१.
राजनीतिको जालझेलमा जनता मोहोरा बनेका छन्
राजनीतिको छलकपटमा जनता बेसहारा बनेका छन्
स्वार्थको फोहोरी खेलले प्रजातन्त्रको दोहन भएको छ हजुर !
राजनीतिको जोरघटाउमा जनता कमजोर बनेका छन् ।
२.
तिमीले सियो बनेर घोची रह्यो मैले सहि रहे
तिमीले खुकुरी बनेर रेटी रह्यो मैले सहि रहे
विवशताको मजा लिइरहेका छौ मित्र !
तिमीले भाला बनेर रोपी रह्यो मैले सहि रहे ।
३.
सिर्जना गर्ने केही होइन तर घमण्डको खेती गर्छ
लछरपाटी केही लाउने होइन तर घमण्डको खेती गर्छ
चितामा जलेको दिन खरानी हुन्छ तर पनि घमण्ड गर्न छोड्दैन मान्छे !
मानवीय व्यवहार गर्ने केही होइन तर घमण्डको खेती गर्छ ।
४.
आफै खाल्डो खन्छ र अर्कोलाई दोष दिन्छ मान्छे
आफै षडयन्त्र रच्छ र अर्कोलाई दोष दिन्छ मान्छे
अरुलाई दोष थोपरेर कति नकचरो बन्न सक्छ मान्छे
आफै जालझेल गर्छ र अर्कोलाई दोष दिन्छ मान्छे ।
५.
तिमी आगो हुँदा म नै खरानी हुनु पर्ने
तिमी खुकुरी हुँदा म नै बली चढ्नु पर्ने
रहेन कति पनि समवेदना हिजोआज हजुर !
तिमी बल्छी हुँदा म नै जालमा पर्नु पर्ने ।
६.
अङ्गालो हाल्दैमा सबै मित्र हुँदैनन
संगै हिंड्दैमा सबै मित्र हुँदैनन
स्वार्थको मोलाहिजामा लागेकाको विगविगी छ
संगै रक्सी पिउदैमा सबै मित्र हुँदैनन ।
७.
कसैको मोहोरा भएर नग्न प्रहार गर्छ मान्छे
कसैको इसारामा दुर्व्यवहार गर्छ मान्छे
विवेक नभएकाहरुले सत्य पनि कुल्चिन्छन हजुर !
कसैको उक्साहटमा बदनाम गर्छ मान्छे ।
८.
सिधा हिंड्छु भनेर हुन्न घुम्ती आएपछि
संगै हिंड्छु भनेर हुन्न स्वार्थले छुट्टिएपछि
स्वार्थको जालझेल अचाक्ली भयो हजुर !
एकोहोरो माया लाएर हुन्न बाटो मोडिएपछि ।
-राधेश्याम लेकाली
प्रतिक्रिया