नपाल्नु परेवाहरू
पालि नै सकेपछि त दिनै पर्छ चारो
बेल झ्याप्पै पाकेको हेर्छ काग
फगत हेर्छ
सक्तैन निचोर्न
छतका परेवा बिचरा चारो
कोपर्न सक्तैनन् सिमेन्ट
ताबिज झुण्डाँउनेहरू
मञ्चसम्म पुगेर कुनै लट्ठैतको हातबाट लड्काइ मागे घाँटिमा
दिवसहरू ऋतुसरि आए गए
नत पालुवा फेरियो
नत बर्षाले गजगज हिलिएको खेत जस्तो
सडकमा धानै रोपियो
घुँडा सम्म सारी सुर्कँदा कठै
लाज चुहिएला बजार अघिल्तिर भन्ने डर
दिनहरू पनि किन खस्छन्
घाम बोकेर आौंशी घोप्टिनुनि बरू भन्दै बाटो काट्छन् बिचरीहरू।
तमासा हेरिरहन्छ लट्ठैत
अर्को सालको जन्तर लाईदिन नाम गन्छ आौँलामा
नत छतका परेवाले चारो भेट्छन्
नत कोरोनाले डसेका भुराभुरीले
आौषधी नै भेट्छन्
टेण्डर पछिको अर्को टेण्डर खुलिरहन्छ
आकाशमा हेलिकप्टर सयर गर्छन्
बिदेश गमन हुन्छ लट्ठैतहरूको।
खेल चलिरहेको छ मैदानमा
मजदुर किसानकै नाममा
तर दर्शक बन्न पनि खल्ती खालिछ
खेल हेर्न त पाप गोजीमा भर्नुपर्छ
परेवाको चारो
सडकमा राख्ने अलकत्रको कालो ।
परेवा पालेपछि दिन पर्ने चारो
दँइदैन तर
हालिन्छ ढुकुटीतिर लट्ठैतको।
ऋतुहरू आए गए
दिवसहरू आए गए
पाकिरहेछ बेल
हेरिरहेछ रमिता काग।
उदय निरौला
प्रतिक्रिया