काेमल हातले उघारेर
परकाे क्षितिज
एक चाेक्टा उज्यालाे बाेकेर
एक दिन
तिमी अवश्य आँउँछ्याै भनेर
ताराहरूलाई न अस्ताई तिम्राे बाटाे
हेर्न लगाएँ
ताराले हुन्छ नि भन्दै चमक चमक आँखा उघारे
जून लाई आँखा नझिम्काई
तिम्रा आँखाहरूकाे देखभाल गर है भने
जूनले गरूँला नि है भन्दै गाेलाकारमा आएर हाँसे
सूर्य लाई प्याराे घामले उनका पाउहरू सेक्नू है भने
सूर्यले नदुख्ने गरी नपाेल्ने गरी सेकूँला नि है भन्दै शरदकाे आभास दिए
ती परका डाँडाहरूलाई त्यहाँ भन्दा कहिल्यै नअग्लिनू है भनें
डाँडाहरूले हुन्छ नि उनलाई अप्ठ्याराे पार्दैनाैं नि भन्दै ध्यानमुद्रामा बसे
जङ्गलका रूखहरूलाई
शीतल मात्र दिनू काँडाहरू लुकाइ राख्नू है भनें
रूखहरूले पनि हुन्छ भन्दै फरफर पात हल्लाइदिए
आकाशमा बेफिक्री उड्ने ती चरालाई
उनकाे हालखबर बुझिरहनू
सन्चाे बिसन्चाे खबर ल्याइरहनू भनें
चराले पनि चिर्बिराउँदै हुन्छ हुन्छ काे गीत गाए
सिमलकाे सेताे काेमल भुवालाई
उनका पाउहरू एक पटक छाेएर आउनू है भनें
भुवा पनि हुन्छ भन्दै तिमी भएकाे बाटाे तिर उड्दै गए
बत्ती बाल्दै गरेकाे जूनकीरीलाई
उनी आउने बाटा भरि उज्यालाे थप्नू है भनें
उसले पनि छिटो छिटो पिल्पिलाउँदै तिमी तिरै पखेटा चालेर उडे
मधुर हावालाई कहिल्यै उनकाे साथ नछाड्नू है भनें
उनले पनि गति बदल्दै तिम्रै बाटाे तिर साेझिंदै गए
हाे सृजा,
मेरा ननिदाएका आँखाभरिका सपना यिनै त हुन्
यी मेरा नबिराई धड्किएका छातीका सपना यिनै त हुन्
तिमी बाटाेमा अलमलिनु हुन्न सृजा
तिमीलाई छेक्ने कुनै रात उदाउनु हुन्न अब
अब कसैकाे छातीमा पनि प्रतिक्षाकाे बाँध बाँकी छैन प्रिया
नपत्याए आँखा खाेल त
उड्दै उड्दै
सेताे सिमलकाे भुवा च्यापेर
तिम्रै बाहुमा बसिसक्याे कि त एउटा सानाे चरी ।
सायद त्यही चरी हुनुपर्छ
मेरै आँखाकाे आकाश माथि एउटा बिहानीकाे गीत गाइरहेछ ।
-जगन्नाथ पाैडेल, भर्जिनिया अमेरिका
प्रतिक्रिया