काठमाडौँ, २२ चैत । सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गर्ने नेपाली सेनाका दुई पूर्वरथीलाई कारवाही गरिएको छ । हालै चर्चामा रहेको सेना परिचालन सम्बन्धी विषयमा उनीहरुले सैनिक मर्यादाको ख्याल नगरेरै टिप्पणी गरेका थिए ।
कारवाहीमा पर्नेमा पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यात छन् । उनीहरुलाई जंगी अड्डाले सचेत गराएको हो । सैनिक अधिकारीले अवकास भएको कम्तिमा दुई वर्षसम्म सार्वजनिक रुपमा अभिव्यक्ति नदिने चलन छ ।
अवकाशपछि पनि पूर्वअधिकारीलाई विभिन्न सेवा सुविधा दिइने भएकाले उनीहरु हत्तपत्त संगठनविरुद्ध बोल्दैनन् । तर, बस्न्यात र बानियाँले यसको उलंघन गरेको सेनाको ठम्याई छ ।
बानियाँ र बस्न्यातले सेना परिचालन विधयेकको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायतको खरो आलोचना गरेका थिए ।
बानियाँले एक राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिँदै भनेका थिए, ‘एउटा मुसालाई शेर बनाएर देशको प्रधानमन्त्रीले एउटा प्रमुख जिल्ला अधिकारीले गर्ने काम गर्छन् भने मेरो नाक ठाडो भएको छैन ।’
विधयेकले ‘खशीको मासु पाइन्छ भनेर बाख्रीको मासु बेच्ने नियत’ राखेको उनको टिप्पणी थियो । उनले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको पक्षमा पनि खुलेरै टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘के विप्लवजीको पार्टीले नेपाल खान लाग्या छ ?’
बस्न्यातले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिन पिङको नक्कल गरेको टिप्पणी गरेका थिए ।
ओलीलाई लक्षित गर्दै उनले भनेका थिए, ‘उहाँको धरातल हेर्नुस् । जनमत हिजो सुल्टिन्छ, आज उल्टिन्छ । बाढीले बगाउँछ यस्ता चिजहरु ।’ उनले जनमत चीर स्थायी नहुने बताउँदै ‘पिपल पाते’ तरिकाले सेना परिचालन गर्नु नहुने बताएका थिए ।
उनले खल्तीबाट सेना परिचान गर्ने केपी ओली को हुन् भन्दै प्रश्न समेत गरेका थिए ।
प्रतिक्रिया