कथा : लुप्त तृष्णा

दीपक पन्त २०७७ माघ ५ गते ११:४१ मा प्रकाशित

रोहन अर्थात शंकर अनि शांखबहादुर यी तिनै नाम एकै ब्यक्तिका परिचय हुन् । यी नामका आ-आफ्नै परिभाषाहरु रहेका छन् । शंकर नाम,जन्म दाता आमा र बाबाले राखी दिएको नाम हो। उसको जन्म रसुवा जिल्लाको विकट हिमाली गाँऊ बैदिम गाविसमा भएको थियो । प्राचिनकाल देखि ऐतिहाँसिक महत्व बोकेको रसुवागढी नेपाल – चीनको सीमाना नाकाबाट करीव करीव ५ किमी पूर्वमा बैदिम गाँउ छ । शंकर हालको काठमाण्डौं (गाँउले भाषामा नेपाल) बाट भाडा ब्यापारको सिलसिलामा दुर्गम गाँउ आएका बाणा र स्थानीय तामाङ्गी सोनामको मिलनको उपहार थियो ।

ब्यवशायिक सडकको पँहुच नपुगन्जेल सम्म यसरी राजधानीबाट ब्यापारको सिलसिलामा काठमाण्डौंबाट ब्यापारीहरु आउने र स्थानीय जडिबुटीसँग सामान साट्ने परम्परा शताब्दीऔ देखी चलि आएको थियो । शंकरको जन्म पश्चात पनि उसका बाबु हिरामान वर्षको एक पटक करीब ४ वर्ष सम्म त आएकै थिए । तर शंकरको आँखाले जब बाबुको स्नेह अनुभुत गर्ने उमेर भयो। उनका पिताको आगमन बन्द भयो । त्यसैले उसको लालनपालन मामली घरमानै भयो ।

समय क्रम सगै शंकरको नाम स्थानीय लवज अनुसार शंकरबाट तामाङ्गी शैलीमा शांखबहादुर भयो ।

स्थानीय विद्यालयबाट प्रवेशीका पास गरेपछि शंकर उच्च शिक्षाको लागि राजधानी छिरेको थियो। शुरुको तिन महिना त उसले आफ्नो गुमनाम बाबुको खोजीमै बितायो । उसकी आमा सोनामले उसको बाबुको बारेमा उसलाइ दिएको परिचय यत्ति थियो, “ऊनी भाडा ब्यापारी थिए । नाम हिराकाजी डंगोल, घर नेपाल तिर ।”

बिना ठेगाना, केवल अपूर्ण परिचय ,न कुनै तस्वीर, समुन्द्र जस्तो काठमाण्डौं शहर, अनि स्वार्थी संसारको भीडमा शंकरले बाबुको ठेगाना पत्ता लगाउन सकेन ।

दुर्गम गाँउबाट आएको यूवक, रङ्गिन उन्माक्त काठमाडौं शहरका बीच विस्तारै विस्तारै सामिप्यता बढ्न थाल्यो ।

शंकर आफ्नो जीवन शैलीलाइ शहरीकरणमा ढाल्न थाल्यो । गाँउका साथीहरु टाँसी, दावा र तेन्जीङ्ग सँग टाडिन थाल्यो ।

शहरी जीवन शैलीमा रुपान्तर हुन उसले पहिलो हतियार नाम परिवर्तन गर्यो याने कि शंकर र शांखबहादुर बाट ऊ अव रोहनमा परिचित हुन थाल्यो ।

समय आफ्नै गतिमा बगिरहेको थियो । रोहनले यसबीचमा इन्टरमीडियट उत्तीर्ण गरी स्नातक दोस्रो बर्षमा अध्ययन गर्दै थियो । शहरी हावामा आफूलाई पूर्ण समाहित गरी सकेको रोहनको दिन चर्या , अब आफूलाई शहरमा नै केन्द्रित गर्न मनग्य धन कमाउने सोचमा वित्न थाल्यो ।

यसै बीच पूर्वको मोति समुन्द पारीको देश जापानमा नेपाली कामदारको माग भन्ने सूचना आयो ।अध्ययनलाई निरन्तरता दिनु भन्दा धन कमाउनु नै फल प्रदायक हुन्छ भन्ने महसुस गरी जापानीज भाषा अध्ययनको लागि राजधानीको केन्द्रमा रहेको विश्वभाषा क्याम्पसमा भर्ना भयो ।

रोहन र उनको भेट न त कुनै रङ्गिन पार्कमा भएको थियो ,न कुनै लभ स्पट, न त कुनै सिनेमा घरमा। भेट भएको थियो त केवल विशुद्ध सरस्वती माताको मन्दिरमा अर्थात विश्वभाषा क्याम्पसको लाइब्रेरीमा ।

ऊनी अर्थात इशा । आफ्नै सँगीहरुसँग जापानीज भाषामा संबाद प्राक्टिस गर्दै थिइन । उनका साथीहरुमा भाषा सिक्ने रहर भन्दा पनि टाइम पास जस्तो थियो । इशामा जस्तो न त कुनै उदेश्य थियो ,न त लगाम नै ।

इशाले बारम्बार जापानीज भाषामा प्रश्न गर्थिन् । “ यो गेङ्की देशका ?” (तिमीलाइ कस्तोछ?)

साथीभाइबाट जबाफ नआए पछि निराश इशालाई सगैको टेवलबाट रोहनले जबाफ दियो ।“हाइ,वातासिवा गेङ्गकी देस । आनातावा ?” ( हेलो ,मलाइ सन्चै छ ,तिमीलाइ नि?)

जापानी संबादको लागि कसैले साथ दिएकोमा इशाले पुन प्रश्न गरी “ओ नामाय नान् देसका ?” (तपाइको नाम के हो?)

प्रश्न खस्न नपाउदै रोहनले जवाफ दियो ।

“रोहन देस् , आनातावा ?”

(रोहन हो,तपाइको नि?)

इशा देस् ।(इशा हो।) इशा खिस्स हाँसी ।

शहरी मोर्डन युवती इशा साच्चै नै सुन्दरी थिइ । उर्लदो जवानीका बीच आधुनिक पहिरनले इशालाइ स्वर्ग नगरीको अप्सरा झै लाग्थ्यो ।

रोहनको पनि रुपमा कुनै खोट थिएन । हिमाली माटो र चौरीको दुधसँग बालपन बिताएको रोहोन, नेवार र तामाङ्गीको मिलनको उपहार सेतो हिँऊ जस्तै गोरो , अग्लो खाइलाग्दो थियो ।

दिनहरु वित्दै गए । प्रत्येक दिन साँझ ५ नबज्दै रोहन र इशाको भेट कजेलको लाइब्रेरीमा हुन थाल्यो । भाषाको लगामका कारण रोहन भन्दा इशा नै ब्यग्र प्रतिक्षारत हुन्थी ।

सँगै विद्यार्थीहरु उनीहरुका संवादका साक्षिमात्र थिए । विविध भाषा अध्ययन हुने कलेज भएको हुँदा सबै विद्यार्थीहरु आ आफ्नै समुहमा विभाजित हुन्थे । रोहन इशाको ब्यक्तित्व र जवानीसँग नजानिदो तरिकाबाट विस्तारै विस्तारै स्खलित हुदै गएको थियो भने इशा भने ब्यवशायिक विद्यार्थी झै भाषागत प्रक्टिसमा नै ब्यस्त देखिन्थी ।

यदाकदा रोहनले गर्ने भावनात्मक ठट्यौली तथा एकोरो हेराइलाइ भने मृदुल हाँसोले साथ दिएकी थिई ।

थाहै नपाइ कजेलको पहिलो सेमेष्टर करीव करीव सकिने समय आइ सकेको थियो । विगतका केही महिनामा देखि चलेको रोहन र इशाको भेट तथा भाषा प्रक्टीसको सृखला अब अन्त्यतिर आइसकेको थियो ।

यस वीचका भेटहरुले रोहनको मनमा इशाप्रति गहिरो तृणा जगाएको थियो । ऊ खुलेर बोल्न हिच्किच्याउँथ्यो । कर्यौ पटकको भेटमा आफ्ना मनमा आएका प्रेमरुपी ज्वारभाटाहरु ओकल्न नखोजेको पनि होइन । तर कालरुपी समय तथा विविध परिस्थितिले आफ्ना भावनाहरु ओकल्ने अवसर पाएको थिएन ।

केवल भाषा प्राक्टिस सहयोगीको रुपमा नै उसको दिन चर्या वितेको थियो । कयौ दिन प्रेम प्रस्ताव राख्छु भन्ने दृढ संकल्प लिएर गएको रोहन, इशाको अगाडि मनको बाक्य निकाल्न सकेन। आफ्नो प्रस्ताव मनै मन थम थमाएर राखेको थियो ।

कयौं पटक त इशाले म त छिट्टै जापान जादैछु । तिम्रो के विचार छ ? भनेर सोधेकी पनि थिइ । जबाफमा रोहनले भिषा मिलेमा म पनि जान्छु भन्ने गर्थ्यो । तर ती संवादहरुमा को, कहा र कसरीर कहिले ? आदि प्रश्नहरु अनुउत्तरित थिए ।

काल आफ्नै गतिमा दौडिरहेको थियो । हरेक साँझ सात बजेको कक्षा समाप्ति सँगै इशा र रोहन प्रर्दशनी मार्गबाट रत्नपार्क सम्म सँगै जान्थे ।

रत्नपार्कबाट इशा बानेश्वरको बस चढ्थी भने रोहन बालाजुको ।

समय वित्दै जाँदा कलेजको दिनहरु अन्तिम मिति तिर लम्किरहेका थिए । रोहन इशाको प्रेममा चुलुम्म डुबिसकेको थियो । यति सम्म कि दिनको ५ बजाउन उसलाइ अब महिना / बर्ष दिन जस्तोमहशुस भइ सकेको थियो ।

दुबै जनाले भाषमा दक्षता हाँसिल गरिसकेका हुनाले जापानको भिषा पाउने कुरामा रोहन विश्वस्थ थियो । ऊ कल्पनामा हराउथ्यो । इशा ,अब मेरी हुने भइ , मेरी इशा । जापान ,टोकियो, मेरीइशा । अब त ऊ सपनामा पनि बर्बराउलन थालि सकेको थियो ।

इशाको कल्पनामा रम्दा रम्दै आफ्नो धरातलिय यर्थाथमा कहिले काही अल्मलिन्थ्यो रोहन । निकासको खोजीमा गम्भीर भइ सोच्न थाल्थ्यो । ऊ काहाँ ?, विकट गाँउको ठिटो । निशा काहाँ शहरकी सम्म्रान्त परिवारकी केटी ।

फेरि मावली घरमा हुर्कीएको रोहनको विवहा कर्म पनि तामाङ परपरम्परा अनुसार सानैमा मामाकी छोरी पेम्बासँग पुङ खाएको कुरा उसले नसुनेको पनि होइन । भलै उमेरका कारण पेम्बा ऊ सगैछैन् । तापनि इशाको प्रेममा एकोहोरिएको रोहन सारा कुरालाइ तिलाञ्जली दिएर इशालाई आफ्नो बनाउने सपना डुब्न थाल्यो ।

कलेजमा अन्तिम परीक्षाको लागि १४ दिन छुट्टी भयो । यी दिनहरु काट्न रोहनलाइ पौराणिककालमा भगवान रामचन्द्र १४ वर्ष वनवास गए सरह भयो ।

बीचका दिनहरुमा इशालाई सम्पर्क गर्ने ध्ययले इशाको नम्बरमा फोन डायल नगरेको पनि होइन। तर विडम्बना नै भन्नु पर्छ इशा सँग सम्पर्क कायम हुन सकेन । रोहनको छट्पटी सामुन्द्रिक लहरजस्तै छल्किएको थियो । प्रतिक्षाका दिन रात गर्दा गर्दै विदाका दिनहरुले विट मारे ।

भदौ महिनाको १३ गते सोमबार, आज भाषा परीक्षाको दिन । खै किन हो ? खिन्न मन लिए रपरीक्षा केन्द्र तिर लाग्यो रोहन । शायद इशासँगको सामिप्यतामा कमी आएर होला । उसलाई परीक्षाको गर्मीले त्यति छोएको जस्तो देखिदैनन्थ्यो ।

परीक्षा केन्द्रमा दुबै द्वारहरुबाट परीक्षार्थीहरु आउने क्रम चलिरहेको थियो । रोहनको नजर इशाको खोजीमा थियो । परीक्षाको घण्टी बज्यो । इशालाइ देखे बेगर नै रोहन परीक्षा हल भित्र छिर्न बाध्य भयो । तीन घण्टाको समयमा उसले के लेख्यो ? के लेखेन ? खासै ठम्याँउन सकेन ।

उसको मन बेचैनी थियो । इशालाइ भेट्ने बित्तिकै हजारौ प्रश्नहरु तेर्स्याउन लालयित थियो ।

नरोकिने समय आफ्नै गतिमा हुँइकदै थियो ।

एकाएक परीक्षा समाप्तिको घण्टी लाग्यो । निकास थुनिएको दहको पानी जस्तै विद्यार्थीको भेल परीक्षाहलबाट बाहिरियो । रोहन धुमिल सम्म भिडका टाउकाहरु निहाल्न थाल्यो ।

पहाडका टुप्पोबाट पानी बगेसरी क्षण भरमानै परिक्षार्थीको मानव सागर शून्यमा रुपान्तरित भयो ।रोहनले इशाको भेउ पाँउन सकेन । मनमनै प्रश्न गर्यो । आखिर इशा गइ काँहा ? परीक्षामा पनिसामेत भइन त ?

सोच मग्न मुद्रामा अघि बढ्दै जाँदा बाटामा इशाका सँगीहरु देखा परे कृपा,शिलु र प्रिया ।

भारी मनलिएर रोहनले प्रश्न गर्यो “ हैन इशा जाँच दिन पनि आइनन् कि कसो ? तिमीहरुलाई त पक्कै थाह होला, मैले त देखिन नि ?” केटीहरु गलल्ल हाँसे । रोहन लाजले रातो भयो ।

“किन तिमीलाई इशाले केही बताइनन् कि कसो रोहन ?” प्रियाले प्रश्न तेर्स्याई ।

“अह मलाइ त केही थाह छैन । हेर न प्रिया, कलेज विदा भए देखि त इशाले सम्पर्क गर्नै छोडी ,के तिमीलाइ थाह छ ? इशा हाल के गर्दै छिन् ?” रोहनले प्रतिउत्तर दियो ।

केटीहरु पुनः मुसुमुस हास्दै ब्यङ्ग गरे “ए त्यसो भए त मुर्गा भएछौ रोहन तिमी त ।” उनीहरुले विस्तार लगाए ,तिमीलाइ थाह रहेनछ ,इशाको त आज मेरिज इन्गेमेन्ट छ ,होटल सोल्टीमा ।उसको ब्याइफ्रेण्ड विशाल हिजो भर्खर जापानबाट आएको रे । अनि अघिल्लो हप्ता इशाको पनि जापानको भिषा लाग्यो रे ।

विहे पश्चात यहि महिना मानै दुबै हनिमुनका लागि जापान जाने रे । भिषा पनि सजिलै दिएछ त । “नदियोस् पनि किन र ? जापानिज बोल्न, पढ्न अब्वल भइ सकेकी थिइ मोरी, त्यसमा तरोहनको पनि हात थियो नि ,इशालाई भाषा अब्यस्थ बनाउन” प्रियाले थपि ।

दोबाटो आयो ,सँगीहरु दयाभावित हाँसो सहित छुट्टिए । साँझ ५ बजिसकेको थियो । रोहन केहीसोच्न सक्ने स्थितिमा रहेन ।

उसका पाइलाहरु कुन दिशा तर्फ हुइकि रहेको थियो । ऊ आफैलाइ थाह थिएन । गरुङ्गो मन,भारी तन लिएर लम्कदै थियो ।

अचानक उसका पैतालाहरु होटल सोल्टीको गेट तिर मोडियो । इन्गेजमेन्टमेन्टको सहभागीहरुकोभीडभाड थियो । कार्यक्रम अन्तिम अन्तिम तयारीमा पुगेको भान हुन्थ्यो ।

इशा हातमा माला लिएर प्रतिक्षामा थिइ । विशाल सगुनको औठी लिएर लम्कदै थियो ।एकैछिनमा इशाले माला पह्यिाइ दिई। विशालले औठी लगाइ दियो । बधाइका स्वर सहित तालिको गुञ्जयमान भयो । झिलिमिली बत्तीहरु बालिए । रङ्गिन बेलुनहरु फहराइए । क्यामराहरु गतिशिल भए । भिडको एक कुनामा रहेको रोहन पसिना पुछ्दै थियो ।

नयाँ जोडीलाइ बधाई दिने लाइन लाग्यो । रोहन लाइन छलि निस्कन खोज्यो तर सम्भव भएन ।

रोहन बधाइका लाइनमा क्रमश क्रमश गर्दै विशाल र इशा सामु पुग्यो । मलिन स्वरमा रोहनले वाक्य निकाल्यो “केक्कोन ओमेदेतो गोजाइमासु” (विहेको लागि बधाइ छ।)

धन्यबाद ! इशा र विशालले सयुक्त अभिवादन गरे ।

ओहो ! तपाइ त राम्रो जापानीज बोल्नु हुदोरैछ ,रोहन तर्फ इङ्कित गर्दै विशालले प्रश्न गर्यो ।

हो त नि , रोहनले गर्दा त म तिमीले भने जसरी जापानीज भाषामा दख्खल बन्न सके । अनि पो भिषा लाग्यो । सरि, रोहन म अति हतारमा थिए । फेरि विदाको समय परेकाले तिमीलाई इन्गेजमेन्टमा बोलाउन सकिन तर तिमी आएछौ खुशी लाग्यो । अर्को हप्ता विहे छ । जसरी पनि आउनु है । इशाले सहज ढगंले तारिफ गर्दै निम्तो दिइ । पछाडिका भीडहरु बढ्दै गयो । रोहनभीडबाट टाढिदै गयो ।

हतास मन लिएर बाहिरियो अनि थाहै नपाइ गल्लीको बाटो पस्यो । इशाको सहज प्रस्तुतिमा उसले आफ्नो वास्तविकता देख्यो ।

आज सम्मको उसको भ्रम पूर्ण रुपमा हट्यो । आफैले टेकेको जमीन भासिएको आभाष भयो ।

रातको एघार बजी सकेको थियो । शहरका गल्लीहरुमा भुस्याहा कुकुरहरु बाहेक अन्य प्राणीहरु ओत लागि सकेका थिए । रोहन गन्तब्य हिन जसरी अगाडि बढ्दै थियो । आफूले देखेको सपना दुइतर्फी नभएर एकहोरो “लुब्ध तृष्णा” मात्र थियो भन्ने बल्ल बुझ्यो ।

किनकी उसले इशाको आँखामा कुनै पश्चाताप ग्लानीको आभाष सम्म पनि देखेन ।

आज बल्ल उसले थाह पायो केवल भाषा सहपाठ गर्न मात्र इशाले उसँग सामिप्यता बढाएकी रहिछ। रोहन आफैले त्यसमा तृण्णा जगाएको महशुस भयो ।

गन्तब्य हिन पाइलाहरु बढ्दै जाँदा रोहन विष्णुमतिको ढावमा पर्यो । चेतन, अर्ध चेतन भएको उसको स्खलित मन र शरिर ,अर्ध मुर्छित अवस्थामा दलदलमा ढल्यो ।
रात भर चिसो हावाको स्पर्शले समेत रोहनको होस खुलेन । विहानी पख बटुवाको सहयोगमा अस्पतालको बेडमा पुगेको रोहन अर्ध चेतन अबस्थामा नै अस्पतालको वेडबाट चिच्यायो “मेरी इशा, मेरो जापान, मेरो हनिमुन, केबल लुप्त तृष्णा ! सपना जस्तै, लुप्त तृष्णा

!!, लुप्त तृष्णा !!!

दीपक पन्त

मिल्वाकी,अमेरिका

प्रतिक्रिया