काठमाडौं, २६ जेठ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिपक्षले सदन अवरोध गरेर अघि सारेका माग र अडान गलत र अनुचित भएको टिप्पणी गरेका छन् । प्राइम टिभीबाट हिजो (आइतबार) प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले विपक्षीहरुको माग नै गलत भएकोले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताए ।
उनले भने,‘गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण र आधार छैन । बिनाआधार र बिनाकारण राजीनामा दिने भन्ने कुरा हुँदैन् । प्रतिपक्षीहरुले अहिले जुन तरिका अवलम्वन गरेका छन्, यो नगर्नुहोस । संसद्को कारबाहीलाई सुचारु हुन दिनुहोस । आफ्नो भनाई सदनमा राख्नुहोस । ढिलो चाँडो उहाँहरुले यो सच्चाईलाई स्विकार गर्नुहुन्छ ।’
मन्त्री पौडेलले अहिले सदन अवरोध भएपनि छिट्टै सदन सुचारु हुने र बैठकमा बजेटमाथि छलफल प्रारम्भ हुने विश्वास व्यक्त गरे । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा नआउने र यस प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने विपक्षीहरुको माग पनि अनावश्यक रहेको दाबी गरे ।
उनले भने,‘राज्यका सम्बद्ध निकायले अध्ययन र अनुसन्धान गर्दैछन् । विश्लेषण गर्दैछन भनेपछि संसदीय छानबिन समिति के को लागि चाहियो ? यदि गृहमन्त्रीको कुनै संलग्नतासमेत देखिएको वा छ कि भन्ने आशंका गर्ने आधारसमेत देखिएको भए संसदीय छानबिन समिति बनाउने कुरामा लौ त भनिन्थ्यो होला । तर, गृहमन्त्रीको संलग्नताको कुनै आशंका छैन् ।’
प्रतिक्रिया