नेपालमा राजा र हिन्दू धर्म चाँडै पुनर्स्थापित हुन्छ, यसको विकल्प अब छैन

इनेप्लिज २०८२ जेठ २८ गते ९:३६ मा प्रकाशित

हिन्दू धर्मका साधक कालीबाबा भारतीय संस्थापन र नेपालको पूर्वराजासँग निकट मानिनुहुन्छ। कालीबाबाको जन्म नेपालको पूर्वी पहाडी जिल्ला ओखलढुंगाको तत्कालीन बर्नालु गाविसमा सन् १९५१ मा भएको हो। करिब दुई महिना पहिले पनि उहाँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेर आफ्नो जन्मथलो पुग्नु भएको थियो।

भारतको हरियाणा राज्यको साम्पलामा बाबाको धाम रहेको छ। भारतको आसाममै बाबाले श्री शिवशक्ति मन्दिर ट्रष्ट संचालन गर्नु भएको छ भने बाबा कालिदास परोपकार सोसाईटीमार्फत मानव सेवाको क्षेत्रमा बाबाले योगदान गरिरहनु भएको छ। यसैगरी बाबा कालीदास परोपकार अस्पताल स्थापना गरेर बाबाले नि:शुल्क उपचारको सेवा पनि प्रदान गरिरहनु भएको छ। मठ, मन्दिर र गौशाला निर्माण गरेर बाबाले हिन्दू धर्म र मानवताको क्षेत्रमा निरन्तर सेवा गर्दै आउनु भएको छ। बाबाले २४ सै घण्टा विश्व शान्ति अखण्ड महायज्ञ लगाई रहनु भएको छ। विश्व शान्ति, मानवता, भाइचारा र हिन्दू धर्मको प्रचारमा बाबा सक्रियतापूर्वक लाग्नु भएको छ।

कालीमाताबाट ज्ञान र दीक्षा प्राप्त गर्नु भएका बाबा अन्न अनाज केही खानु हुन्न। केवल नरिवलको पानी पिएर हिन्दू धर्म र अध्यात्मको माध्यमबाट उहाँ विश्व शान्तिको कामनासहित मानव सेवामा समर्पित हुनुहुन्छ। सिद्धयोगी महामण्डलेश्वर स्वामी श्री १००८ बाबा कृष्णानन्द कालीदास स्वामी परमहंस गुरुज्यूको रुपमा सम्मानित कालीबाबाले बनारस हिन्दू विश्व विद्यालयबाट हिन्दू धर्म र दर्शनमा स्तानकोत्तर तहको अध्ययन पूरा गर्नु भएको छ।

यसपटक बाबाको अमेरिका भ्रमणका क्रममा ग्लोब नेपाल डटकमका संस्थापक/प्रधान सम्पादक गौतम दाहालले कालीबाबासँग विशेष वार्ता गर्नु भएको छ। नेपालको राजनीतिक परिदृश्य, राजावादीहरुले भनेको आन्दोलन, गणतन्त्र र धर्म निरपेक्षताबारे बाबाको धारणा र भारतीय संस्थापन निकट मानिने बाबाको बुझाईमा भारत नेपालमा के चाहन्छ ? यी र यस्तै विषयमा कालीबाबासँग गरिएको विशेष कुराकानीको सम्पादित अंश:

0 अमेरिका घुम्दै गर्दा यहाँ रहेका नेपालीहरुको बारे बाबाको बुझाई कस्तो रह्यो ?
मैले अमेरिकामा भेटेका सबै नेपालीहरु हाम्रो धर्म, संस्कृति, कला, साहित्य बचाएर बसेको देख्दा आनन्दित महसुस गरेको छु। नेपालीहरु जहाँ पनि हुनुहुन्छ पशुपतिनाथ, गुरु गोरक्षनाथ, लक्ष्मीनारायणको मन्दिर निर्माण गरेर बस्नु भएको पाएँ। म अति गर्वित भएको छु।

0 तपाईं नेपालीहरुका माझ जहाँ पुग्नुभयो त्यहाँ हिन्दू धर्म र नेपालमा राजा चाहिन्छ भन्ने विषयमै जोड दिनुभयो। यसलाई हामीले कसरी बुझ्ने ? अमेरिकामा रहेका नेपालीहरुका माझ यी दुई विषयलाई किन यति जोड दिनु भएको ?
पहिलो त म हिन्दू धर्मको उपासक हुँ। हिन्दू धर्म सनातन धर्म हो। यो धर्मको महिमाको चर्चा गर्नु मेरो धर्म हो। धर्म नै सबै कुरा हो। धर्मले नै हामी सबैको रक्षा गर्दछ। त्यही कुरा मैले बोलेको हो। त्यो पवित्र भूमि, देवीदेवताको तपोभूमि, सीता, बुद्ध र जनकको जन्मभूमि नेपाल हो। नेपाल पवित्र धार्मिक तीर्थस्थल हो। त्यही मैले बोलेको हो। मलाई लाग्छ, नेपालमा हिन्दू राष्ट्र र हिन्दू राजा चाहिन्छ। म चाहन्छु नेपाल हिन्दु राष्ट्र हुनुपर्छ। अभिभावकको रुपमा सांस्कृतिक नै भए पनि राजा रहनुपर्छ। बिना अभिभावकको अवस्था छ अहिले नेपालमा। नेपाल र नेपालीको अभिभावकको रुपमा एउटा संस्था सधैं बसिरहनु पर्दछ। जुन दिन नेताहरुले नेपालमा धर्म निरपेक्षता घोषणा गरे त्यही दिनदेखि मैले, ‘नेपाल आमा के भन्छिन्, हिन्दू राष्ट्र ले भन्छिन्, धर्म निरपेक्षता चाहिन्न, संस्कृति मास्न पाइन्न’ भन्ने नारा लगाउँदै आएको छु।

नेपाल र नेपालीहरु एकढिक्का भएर एउटा छाताको मुनि बस्नुपर्छ, त्यो छाता भनेको राजसंस्था हो। बैदिक सनातन, ओम परिवारमा सबै जाति, जनजाति, आदिवासी सबै एक भएर बस्दा हामी गौरवशाली नेपाली हुन्छौं।

0 नेपालमा सांस्कृतिक राजा चाहिन्छ भन्नुभयो। कस्तो हो यो सांस्कृतिक राजा भनेको ?
संस्कृतिलाई बचाउने, धर्मको रक्षा गर्ने, देश विदेशको पराक्रम जोड्ने। स्वर्गीय राजा वीरेन्द्रले भन्नु भएको एशियाली मापदण्डको नेपाल बनाउने। नेपाल तपोभूमि हो। नेपाल बुद्धको भूमि हो। देवी देवताको पुन्यभूमि हो। त्यस्तो भूमिमा सांस्कृतिक राजा र अभिभावक चाहिन्छ। त्यस्तो संस्था बसिरहनु पर्दछ। पृथ्वीनारायाण शाहले एकीकरण गरेको मुलुकमा राजालाई अभिभावकको रुपमा स्वीकार्नुपर्छ।

देश र राज्यसत्ता त प्रधानमन्त्रीले नै चलाउने हो। शासन जननिर्वाचित सरकारले नै चलाउने हो। तर सबैको अभिभावकको लागि सांस्कृतिक रुपमा राजा चाहिन्छ। राजालाई जति नेपालको माया छ, त्यति चाहिं कुनै पनि नेताहरुलाई देशको माया र चिन्ता छैन।

नेताहरुले देशलाई २० वर्षमा स्वीटजरल्याण्ड बनाउछौं भन्नुभयो। तर आज देशका अधिकांश युवायुवती देश बाहिर छन्। देशको दुर्दशा छ। पहाड छाडेर तराई, तराई छाडेर विदेश हिंड्ने अवस्था छ। देश छाडेर कमाएको पैसामा नेताहरुले मनपरि गरेका छन्। नेपाल सुध्रनका लागि पनि सांस्कृतिक राजा चाहिन्छ। अभिभावक चाहिन्छ।

0 अहिले राजावादीहरुको जुन आन्दोलन भनिएको छ, त्यसलाई बाबाले कसरी हेर्नु भएको छ ? के राजावादीहरुको यो आन्दोलनले राजा फर्काउलान् ?
जुन अवस्था देशमा देख्नु भएको छ त्यो जगजाहेर नै छ। मान्छे बिग्रियो भने कम्युनिष्ट बन्दछ भनिन्छ। कम्युनिष्टहरु निकृष्ठ भए। मार्तल र हँसिया बोकेर सर्वहारा भन्नेहरु अहिले पचासौं लाखको खाटमा सुत्छन्, करोडौंको गाडी चढ्छन्, देश लुट्ने कम्युनिष्टसहित र त्यस्ता नेताहरु हामीलाई चाहिदैन। हामी तिनीहरुलाई स्वीकार्न सक्दैनौं। हामीलाई राजा चाहिन्छ, राजा आऊ देश बचाउ भनेर जसरी जनता सडकमा उत्रिएका छन् यही दृश्यले गर्दा अब जनतालाई हिन्दू राष्ट्र र हिन्दू राजा आवश्यक छ भन्ने देखिएको छ।

0 के तपाईंलाई राजतन्त्र फर्कन्छ भन्ने लाग्छ ?
एकदम, अब चाँडै राजा पनि गद्दीमा फर्किबक्सन्छ र हिन्दू राष्ट्र पनि कायम हुन्छ। म यसमा पूरा विश्वस्त छु। धर्म निरपेक्षता घोषणा गरेर घोर अन्याय भएको छ, यो अन्यायको परिणाम अब धेरै झेल्न सकिन्न। बोल्न नसक्नेहरुका लागि, अशक्तहरुका लागि मात्र होइन युवायुवतीले पनि देशमा भविश्य देख्न छाडिसकेका छन्। नेपाल र नेपाली नै नरहने पो हुन् कि भन्ने चिन्ता छ। देशको दुर्दशा भएको छ। मुलुक रहने कि नरहने भन्ने चिन्ता छ। यो अवस्थामा हिन्दू राजा र हिन्दू राष्ट्र चाहिएको छ। अहिलेको गणतन्त्रले भ्रष्टाचार, दुराचार, अन्याय, अत्याचार र लुटपाटलाई संरक्षण गरेको छ। युवतीहरु एक्लै हिंड्न सक्ने सुरक्षाको वातावरण छैन। राजा र हिन्दू धर्म नरहे देश अस्तित्वको संकटमा छ।

त्यसैले नेपालमा अवश्य फर्कन्छ राजसंस्था। गाउँघर, दूर दराजमा अहिले पनि राजा छन् भन्ने छ। हेर्दै जानुस् चाडै राजसंस्था फर्कन्छ। हिन्दू राष्ट्र कायम हुन्छ।

0 तपाईंले पूर्व राजा ज्ञानेन्द्र शाहलाई हालै मात्र होइन, पटकपटक भेट्नु भएको छ, कुराकानी गर्नु भएको छ। उहाँसंगको भेटमा के कस्तो कुराकानी हुन्छ र गुमेको राजसंस्था पुन: फर्कन्छ भन्नेमा पूर्वराजा कति आशावादी देखिनु हुन्छ ?
उहाँले भन्नु भएको छ म रहुँ, नरहुँ देश रहनुपर्छ। नेपाली जनता सुरक्षित हुनुपर्‍यो। मेरो साथमा प्रहरी, सेना र प्रशासन सबै थियो। त्यस्तो अवस्थामा पनि मैले देशका नागरिकहरुको लागि श्रीपेच त्याग गरेर छाडेको हुँ, म आम नागरिक भएर बस्न राजी भएको हुँ। यस्तै परिस्थिति रहिरह्यो र यदि नेपाली जनताले चाहे भने म फेरि सेवा दिन तत्पर छु, नभए म आम नागरिक भएर बस्छु भन्नुभएको छ।

0 भारतको संस्थापन पक्ष प्रधानमन्त्री नरेन्द्र मोदी, हिन्दू धर्मका कट्टर समर्थक योगी आदित्यनाथलगायतसँग तपाईँको प्रत्यक्ष सम्बन्ध छ भन्ने देखिएकै छ। भारतको संस्थापन नेपालमा के चाहन्छ ?
योगी आदित्यनाथ त पहिलेदेखि नै नेपालमा हिन्दू राष्ट्रको पक्षमा हुनुहुन्छ। राजा र हिन्दू राष्ट्र चाहिन्छ भन्नुहुन्छ। हाम्रो गुरुकूल गोरखा र गुरु गोरक्षनाथ हो त्यसैले हिन्दू राष्ट्र र राजा चाहिन्छ भन्नुहुन्छ।

प्रधानमन्त्री नरेन्द्र मोदीजीको पनि प्रष्ट भनाई छ। नेपाल हिन्दू राष्ट्र हुन्छ, रहन्छ र छ भन्ने उहाँको पनि भनाइ छ। मोदीजी जनकपुरदेखि लुम्बिनीसम्म घुम्नु भएको छ। उहाँ भन्नुहुन्छ,- नेपाली जनताको इच्छा अनुसार हामी चल्छौं। हामी गणतन्त्रवादी हौँ, नेपाल र नेपाली जनताले चाहेको खण्डमा उनीहरुले जे चाह्यो, त्यसैमा हाम्रो समर्थन रहन्छ भन्नुभएको छ।

ग्लोब नेपाल बाट

प्रतिक्रिया