रुसमा बनेको कोरोना भाइरस बिरुद्ध खोप २ कराेड ५० लाख नेपाल आउदै

इनेप्लिज २०७७ असोज १४ गते ०:१७ मा प्रकाशित

काठमाण्डाै – रुसले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–५ नामक खोप नेपाल ल्याउनका लागि सहमति भएको छ । दुई करोड ५० लाख खोप नेपाल ल्याउनका लागि रसियन टाइरेक्ट इन्भेस्टमेन्ट फण्ड (आरडीआईएफ) र नेपालको ट्रिनिटी फर्मास्युटिकल्स कम्पनीबीच सम्झौता भएको आरडीआईएफ विज्ञप्तिमा जनाइएको छ ।

रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डले आफ्नो खोप विश्वभर निर्यात गरिरहेको छ। फन्डले भारतमा पनि एक सय मिलियन डोज भ्याक्सिन पठाउने बताइसकेको छ। यो भ्याक्सिन भारतमा पनि परीक्षण हुने क्रममा रहेको छ।

रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको स्पुतनिक–भी भ्याक्सिनलाई केही समय अगाडि मात्र त्यहाँको सरकारले प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो।

यो सम्झौताले नेपालको ९० प्रतिशत जसङ्ख्यासम्म स्पुतनिक–५ खोपको पहुँच पुग्ने र त्यहाँ रहेका क्लिनिकहरुलाई सुरक्षित र प्रभावकारी रुपमा कोरोना भाइरसको खोप उपलब्ध हुनेछ ।

यो खोपको रोग-विषयक (क्लिनिकल )परीक्षणका क्रममा कुनै प्रतिकूल असर नदेखिएको बताइएको थियो । यो खोप सुरक्षित देखिएको र मानिसको प्रतिरक्षा प्रणालीलाई थप बलियो बनाउने सङ्केत दिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका थिए ।

पुटिनले उक्त खोप आफ्नो छोरीमा पनि परीक्षण गरेको दाबी गरेका थिए। तर तेस्रो परीक्षण नगरी खोप प्रयोगका लागि स्वीकृति प्रदान गरेका कारण विज्ञहरुले रुसी कार्यको आलोचना गरेका थिए।

एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोपलगायतका ५० भन्दा धेरै देशले स्पुतनिक–५ को लागि आवेदन दिएका थिए । आरडीआईएफले यसअघि मेक्सिकोमा तीन करोड २० लाख, ब्राजिलमा पाँच करोड, भारतमा दश करोड र उज्वेकिस्तानमा तीन करोड २० लाख खोपको लागि सम्झौता भइसकेको बताएको थियो ।

सम्झौतापछि आरडीआईएफका सीईओ किरिल दिमित्रेभले भने ‘ट्रिनिटी फर्मास्युटिकललाई सम्झौताका लागि धन्यवाद, नेपालका झण्डै ९० प्रतिशत जनसङ्ख्यालाई स्पुतनिक–५ उपलब्ध गराइनेछ ।’

ट्रिनिटी फर्मास्युटिकलका निर्देशक किशोर अधिकारीले भने ‘रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्डसँग सहकार्य गर्न पाउँदा खुसी छौँ । ट्रिनिटी स्पुतनिक–५ को अन्तिम परीक्षणको नतिजा कुरिरहेको छ । नेपाल सरकारले मञ्जुरी दिएलगत्तै खोप उपलब्ध गराइनेछ ।’

प्रतिक्रिया