यो हप्ता चर्चामा : लकडाउन, अमेरिकन आइडलको फाइनल, नेपालको नयाॅं नक्सा र नेपालीको राष्ट्रियता अनि एकता

शशी के.सी २०७७ जेठ ८ गते ०:०७ मा प्रकाशित

हामी प्राय: नेपालीका चाहना र सपना धेरै ठुला हुॅंदैनन् ।हामी सानो कुरामा पनि छिट्टै खुशीले रमाउन सक्छौं। त्यस्तै कोही दीन दु:खीको दयनिय अवस्था देख्दा अनायसै भावुक भएर ॲाशु खसालि दिन्छौं। हुन त संसारमा हामी ‘साहसी र बिर गोर्खाली’ भनेर पनि परिचित छौं। हामी आफुलाई दिइएको जिम्मेबारी, सॅंधै लगन, मेहेनत र इमान्दारितापुर्वक पुरा गर्न ज्यानै सम्म दिन पनि तयार हुन्छौं।

त्यस्तै अर्को रमाइलो पक्ष्य नेपालीको, हाम्रो राष्ट्रियता र एकता हुने तरीका, जुन गज्जबको छ। जब कुनै नेपालमा भएको वाहुने ‘रियालिटी सोहरूमा’ भाग लिएका सहभागीलाई जिताउनु पर्यो भने सबै उत्तिकै राम्रो, सक्षम भए पनि उनीहरू मध्यबाट‘हाम्रोपन वा भनौं आफ्नै जातीयपन,आफ्नै क्षेत्रियपन, टोल, गाॅंउ, जिल्ला’ आदी कुरालाई अन्जानमै ध्यान दिन्छौं र‘राम्रालाई भन्दा पनि आफ्नालाई’ भोट दिन्छौं। त्यो बेला हामी बाॅंडिन्छौं।तर कोही नेपाली ‘अन्तराष्ट्रिय कार्यक्रममा’ भागलिएको छ भने सारा संसारका नेपाली एकजुट हुन्छौं र जसरी हुन्छ जिताउन कोशिश गर्छौं।

यसरी सबै एकजुट भएर तिन जनालाई ‘सि.एन.एन हिरो’ बनायौं, एकजना नेपाली भाषी- भारतिय नेपालीलाई ‘इन्डियम आइडल’ र ‘डान्स इन्डिया डान्स लिटल मास्टर्समा’ एक नानीलाई जितायौं। त्यस्तै ‘मिस नेपाल’ लाई ‘मिस वल्ड’ बनाउन निरन्तर बर्षै पिच्छे लागिरहन्छौं। हुन त उनीहरु पनि उत्तिकै ‘सक्षम’ थिए ती उपाधीहरू पाउन।

सुखमा मात्र हैन, दु:ख पर्दा पनि सबै नेपाली एकजुट हुन्छौं। कोही बिदेशतिर नेपाली आपत बिपतमा पर्दा सहयोग स्वरूप‘ गोफन्डबाट’ पैसा उठाई दिन्छौं। नेपालको भुॅंइचालो पिडित, बाढीपिडितहरूलाई सहयोग गर्यौं र अहिले लकडाउनले खान नपाएका, अलपत्र भएका, भोकमरी पिडितहरूलाई आफुले सक्ने राहत, पैसा संकलन गरेर संसारभरबाट पठाउॅंदै छौं।

यतीखेर पनि कोरोना भाइरसको कहर र लकडाउन जारी छ संसारभरी नै। कति नेपालीहरू बिदेशमा र कति चाहीं नेपालमा बिंदेश जान नपाएर अलपत्र छन्।त्यस्तै केही दिन अगाडी सम्म अन्य देश र अमेरिकामा अवस्था भयावह हुॅंदा, नेपालमा कहरकमै थियो। ढुक्क जस्तो लाग्थ्यो। ओहो। यो एकहप्तामा त संक्रमितको संख्या पनि ह्वात्तै बढ्यो र दुइ जनाको मृत्यु पनि भयो । अब त नेपाल पनि सुरक्षित रहेन यो अदृष्य भाइरसबाट।

अबको समय भनेको अझै सतर्कता अपनाएर बच्नु हो। कोरोना भाइरस लाग्नेहरूले पनि लुकाउनु भएन। क्वारेन्टिनमा बस्नु पर्नेले घरमै मिलाएर वा केन्द्रमा छुट्टै बस्नु पर्यो। निको कसरी हुने वा अरू कसरी निको भए बुझ्नु पर्यो। समाजले पनि दोष देखाएर, छि छि, दुरदुर नगरि सहयोग गरेर बिरामीको मनोबल बढाउनु पर्यो। लाग्दैमा मरि हालिने पनि हैन। अझ नेपालमा त सबै जसो निको भएका छन्। त्यस्तै स्वास्थ कर्मीलाई पनि घर, टोल आउन नदिएर दु:ख दिनु हुॅंदैन।

लकडाउनमा अहिले घरभित्र नै सीमित हुॅंदा, सोच्छु, धन्न इन्टरनेट, फेसबुक, युट्युब,मेसेन्जर, टेलिभिजन,फोन, कम्प्युटरआदीको आविष्कार चाहीं बेलैमा भएको रहेछ। एकै छिनमा बाहिरी संसारको हाल खबर थाहा पाउन सकेका छौं। यो हप्ताचाहीं संसारभरका हामी नेपालीलाई दुई कुराले केही व्यस्त, उत्साहित, खुशी र गौराम्भित बनायो। पहिलो- मे १७ कोअमेरिकन आइडलको फाइनलमा’ नेपाली मुलको दिबेश पोखरेल’ दोस्रो हुनु। दोस्रो – मे १८ मा नेपाल सरकारले‘कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नयाॅं नक्सा’ निकाल्नु।

हुन त सन् २००२ देखि शुरू भएको हो ‘अमेरिकन आइडल टेलिभिजन सो’। केही बर्ष त खुब हेरिन्थ्यो। अहिले त लगभग हेर्ने छोडेर बरू ‘नेपाल आइडल’ हेर्ने गर्थ्यौं। यो बर्ष नेपाली युवा ‘दिबेश पोखरेल वा अर्थर गन’ ले भाग लिएको छन् भन्ने थाहा पाए पछि फेरी हेर्न थाल्यौं। हेर्नु मात्र हो र उसलाई जिताउन एकजुट भएर भोट हाल्न सम्म हालियो। जब उनी पहिलोपटक ‘सो’ मा देखा परे, पातलो, हॅंसिलो, २१ बर्षे ठिटो, अझ उसले ‘नमस्ते’ गरिदिदाॅं त सबैको मनमा नेपाली हुनुको गर्व उर्लेर आयो।

ओहो एक किसिमको हप्तैपिच्छे आउने उत्सव जस्तै, कहिले आउला ‘सो’ र उसले यो हप्ता कुन गित गाउलान् भनेर कुरेर बसिन्थ्यो। गित पनि सॅंधै राम्रो गाउने र मे १७ को फाइनलमा पनि दुईवटै गित धेरै राम्रो गाएका थिए। त्यस्तै , हामीले पनि‘जमेर भोट’ दिएकोले जित्लान भन्ने पक्का नै जस्तै लाग्याथ्यो। तर एउटा उखान छ नी ‘रात भरी करायो दक्षिणा हरायो’ अन्तिममा उनी दोस्रो भए। हुनत, तेत्रो ‘ठुलो रियालिटी सो’ मा नेपाली मुलको युवा दोस्रो स्थानसम्म पुग्नु पनि अत्यन्त गर्वको कुरा हो। तर जिताउन सकेको भए झन गज्जबै हुन्थ्यो। खैर, उनमा अत्यन्त राम्रो गाउने प्रतिभा/ क्षमता छ। सफलको शुभकामना छ एक फ्यानको तर्फबाट।

यसरी मन खिन्न पारेर सुतेको आइतबार राती, सोमबार बिहान मे १८ मा ‘कालापानी,लिपुलेक र लिम्पियाधुरा सहित चुच्चोजोडिएको नेपालको नयाॅं नक्सा’ देख्दा त मन खुशी भयो फेरी। हुनत नेपालको जमिन भारतले लग्यो भन्ने कुरा त उठिरहेको हो धेरैपटक। त्यस्तै बिभिन्न आन्दोलन, चुनावी नारा पनि सुनिएको र भएको हो। तर नढाॅंटी भन्दा यो चुच्चो जोडिएको नेपालको नक्सा न कतै स्कुलको भुगोलमा पढियो न नक्सैमा देखियो। बरू बुबाहरूले २०१३-१४ सालतिर योचुच्चो सहितको नेपालको नक्सा भुगोलमा पढ्नु भएको रहेछ। ३५ वटा जिल्ला हुॅंदासम्म थियो रे नक्सामा चुच्चो तर जबचौध अंचल, पच्चहत्तर जिल्ला भयो, चुच्चो गायब।

यसरी जमिनको समस्या बेला बेलामा आउॅंदै, सेलाउॅंदै गर्थ्यो। पोहोर जब भारतले उनीहरूको नयाॅं नक्सामा नेपालको भाग राख्यो। अनि फेरी हलचल मच्चियो।नेपाली सबैको ‘राष्ट्रियता जागेर’ आयो। सबै सहे पनि भारतको वा अरू कसैको थिचोमिचो त सहन सकिन्न नी कुनै स्वाभिमानी नेपालीले। आन्दोलन, बिरोध प्रदर्शन, बहस शुरू भयो। त्यस बेला पनि नेपाल सरकारलाई हाम्रो’नयाॅं नक्सा’ बनाउन जन दबाब त दिएको हो। तर सरकारले ‘कानमा तेल हालेको’ जस्तै सुनेको नसुनै गर्यो।यही अमेरिकाको ‘ह्वाइट हाउस’ अगाडी पनि नेपालीले ‘बिरोध प्रदर्शन’ गरे।

त्यसपछि नेपालमा चाडबाड आयो। अनि फेरी यो कोरोना भाइरसको कहर शुरू भयो । ५-६ महिना त्यस सामसुम भएथ्यो ।अघिल्लो हप्ता लकडाउनमा नै हुॅंदा पनि जब भारतको दिल्लीमा बसेर बाटोको उद्धाटन गरेको समाचार आयो, अनि फेरी ब्युॅंतियो। फेरी, आन्दोलन, बहस, नारा, जुलुस।

तर खुशीको कुरा, यो पटक नेपाल सरकारले मे १८ मा ‘नयाॅं नक्सा’ निकाल्यो। अनि मे २० मा यसलाईआधिकारिक रूपमा सार्वजनिक गर्यो। कुरा एक कदम त अगाडी बड्यो। हो नेपालसॅंग पुरानो नापी गरेको नक्सा छ, जनगणना गरेको तथ्याकं छ, त्यहा रहेका नेपाली जनताले तिरो तिरेको रसिद छ। महाकाली नदि निक्लने उद्गम बिन्दु जस्ताको तस्तै छ। अझै ती सबै काम गर्ने बिज्ञहरू जीवित हुनुहुन्छ र उॅंहाहरू बेला बेलामा बोलिरहनु भएको छ सत्य के होभनेर । सबै प्रमाण हामीसंग हुॅंदा हुॅंदै पनि, भारतले अनकन्टार ठाॅंउमा, नेपालीको पातलो बस्ती रहेछ भन्दैमा जवरजस्ती अर्काको जमिन आफ्नो नक्सामा पार्न र बाटो खोल्न त पाउॅंदैन नी।

सरकारी स्तरमा नेपाल- भारत द्विपक्षिय वा नेपाल-भारत- चीन , त्रिपक्षीय बार्ता होला। त्यतिले कुरा नमिले अन्तराष्ट्रिय समुदायमा कुरा पुग्ला ।तर संसारभर छरिएका हामी साधारण नेपालीको लागि अहिले निकालेको ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा (हाम्रो आफ्नै जमिन) सहितको चुच्चो जोडिएको नेपालको नयाॅं नक्सा’ देख्न पाउनु नै गौरबको प्रतिक हो।यसरी ‘नयाॅं नक्सा’ निकालेकोमा अहिलेको सरकारलाई मुरीमुरी धन्यवाद ।

जय जन्म भूमी, जय पुण्य भूमी नेपाल !!

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया