रहर भित्रको कहर

सुष्मा घिमिरे ,सान्आन्टोनियो , टेक्सास २०७६ चैत २६ गते २१:०७ मा प्रकाशित

कलेजको त्यो पहिलो दिन शिरको कालो कपाल र पाउको कालो चप्पल बाहेक पुरै सेतो कपडाले बेरिएर ठिङग उभिएर हातमा मैन बत्ती बालेर १० बर्ष अगाडी खाएको कसमको याद आएको छ आज मलाई ।

त्यो तातो मैनको पग्लेको थोपा हातमा पर्दा हातमा मात्र होइन मन नै च्वास्स पोलेको थियो,दुखेको थियो । त्यही पोलाई दुखाइ आज १० औ बर्ष पछी अनुभव भैरहेको छ ।

सामान्य परिवारमा जन्मेर पढेकि,बाबा आमालाई आर्थिक भार त थियो नै किनकी मेरो सरकार मैले तिमीले दिने छात्रावृत्तिमा नाम निकाल्न सक्ने हैसियतको पढाइ थिएन तर त्यही नर्सिङ पढ्ने हटहटिले बाबा आमाको ढाड सेकाइ सेकाइ निजी संस्थामा पढे ।

भर्खर एसएलसी सकेको किशोरावस्थाको उमेर राम्रो देखे राम्रो लगाउन मन लाग्ने मिठो देखी मिठो खान मन लाग्ने उमेर । त्यसैले दिनको १५ रुपैया मात्र लिएर कलेज जाने गर्थे । एक पेज नोट फोटोकपी गर्न पनि त्यो बेला १० रुपैया लाग्थ्यो । त्यही १० रुपैयाले १ दिनको खाजा पुग्छ भनेर रातभरी नोट सार्थे।

त्यती बेला नर्सिङ लाईसेन्सको परिक्षा दिने प्रणाली थिएन । सानो आस्पतालामा ४ महिना सम्म स्वयमसेवक रुपमा काम गरी सकेपछी महिनाको ४५०० तलब दिने गरी काम गरे । त्यही पहिलो तलबले हो सरकार मैले तिम्रो दैलो ढकढकाएको लोकसेवा को फर्म भरेर । त्यो बेला देखिनै अहिले सम्म आवश्यकता आनुसारको स्वास्थ्य कर्मचारी माग गरेको छ जस्तो लाग्दैन मेरो बुजाइमा । मैले पनि १-२ पटक परिक्षा दिए तिम्रोनोकर भएर काम गर्ने साह्रै रहर थियो तर मेरो सम्र्थ्यले भ्याएन । थोरैभए पनि आफ्नै देशमा सेवा गर्छु,आफ्नो परिवर सँग बस्छु रमाउछु भन्ने भावनाले आत्म सन्तुष्ट थियो,मन प्रसन्न थियो । साधारण जीवन खुसी साथ चलिरहेको थियो l

तर एक्कासी कोरोनाको डर त्रास र भयभह अवस्था आयो ।

आज पुरै विश्व स्तब्ध छ, सबै डर र त्रासमा कोठा भित्र बस्न बाध्य छन ।अस्पतालको शैयामा छट्पटाउदा पनि परिवारको साथ छैन्,लासलाई छुन र आफ्नै सस्कार अनुसार विसर्जन गर्न पाइरहेका छैनन । सबै स्कुल,संघ संस्था,सरकारी कार्यालय बन्द छ्,गाडी हरु चलेका छैनन । पृथ्वी नै एक ठाउमा टक्क अडिएको जस्तै भएको छ । कतै चहल पहल छैन सुनसान छ जताततै । तर म मात्रै सलबलाएको छु मलाई मात्र हतार भएको छ आज पनि ।

सधै धुलो, भिड्भाड गाडीमा झुन्डिएर अस्पताल जाने म तर हिजो आज सफा सुनसान बाटोमा निर्धक्क साथ आनन्द लिदै खुसी भएर हिडेकी छु । सबैको काम रोकियो,सबै रोकिए तर मलाई भने मेरी आमाको गहले भरिएको मलिनो अनुहार र आवाजले रोक्न सकेको थिएन । भर्खरै तोते बोलिमा आमा भन्न सिकेकी मेरी छोरी रुदै पछी लाग्दा पनि न अडिएको मेरो खुट्टा लर्खराएको छ,डराएको छ ।

एउटा कोखको सन्तान कसैलाई तलबी बिदा र सुबिदा सहित घरमा बस भन्न सक्ने तिमी मलाई नाङै शरिरमा जबर जस्ती मैद्दानमा लड्न पठाउदै छौ । सुरक्षाको नाममा मेरो नाङो शरिर छोप्न किन्न लागेको कात्रोमा पनि लड्न छोडेनौ कमिसन खान मात्रै हतार भयो । एउटा मरेको सिनोलाई गिद्दले लुछे जसरी लुछ्यौ । गनाउला दुर्घन्धित बनाउला भन्ने यादै नगरि ।

मेरो सरकार, म ढुङ्गा मुढा गर्न, अरुको शरिरमा भाटा बजार्नसक्दिन, चर्को चर्को आवाजमा बोल्न सक्दिन मेरो अधिकारको लागी । किनकी मलाई यो बिसम अवस्थामा छटपटाइरहेका हरुलाई शान्त पार्नुछ्,मर्न लाग्दाको त्यो पिडाले छिटो छिटो फेरेको त्यो सास लाई सहज पार्नु छ्,म एक जनाको प्र्यासले सयौलाई बचाउनु छ । त्यसैले त आज सम्म आफ्नो कर्तब्य पुरा गर्न आधिकार र सुरक्षा बिनानै हतार हतार दौडिरहेकिछु ।

आफु सुरक्षित नभै उपचार गर्दा झन अरुलाई धेरै जोखिम हुने भएकोले सुरक्षा सामाग्री माग गरेको थियौ । तर तिमी त्यस्मै कमिसन खान र उल्टै काम नगरेर छोडेमा अयोग्य हुने गरी बर्खास्त गर्छु भन्दै धम्काउछौ । विचार गर सरकार तिमीले जागिर दिएर म नर्स भएको होईन म नर्स भएर मात्र जागिर खाएकी हु । म आफु बाच्न सके मात्र तिमीलाई बचाउन सक्छु, तिम्रो देशका प्यारा जनतालाई बचाउन सक्छु । तिमीले आफ्नो आङको भैँसी देखेनौ तर मेरो शरिरमा हुदै नभएको जुम्रा खोज्यौ ।

त्यसैले एक पटक सोच त्यो तिम्रो धम्की उल्टो भएर तिम्ले बर्खास्त गर्नु भन्दा पहिलेनै डाक्टर, नर्स र स्वास्थ्य कर्मचारीहरुले बुझाएको लाईसेन्सले तिम्रो पोल्टो नभरियोस । जनता छट्पटाएर मर्न नपरोस । त्यो काहाली लाग्दो दिन आउन भन्दा पहिले नै सोच विचार गरा मेरो सरकार ।

सुष्मा घिमिरे,सान्आन्टोनियो , टेक्सास

 

प्रतिक्रिया