दोराखर्क देखि पिके बेसक्याम्प सम्म

राजेन्द्रमान डङ्गोल -नियात्राकार २०७७ मंसिर १८ गते ३:३३ मा प्रकाशित

‘उलेरी बिर्साउने छ रामदिङको उकालो।कलिलो घाममै छिचोलिसक्नू।चुत्थोमा पनि सात घण्टा लाग्छ पिके पीक बेसक्याम्प पुग्न। अँ।अनि,तीन घण्टालाई पुग्ने पानी पनि बोक्नू।ताक्लुङ नुपुगी पानी पाइँदैन।’

अघिल्लो साँझ बिजुली पानीले भित्री शरीर‘स्यानिटाइज’ गर्दै गर्दा अथ्र्याएका थिए देण्डीले।

तीनपानेले कोरोना समेत पखाल्छ भन्ने बुझाइ।क्या बुझाइ हाम्रो।फेरि साबुन पानीले पनि हात धोएकै छौँ के रे।

बिहान सबेरै उठेर नित्यकर्म सक्ना साथ एक कचौरा छ्याङ चढाएपछि सुरु हुन्छ देण्डीको दिनचर्या।‘इनर्जी टोनिक’जस्तै हो यो उनका लागि।बिहानको खाना र दिउँसोको खाजा पछि पनि थप्छन् अर्को एक कचौराको ‘डोज’।यसैले तागत दिन्छ उनलाई लेक–बेसी खेतबारीको काम गर्न,चौँरीको स्याहार र घर धन्दा गर्न ।सुत्नु अघि फेरि एक कचौराले भित्री शरीर सिञ्चित गरेपछि मज्जाको निद्रा पर्छ उनलाई।

उनको अनाहूत बनेका हामीलाई छ्याङ र कोदोको तीन पानेले स्वागत गरे।डेढ वर्षअघि बृटिस टोलीलाई इम्जात्से पिके आरोहण गराउने सिलसिलामा काठमाडौँ आउँदा भेटेको थिएँ उनलाई।लामो समय पछि भेटघाट हुँदा खुसी थियौँ हामी। गिलास नरित्तिँदै थपि हाल्ने शेर्पाको रीति परम्परा निर्वाह गर्दै थिइन् देण्डी पत्नी डोल्मा।फेरि देण्डीलाई साथ दिन त परि’गो।एघार बजेसम्म छोडेका थिएनौँ तातो चुलो र हातमा गिलास।त्यसैले त उघ्रन मानेका थिएनन् आँखाका पलक चाहेको समयमा।तैपनि देण्डीको आँगनमा मिर्मिरे ओर्लेपछि जबरजस्ती उघारेको थिएँ आँखा।भनेकै जस्तो त कहाँ हुँदोरहेछ र।बल्लबल्ल आँखा उघ्रे पनि यसो उसो गर्दैमा समय त भेड्कि हाल्ने।

हामीले यात्राका पाइला नउठाउँदै घामले दोराखर्कको दैलो पोतिसकेको थियो। धर्तीको चमकले आँखा तिर्मिराए पछि कालो चस्मा भिरेर पहाड उक्लेथेँ म,पिके पीक चढ्ने सपनाका फूल फुलाउँदै।

पुग्नु छ–पिके पिके बेसक्याम्प ३,७०० मिटरमा।२,७०० मिटर उचाइबाट पाइला उठाउँने बित्तिकै हलचल सुरु भइसक्छ शरीर भित्रको वायु क्षेत्रमा।हलचल पनि किन नआओस्।देण्डीले भनझैँ अन्नपूर्ण क्षेत्रको घोरेपानी जाँदाको उलेरीको उकालोको याद गराउँदै थियो रामदिङको उकालोले।

कोरोनाको भयले लामो समय म सम्म घर मै थेचारिँदा फोक्सो नराम्ररी चाउरीएको चाल पाएँ मैले।बिरालो रूपी कोरोनालाई मान्छेले बाघको हल्ला फिँजाएर त्रसितै पार्यो विश्वलाई।फलतःपर्यटनमा बेरोजगारी समस्या ल्याइदियो यसले।पर्यटन मजदुरहरू रोग,भोक र शोक–संवेदनाको कालो छाया मुनि बाँच्न विवश छन् यतिबेला।वास्तवमा मान्छेको जीवन कोरोनाकै भरोसामा बाँचिरहेको प्रतीत हुन्छ।हाम्रो देशमा सरकार छ,तर अचैतन्यहरू बसेका छन् उपल्लो तहको कुर्सीमा।एउटा श्रापितले जस्तै सम्पूर्ण व्यथालाई छातीभित्र गुम्स्याएर बस्न लाचार म र म जस्तै कैयौँ श्रमजीवीहरू उनीहरू कै ताण्डव नृत्य हेरेर बस्न बाध्य छौँ।

मलाई थाहा छ–पहाडका तरेली सित लाप्पा खेल्न सहज हुँदैन।धैर्य,आत्मविश्वास र निरन्तरता चाहिन्छ।पहाडकै पिठ्यूँमा उभिएर अग्लिन सक्नु पर्छ पहाडलाई जित्न।पहाडकै धारमा हात्ती लस्केजस्तै लस्कन सक्नुपर्छ पहाड माथि विजय हाँसिल गर्न।यही त हो पहाडको हृतकम्प छाम्ने कायदा पनि।तब मात्र थाहा हुन्छ स्वयम्ले बाँचेको जीवनको सार्थकता।मुटुको धड्कन बढ्न थाले पछि छिनछिनमा रोकिएर लामो श्वास तान्दै हिँडाइ लाई निरन्तरता दिन्थेँ म। ममात्र कहाँ हो र।उही लयमा थिए जयनाथ भण्डारी,आदर्श महत र माधव घिमिरे ‘अटल’को पनि ।

‘यसरी स्वच्छन्द रूपमा प्रकृति विचरण गरिरहन पाए कोरोनाको निसाना सीधै फेक्सोमा परे पनि केही नहुने रहेछ हगि।’‘अटल’जीसँग साउती गरेथेँ मैले।

त्यसो त हतार नै कहाँ थियो र हामीलाई।अरुबेला साथमा विदेशी लिएर जिम्मेदारीका साथ हिँड्ने भण्डारी,आदर्श र म यति बेला निर्बन्ध थियौँ। विना विदेशी पदयात्रा गर्दा पनि छुट्टै मज्जा आउँदोरहेछ।

सुस्तरी पाइला चाल्दै फुस्फसाउँछन् आदर्श–‘विदेशी हिँड्न नसक्ला कि भन्ने चिन्ता छैन।होटलहरूमा कोठा नपाइएला कि भन्ने छैन।कतै भरियाले बदमासी गर्ला कि भन्ने छैन।क्या मज्जा।यात्रा निजी,आनै दिन, आनै मर्जी।बाल मतलब ।’

यस्तो लाग्थ्यो–‘उमङ्ग र खुसीले छचल्किरहेको छ उनको हृदय।’

फुर्सद हुँदा सयर गर्ने हाम्रो यो टोली पुरानै हो;गन्तव्यमात्र नयाँ।एउटै मात्र सहयात्री थपिएका थिए,देण्डीपुत्र पेमा शेर्पा।देण्डी आफैँ आउनेवाला थिए हामी सँग।तर घरायसी कामकाजले नभ्याए पछि छोरालाई हाम्रो साथ लगाए।पेमाको साथ पाएका थियौँ हामीले पथप्रदर्शकको रूपमा।

शरदले ल्याएको स्वप्निल तरङ्ग।पखेरा भरि मुस्कुराइरहेका सुगन्धित फूलहरू। पसिनाले भिजेको मेरो ज्यानमा अत्तर छरि दिए झैँ भान भइरहेको थियो।बुकी फूलको बासनाले त मात चढ्दै थियो म मा।‘साँच्चै यी बुकी फूलहरू सदुपयोग गरेर अत्तर निकाल्ने दिन आउला त नेपालमा।’घाममै सुकीजाने ती फूलहरू देखेर सोच्दै थिएँ म।

कोरोनापछिको पहिलो लामो दूरीको यात्रा थियो त्यो।नौलो लाग्दै थियो,कहिल्यै नटेकेको त्यो भूगोल।नौलो लाग्दै थियो,कहिल्यै नहिँडेको पदयात्राको त्यो गोरेटो। नौलो लाग्दै थियो,प्राकृतिक सौन्दर्य।नौलै कौतूहलता र नौलै अनुभूति।

न्यास्रिइसकेको थिएँ म लामो समय सम्म फुलेको लालीगुराँस नदेख्दा।फुलेको गुराँस नभेटिए पनि सलक्क परेका हरिया पातलाई सुम्सुम्याएँ मैले।लालीगुराँस र खस्रुले छाता ओढाइदिँदा शीतल भएको देह बोकेर राम दिङको थुम्क्याइलो टुप्पो (३,२४४ मिटर)मा पुगेपछि लामो श्वास तान्दै फर्केर दोरा खर्कको तरेली लाई हेरेथेँ मैले।निकै तल देखिन्थ्यो देण्डीको घर।अझ सुन्दर देखेँ मैले दोराखर्क। पहिलेकोे ओखलढुङ्गा,पात्ले – ४, अहिले खिजीदेम्बा–९ भएको छ।पारिलो घाममा तङ्गिँदै थिए,देण्डीको पसिनाको सुवास लिँदै गहुँ,जौ र उवाका दुईपाते सुइरा। त्यहीँ माटोमा नङ्ग्रा खियाइरहेछन् उनी र फलाउँछन् साग,सिमी,आलु र कोइरेमुला ।यहाँ किबी, स्याउ, ओखरजस्ता फलफूलहरू पनि फल्छ भन्थे उनी ।

हरिया पहाड।पहाडका भिरालोमा अडिएका पातला र पारिला बस्ती।पहाडका चेपमा बगिरहेकी मोलुङ खोला।आकाश हेरिरहेका घाँसे थली।ग्रामीण सौन्दर्य पोतिएको छ दोराखर्कको वारि पारि डाँडा पाखामा।एकक्षण एकोहोरिएँ म।

कच्ची सडकका धर्साहरू देखिन्छन् पहाडका छातीमा यत्रतत्र।यिनै धर्साले सामीप्यता ल्याइदिएका छन् लेकाली मनहरूमा।यिनैले जोडेका छन् राजधानीका मनहरूलाई।नत्र मुग्लान सरह नै हो,यहाँका मान्छेका लागि राजधानी।दुई दिनअघि तिनै धर्सा हुँदै आएका थियौँ हामी।

पहुच भएकाहरू काठमाडौँमा बस्छन्।भाग्यले साथ दिएकाहरू विदेश पुगेका छन् ।देन्डी र देन्डीहरू जस्ता मात्रै छन् गाउँमा खेती किसानी गरेर र वस्तु भाउ स्याहारेर बसेका।ऊ पनि नभए दिएको भए त कहाँ सम्भव थियो र हाम्रा लागि यो यात्रा।नत्र कसले पाल्थ्यो र तीन रात हामीलाई दोराखर्कमा यो अनिकालमा।

आकाशमात्र होइन,निलै थिए रामदिङको थाप्लोमा फूलेका फूलहरू।एकरूपता देख्दै थिएँ म धर्ती र आकशको रङमा।न्यानो वायु चलिरहेको थियो।त्यहीबेला दोराखर्कको वायुमण्डलमा तैरिरहेका थिए अनगिन्ती चिल्लौरीहरू।

पसिनाले भिजेको ज्यानलाई रामदिङको पारिलो घाममा सुकाएर उँभो लागेका थियौँ हामी।

उत्तर पश्चिममा देखियो ७,१३४ मिटर अग्लो गौरीशङ्कर हिमालको सौम्य आकृति ।अराध्यादेव शिव र पार्वतीको प्रतीक।नेपाल र चीनको प्राकृतिक सीमास्तम्भ। नेपालको प्रामाणिक समयको आधार बिन्दु।धार्मिक आस्थाका कारणले कसैलाई पाइला टेक्न छुट छैन गौरीशङ्करमा।

दुई वटा सेता चुचुरा छन्–अग्लो र होचो।महादेवको शिरमा गाँठो पारिएको जटाजस्तै लाग्छ अग्लो चुचुरोलाई नियाँलेर हेर्दा । अर्ध नारेश्वरको मूर्तिजस्तो पनि लाग्छ–गौरीशङ्कर हिमाल।

उभोँ लाग्दै जाँदा लहरै देखिए थुप्रै हिमशैल।हेर्दा सबै गोरीशङ्करजस्तै लाग्ने। शिवजीको रूपको विभिन्नता जस्तै–वीरभद्रजस्तो,भैरवजस्तो,नन्दीजस्तो, रिशवजस्तो,सुरेश्वरजस्तो,ऋषी दुर्वासाजस्तो,हनुमान जस्तो,अश्वत्थामा जस्तो, कस्तोकस्तो…… कस्तोकस्तो…….।यी सबै झलकलाई मगजको क्यानभासमा उतारेथेँ मैले।

त्यतिबेला बेसीका भण्डार र गोली लगायतका गाउँ–बस्तीहरूले पनि पहारिलो घाम तापिरहेका थिए।ओखलढुङ्गाको सिमाना भित्र हिँडिरहँदा मैले सुनेको सुन्दर पोकली र रातमाटे झरनाको कल्पनाले रोमाञ्चित थिएँ।सन्त– ज्ञान दिलदास, गायिका–मेलवादेवी र युगकवि–सिद्धिचरण श्रेष्ठको पनि स्मरण भइरहेको थियो। जसै घामको रापले ज्यान गर्मिन्थ्यो,दूधकोशी र सुनकोशीको जललहरमा पौडिन्थ्यो मेरो मन।

पहाडको छातीमा कोरिएको नागबेली पदमार्ग पछ्यायौँ हामीले।सिरसिरे हावामा चल्मलाउँदै थिए, खस्रु र लालीगुराँसका बोटहरू । सुसेल्दै थिए सल्ला र झुल्दै थिए बुकी फूलहरू।सकीनसकी बयेली खेल्दै थिए भुईंचम्पाहरू।बतासको त्यो लय।वनस्पतिहरूको आफ्नै लय।र,लय हाम्रो आफ्नै ।बिछट्टै आनन्दानुभूति भइरहेछ यतिबेला।

ठाउँ ठाउँमा उभ्याएका छन्–ढुङ्गाका माने, मानेवाल र देउराली।चाक्ला चाक्ला ढुङ्गाहरूमा कुँदिएका छन् बौद्ध मन्त्र।ठाउँठाउँमै छन्–स–साना सेता स्तूप र छ्योत्र्तेनहरू।अगाडि बढ्दै जाँदा टुप्लुकिन्छ ठूलै गुम्बा।म अचम्भित भएथेँ निर्जन ठाउँमा गुम्बा देख्दा।लुङ्दा र लुङ्दरहरूले पढिरहेको ‘ॐ मणी पद्मे हु’को आवाजले गुन्जन्छ मेरो श्रुतिपटल।

मेरो मनले भन्यो–बुद्धको आवाजको फैलावट हो यो।हावामै त फैलन्छ आवाज।

झाडीको ओरालो बाटो।लटरम्म फलिरहेको चुत्रो।मुख रसायो।टिप्दै खाँदै।मेरो मुखै सिरिङ्ग भएथ्यो अमिलोले।सुनेको थिएँ–बाथ,पित्त र त्रिदोष जस्ता रोगको निदान गर्छ रे।एक झुप्पा हालेँ गोजीमा।

तीन घण्टा हिँडेपछि पुगियो ताकलुंग ।लाप्चे डाँडा(३,३००)को फेदीको चौरीखर्क हो यो।पिके पीक तर्फको पदयात्रा चल्न थाले पछि गेस्ट हाउस खोलेका रहेछन् पेम्बा शेर्पाले।

सोधेँ– “कत्तिको चल्छ यो रूट ?”

“चार वर्ष यतादेखि राम्रै चलिरा‘को थ्यो।कोरोना आए पछि चाहिँ चलेन।फेरि केही दिन भो नेपालीहरू चाहिँ आइरा‘को छ।

“दाल–भातबाहेक के खुवाउनु हुन्छ विदेशीलाई ?”
“सुप, नुडल्स, पास्ता, फ्राईड राइस र चिप्स।”

माथि बाट नाङ्गो च्याप्सा डाँडा (३,७०० मिटर)ले निहुरिएर हेरिरहेछ हाम्रो आगमनलाई।

सुचियाले स्वागत गरिन् पेम्बाको छोरी छिरिङले।पहिलेपहिले त घाँटी बाट छिर्दैँनथ्यो सुचिया।चिसो ठाउँमा आउँदा सुचिया पिए चिसोले छुँदैन भन्ने थाहा भएपछि पिउन थालेँ।बानी पर्यो। अहिले त मन पर्छ।सुचिया पाए सम्म अर्को चिया पिउँदिनँ म।दूध,घ्यू,नुन,चिया पत्ति र गहुँ वा मकैको पिठो हालेर बनाइएको हुन्छ यो।खुब ताकत दिन्छ यसले उकाले चढ्न।

पेमाले पहिले नै फोन गरेर दाल–भातको व्यवस्था गर्न लगाइसकेका थिए।मेरो आँखा पर्यो चाल्नुमा राखिएको ताजा बरेलामा।हामी बरेला भन्छौँ;चुच्चे करेला भन्छन् उनीहरू।साह्रै स्वादिलो हुन्छ लेकमा उब्जेको बरेला।सोचेँ–आहा,बरेलाको तरकारी खान पाए!

“तरकारी के पकायौँ त छिरिङ ?”
“सुकाएको मशरूम।”
“अलिकति चुच्चे करेला पकाउन मिल्छ कि ?”
“पकाइदिन्छु नि त।”

सल्लेरीको स्कुलमा नौ कक्षामा पढ्छिन् उनी।कोरोनाले स्कुल बन्द भएपछि गाउँ फर्केर बाउ आमाको काम सघाइरहेकी छिन् उनी यतिबेला।

छिरिङले बरेला पखाल पुखुल पारिन् र च्यातेर ताउलोमा ओल्छ्याइन् । सुचिया पिईसक्दा ढाड भाँचिइसकेको थियो बरेलाको।दाल–भातसित बरेलाको तरकारी पाउँदा बिछट्टै खुसी भयो मेरो भोक।

अझै चार घण्टा हिँड्नु छ।दिन परेको छ छोटो।घाम नडुब्दै गन्तव्य छिचोल्न नसक्ने हो कि भन्ने चिन्ता छ मनमा।पारिलो घामलागेको ताक्लुङको चौरमा धेरैबेर लडिबुडी गर्न पाएनौँ हामीले।प्रकृतिको सौन्दर्यमा डुब्दा क्षण भरमै ज्यानले पुनर्ताजगी पाएको महसुस भएथ्यो।चउरमा उत्तानो परेर आँखाको सागरमा सम्पूर्ण आकाश गङ्गालाई अटाएको थिएँ मैले।

फेरि उकालो।

छिरिङले दिएको छुर्पी चपाउँदै बाटो ततायौँ हामीले।बाटोमा भेटिन्छ रसिलो पहरा ।पहराभरि थुप्रो लगाइएको छ खादाको।न देउराली,न कुनै छ्योत्र्तेन वा गुम्बा। राता,सेता,पहेँला,हरिया खादाहरू चढाइएका छन्।अचम्म।

सँगै हिँडिरहेका पेमासित जिज्ञासा राखेँ मैले–
“यो पहरामा खादा चढाउनुको कारण ?”

“यो मोलुङखोलाको शिर हो।खोला कहिल्यै नसुकोस् भनेर पूजा गरेको।”

हो त नि।प्रकृति पूजक पो हौँ त हामी।प्रकृतिमा लठ्ठिएको चेतना हठात् ब्यूतेथ्यो ममा।

आगो,पानी,वायु, ढुङ्गा र माटो सबै कुरा देउता हुन् हिन्दु र बौद्धमार्गीहरूको । यतिमात्र कहाँ हो र।हामीमा यतिसम्म अन्धविश्वास छ कि–कुनै ढुङ्गा वा पहाडको आकृति शिवसँग मिल्यो भने शिव मानेर पूजा गछौँं।जुत्ताजस्तो आकृतिको ढुङ्गो देख्नेबित्तिकै पद्मसम्भवको खुट्टा भन्छौँ।कुनै पहाडको आकृति बुद्धजस्तै लाग्नेबित्तिकै बुद्ध मानेर खादा चढाइहाल्छौँ।

मोलुङसित जीवन गाँसिएको छ कैयौँ जीवहरूको।सुक्यो भने त बर्बादै हुन्छ। अहिले त झन् बिजुली निकालिँदै छ मोलुङबाट।उज्यालोको द्योतक मोलुङखोला निर्बाध बगिरहोस् भन्ने कामना गरेँ मैले।

निरन्तर जारी छ उकालो।जतिजति उचाइ चुम्दै गयो,त्यतित्यति नै अनुपम लाग्छन् दृश्यहरू।रम्दै छौँ हामी रमणीय प्राकृतिक परिवेशमा।

आधा घण्टा लाग्छ भनेका थिए पेमाले।एक घण्टा पो लाग्यो ल्हामुजे बुद्धको अर्को थुम्को छिचोल्न।यसै गरीगरी अर्को तीन घण्टा हिँड्नु छ अझै।मेरा घुँडा र छेपारीले ऐया भन्न थालिसकेका छन्।

यतिबेला ओखलढुङ्गाको सिमाना काटेर सोलु प्रवेश गरिसकेका छौँ हामी।

ठूलै स्तूप छ ल्हामुजे बुद्धमा।महिलाको नाकको फुलीले शोभा दिएजस्तै शोभा दिएको छ थुम्कोमा अवस्थित स्वेत स्तूपले।मुकदर्शक भएर हामीले एकक्षण नियाल्यौँ स्तूपलाई।

‘यो प्राचीन बस्ती हो र यो पुरानो स्तूप हो।’ स्तूपका आँखाको भाषा बुझे मेरा आँखाले।आँखाको भाषा बुझ्ने नै आँखा हो।आँखाकै भाषा पो शक्तिशाली हुँदोरहेछ ओठले बोलेकोभन्दा।

ल्हामुजेमा टाँगिएका लुङ्दरहरूले सिर्जना गरेका थिए उही‘‘ॐ मणी पद्मे हुँ
’को पवित्र धुन।आहा। क्या आनन्द।

“महोदयहरू। साथीहरू अब त लम्कनै पर्छ । नत्र पिके बेसक्याम्क पुग्नलाई बत्ती बाल्नुपर्ला।” तातो लगाएँ मैले सहयात्रीहरूलाई।

“अबको डेढ घण्टासम्म बाटो सजिलो छ।अर्को आधा घण्टा तेर्पे उकालो। त्यसपछिको आधा घण्टाको अन्तिम उकालो चढ्ने छौँ।बाँकी आधा घण्टा सजिलो छ।” जानकारी गराउँछन् पेमा।

लम्कन्छौँ हामी।

अगाडि आउँछ– टाप्टिङको च्याप्सा होटल।पाइला नाप्दै जाँदा भेटिन्छ धापबाट आउने बाटो जोडियो हाम्रै बाटोमा।देण्डीले भनेका थिए– “धापबाट झाप्रे हुँदै पिके पीक बेसक्याम्प पुग्न सकिन्छ । पिके पीक चढेपछि जुनीबेसी हुँदै फाप्लुबाट जहाजमा काठमाडौँ फर्कन पनि सकिन्छ।”

जिरीबाट सल्लेरी हुँदैँ अर्को विकल्प पनि छ पिके पिक पद यात्रा मार्ग।

अस्तिको दिन खुब सकस काटेका थियौँ बाइकमा आउँदा।दुईसय किलोमिटर हो काठमाडौँबाट देण्डीको घरसम्मको दूरी।साठी किलोमिटरको कच्ची सडकले छ घण्टा खाइदियो । बिहान पाँचबजे काठमाडौँबाट हिँडेका हामी बेलुकी सातबजेको थियो देण्डीको घरपुग्दा।बाइक चढेर फनफनी घुमेका थियौँ खिजीदेम्बा गाउँपालिकाका पहाडहरूमा।मूर्खता रहेछ लामो दूरीमा बाइकमा यात्रा गर्नु।कम थिलथिलो भएन ज्यान।हिरो होन्डा, त्यो पनि डबल लोड।जे होस् सम्झनलायक भयो ‘एडभेन्चर’।अब त कान समातेँ मैले।

ओइलाउँदै थियो दिन।सामसिङ पुग्दा घामलाई छेकेथ्यो बादलले।चौँरीको चरन क्षेत्र पनि हो यो।अलि अगािड पुगेपछि जम्काभेट भयो लामो मानेवालसित। हिमालको लहरजस्तै रहेछ यो ठाउँमा मानेहरूको लहर।अहिलेसम्म देखेका सबैभन्दा लामो मानेवाल थियो त्यो।मानेवाल सँगै थियो सानो स्वेत स्तूप।बौद्ध आस्थाको उच्च विम्ब र उही प्रतीकवादीहरूको श्रद्धाको चिनु।

फराकिलो चउरको बीचमा उभ्याइएको छ मानेवाल । बटुवाहरूले थाकेको ज्यानललाई विश्राम दिने ठाउँ नै हो यो।मनले त बसुँ भन्दै थियोे तर कडा हावाले झापड हानिरहेको थियो गालामा।पेमाले भनेझैँ तेर्पे उकाले चढिरह्यौँ हामी उनकैै लयमा।

लामै रहेछ वनको बाटो।उनले भनेको अन्तिम उकालो पनि आइपुग्यो।अप्रतिम सुन्दर देखिन्थ्यो पश्चिम आकाशमा डुब्नै लागेको घामको पृष्ठभूमिमा त्यो आधा घण्टाको उकालो चढेपछि भेटिएको मानेवाल र प्राकृतिक आकृतिका शिलाहरू। र,बिस्तारै खात लाग्दै गए गोधूलिका पत्रहरू।

“उः त्यही हो हामी पुग्ने ठाउँ।” अलि पर देखिएका घरका छानाहरू देखाउँदै पेमाले भने।

दिनभरि वनमा चरेका चौँरीहरू खुरले धुलो उडाउँदै खर्कतिर फर्कर्ने बेलामा हामी पिके पिक बेसक्याम्पको छेउछाउमा तातेताते गर्दै थियौँ।

स्वाँ स्वाँ बढिरहेको थियो।मेरा घुँडा नली खुट्टा र कुर्कुच्चाले विलाप गरिरहेका थिए।नजिकै देखिए पनि आधा घण्टामा पुग्न सकिएन पिके पीक बेसक्याम्प। गोरेटोमा चकमन्नता विच्छ्याइरहेथ्यो गोधूलि साँझले।निस्पट्ट अँध्यारो भइसकेको थियो माउन्टेन भ्यू लज छिर्दा।

-राजेन्द्रमान डङ्गोल

२०७७। ०७।२२

 

प्रतिक्रिया