हुँदै राजा रानीहरूका जन्म दिनहरू देश भरी भव्यरूपमा मनाउन प्रचलन छ।खास गरेर राजा बिरेन्द्रको पौष चौधमा देशभरका विधालयहरूमा भव्यरूपमा खेलकुद गरेर जन्म जयन्ति मनाउने चलन चल्यो।राजा विरेन्द्रको नाममा बिरेन्द्र शिल्डप्रतियोगिता जिल्ला जिल्लामा भए।रानी ऐश्वर्यको कार्तिक २२गते जन्म दिन मनाउँन थालियो।राजपरिवार सँग सम्बन्धित भाइभारदारहरू, सेना, प्रहरी, बिदेशी नियोग आदिमा कार्यरत मानिसहरूबाट पनि यसैको अनुकरण भएको हुनु पर्छ । साहित्यकारहरूका जन्म दिन मनाउँने चलन पनि फैलिँदै गयो।जस्तो भानु जयन्ति देवकोटा जयन्ति पारिजात आदि आदि साहित्यकारहरूका जन्म दिन मनाउने क्रम क्रमशः बढ्दै छ।तर जीवित भएका साहित्यकारहरूको भन्दा दिवंगतहरूको जन्म दिन मनाउने परंपराले गर्दा जीवितलाई महत्व दिन नसकेको आभास भइरहेको छ।देशका लागि, भाषा साहित्यका लागि समर्पित स्रष्टा र द्रष्टाहरूले सम्मान पाउन दिवंगत हुनु नपरोस भनेर आवाजहरू उठ्न थालेका छन् । देशको नाम पहिचान गराउँन योगदान पुर्याउने व्यक्तिहरूको पनि जन्म दिन मनाएर सम्मान दिनु आवश्यक छ । जस्तै बलबाहु अरनिको, भृकुटी, विरवलभद्र कुँवर, अमरसिँह थापा आदि आदि।
जन्म दिन मनाउने क्रमलाई अंग्रेजी तथा हिन्दी चलचित्रको प्रभावले पनि क्रमशः शहरबाट गाउँ सम्म पुर्याएको मान्न सकिन्छ।गाउँ गाउँमा उम्रिएका बोर्डिङ स्कुलहरूले पनि जन्म दिन मनाउँने चलनलाई फैलिन मलजल गरे।टेलिभिजन,फोन,ईन्टरनेटले घरघर हुँदै व्यक्तिव्यक्ती सम्ममा पुर्यायो।सामाजिक सन्जालमा फेसबुक,भाइवर,इन्स्ट्राग्राम,इमो,हुँदै जूमले जन्मदिन मनाउने प्रचलनलाई अझ सन्सारका कुनाकुना सम्म फैलाई दियो।
अरू प्राणिहरू झैं मानिस पनि यस धर्तिमा जन्म लिन्छौँ । आफ्नो सन्तान जन्मिदा हरेक प्राणीहरू खुशीले आल्हादित हुन्छन् । त्यसमा स्वघोषित सर्वश्रेष्ठ प्राणि मानिस प्रफुल्ल नहुने त कुरै भएन । तर मानिसले यस धर्तिमा आफ्नो आगमनलाई शार्थकता प्रदान गर्न सकेका छौँ त ? आफ्नो जन्म भएकोमा परिवार समाज र राष्ट्रको हित हुने कुनै कार्य गर्न प्रयाश गरेका छौ ? समाजमा भएका बिभेदका पर्खाल भत्काउँन प्रयास गरेका छौ ? कि लेखनाथ पौडेलले भने झैँ:-
मैँखाउँ मैँलाउँ सुखसयल वा मोज म गरूँ मैँ बाँचौ मैँ नाचुँ अरू सब मरून दुर्वलहरू भन्ने व्यवहार अवलम्वन गरेका छौँ । जस्तो वर्तमान नेपालका राजनितिक पार्टिका नेताहरू र उनीहरूका उत्तराधिकारीहरूले गर्दैछन्।वर्थडेमा तडकभडक गर्ने, साजसज्जा गर्ने, भिडभाड गराउँने।उपहारमा मुल्यवान बस्तुहरू दिने। उपहार दिनेमा प्रतिष्पर्धा नै गर्ने । कसले के उपहार ल्यायो भनेर उपहारमा मानिसको हैसियत तौलिने जस्ता बिकृतिहरू बढेका छन् । अझ जन्मदिनको आयोजना पार्टिप्यालेसहरूमा गर्ने।आयातित बिदेशी ब्राण्डेड ह्वस्कि,ब्राण्डीहरू मध्यपान गराएर लाखौँ खर्चिने संस्कार थोपरिँदैछ । पार्टिमा लगाउने गहँना र पहिरनमा मान्छेको सम्भ्रान्तताको पहिचान गर्ने चलन बढ्दो छ।एउटा समकक्षी साथीको बर्थडेको भव्यतामा साथीहरू उनीहरूका बाआमा सँग जिद्धि गर्छन् । तुलना गर्छन् र हिनताको मानशिकतामा खुम्चिनछन् ।त्यो अव्यक्त हिनता नै कालान्तरमा सामाजिक बिकृतिको बिज बन्न सक्छ।छिमेकमा मानिसहरू खाना खान नपाएर प्राण धान्ने अन्नको याचना गरिरहेका छन् ।समाजमा प्रति दिन वेरोजगारी र अभावका कारण मानिसहरू मानशिक सन्तुलन गुमाएर इहलिला समाप्त तर्फ उन्मुख हुँदै छन् । झन यो कोरोनाकालको अवस्था अझ विकराल बन्दै गएको छ । तपाईले प्रश्न गर्नु होला एक जनाको जन्म दिन मनाउँदा समाजलाई के फरक पर्छ त । जन्म दिन मनाउँनु पर्छ । त्यसले परिवार र आफन्तलाई नजिक बनाउँछ । भेटघाट गराउँछ । सामाजिक बन्धन र साथीसंगी बिचमा सह्रृदयी बनाउँछ । तर समाजलाई सकारात्मक सन्देश दिने प्रकारले जन्म दिन मनाऔँ । आफ्ना छोराछोरीको जन्म दिनमा आफ्नो आस्था र विश्वास अनुसार पाठपूजा गरौँ।
अष्ठचिरन्जिविको पूजा गरौँ।आफन्त र मान्यजनबाट आशिर्वाद ग्रहण गराऔँ । मिठा भोजन घरमैं तयार गरेर उनीहरूका साथीहरूलाई खुवाऔँ । उनीहरूका साथीहरू सहित अस्पतालमा गएर विरामीहरूलाई जुस तथा फलफूल बाँड्न लगाऔँ।समयले अन्याय गरेका अनाथ तथा असहाय वालवालिकाहरूलाई एक दिन भए पनि खाना खुवाऔँ।उनीहरूलाई लुगा कपडा किनेर दिऔँ । बृद्धबृद्धाहरूलाई लुगाकपडा खाधान्न दिऔँ जसले उनीहरूको मुहारमा मुश्कान छर्न सकोस । यो परम्पराको थालनिले जन्म दिन मनाउँदै गरेका साना वालवालिकाहरूलाई समाज प्रति उत्तरदायी बन्न प्रेरित गर्दछ । आफु जस्तै वालवालिकाहरू प्रति भावनात्मक सम्वन्ध स्थापना गर्दछ । बृद्धबृद्धा प्रति आदर र सम्मानको भाव जागृत हुन् ।आफ्नै जन्म दाताहरू प्रति आदरभाव जाग्दछ।
-सुरेन उप्रेती पाँचथर हाल क्यानडा
प्रतिक्रिया