
नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले यो साँढे दुई वर्षको अवधिमा गरेका कामहरु राम्रो भएपनि नगरेका कामपनि केही रहेको टिप्पणी गरिन् । उनले भनिन्,”नराम्रा चाहीँ कतिपय मिडियामा आईरहेका छन् नि । राम्रा काम भएका त भैनिहाले । नराम्रो काम चाहीँ कतिपय अपारदर्शीता, भ्रष्टाचारका कुरा, भ्रष्टाचार अनुकुल गर्न कानूनी संशोधनको कुरादेखि लिएर केही विजनेस घरानासँगको आशक्तिको कुरा, त्यसैले नै प्रधानमन्त्रीलाई विवादमा पारेको छ । यति होल्डिङदेखि ओम्नीसम्म आईपुग्दा प्रधानमन्त्रीज्यूलाई त जनताले असाध्यैं धेरै प्रश्न गर्ने ठाउँमा त पुर्यायो नि त । उहाँले मौका दिनुहुँदैन थियो । सरकारले गर्न सक्ने कामभन्दा पनि नगर्नसक्ने कामतिर जनताको ध्यान डाईभर्ट गरिदियो । यसले पनि प्रधानमन्त्रीमाथि आलोचना भयो । चुच्चे रेल, पानीजहाज, घरघरमा पाईपलाईनमा ग्याँस, प्रतिव्यक्ति आय बढाउने यी कुराहरु के थिए भने तत्काल हुने विषय थिएनन् । त्यो उहाँको टिममा राम्रो विश्लेषण गर्नसक्ने मान्छेहरु भईदिएको भए चाहीँ उहाँलाई यो बोल्नलाई ईनकरेज गर्दैन थिए । किनभने हामीले हुने कामभन्दा नहुने काममा डाईभर्ट गर्यौं । त्यसमा प्रधानमन्त्रीजीले जिद्दि गरिरहनुभयो । त्यो गर्नपनि जरुरी थिएन् ।”
उनले एउटा व्यक्तिको फेशबुक स्टाटसमा सचिवालय बैठक प्रभावित हुने, मन्त्रिपरिषद बैठकमा पनि घण्टौ त्यही कमेन्टको विषयमा बहस हुने यी सबै अनुत्पादक काम भएको टिप्पणी गरिन् । उनले भनिन्,”यो कुरा आखिर केही न केही माध्यमबाट बाहिर आईनैहाल्छ । झाँक्रीले सरकार परिवर्तनको हल्लाबारे टिप्पणी गर्दै आजको दिनमा प्रधानमन्त्री ओलीको विकल्प नभएको जिकिर गरिन् । उनले भनिन्, यो नेकपाको बहुमतको सरकार हो । उहाँ पार्टी अध्यक्ष हो । उहाँहरुले पार्टी एकता गर्दा के लेनदेन गर्नुभयो, यो हाम्रो जानकारीको विषय होईन् । आज सिनको कुरा गर्दा उहाँ ५ वर्षकै म्याण्डेट पाएर प्रधानमन्त्री भएको नेता हो । हामीले २०७४ को चुनावमा उहाँलाई प्रधानमन्त्रीको उम्मेद्धवारको रुपमा एक्सपोज गरेर चुनावमा गएको हो नि । नेकपाले बहुमत ल्याउनुमा केपी ओली पनि एउटा कारण हो । उहाँबाहेक अरु कोही पार्टी अध्यक्ष भएको भए को को ले बखेडा झिक्थे । उहाँले पनि एकता गर्न दिनुहुन्थ्यो कि हुँदैनथियो । यी तमाम कुरा छन नि । २०६२ देखि २०७४ सम्म आउँदा पूर्व माओवादी र केपी ओलीको स्केल हेर्ने हो भने कहाँ पुग्छ, तर एकाएक एकता भयो नि । तर, अर्को झलनाथ या माधव नेपालले नेतृत्व गरेको पार्टी भएको भए यो पार्टी एकता नहुनपनि सक्थ्यो । त्यसकारण उहाँ कारण त हो नै हो ।”
राष्ट्रपति विद्यादेवी भण्डारीले गाडी नकिन्ने र सो रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय राष्टपति भण्डारीको नभएर अर्थ मन्त्रालयको निर्णय भएको पनि उनले स्पष्ट पारिन् । उनले भनिन्,”यो अर्थमन्त्रालयले नै पुँजीगत खर्च नगर्ने भनेर परिपत्र गरिसकेको कुरा हो । चैत्र १९ गते निर्णय गरेर चैत्र २० गते परिपत्र जारी गरिसकेको छ । राष्टपति कार्यालयबाट यही बैशाख ५ गते एउटा चिठ्ठी देखें । किनभने मलाई हाँसो लाग्यो । यो चाहीँ राष्टपति एकदम मितव्ययी भनेर देखाउन गरेजस्तो भयो । यस्तो नाटकीय कामपनि गर्न परेन नि । यो त सरकारकै पैसा हो । उहाँले आफ्नो गोजीको दिएको भएको भए पो कुरा गर्नु । उहाँको दुई वर्षको तलब कोरोना कोषमा हाल्छु भनेको भए समाचार हुन्छ ।”
प्रतिक्रिया