पूर्व लडाकुले खोलेको साबुन उद्योग बन्द हुने अवस्थामा

इनेप्लिज २०७१ माघ २ गते १०:२८ मा प्रकाशित

तुलसीपुर (दाङ), २ माघ । जिल्लाको बिजौरी गाविस–१ बिजौरीमा स्वेच्छिक अवकाश रोजेर घर फर्केका पूर्व लडाकुले खोलेको सिर्जना साबुन उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।

उद्योग सञ्चालक एवम् स्वेच्छिक अवकाश रोजेर घर फर्केका पूर्व लडाकु देवबहादुर विकका अनुसार सो उद्योगबाट उत्पादन गरेको लुगा धुने डल्लो साबुनले उचित बजार पाउन नसकेपछि बन्द हुने अवस्थामा पुगेको हो ।

राप्ती अञ्चलका पाँचवटै जिल्ला दाङ, रुकुम, रोल्पा, प्यूठान र सल्यानमा उक्त साबुनलाई बजारमा लगिए तापनि आफूहरूको उत्पादनले उचित बजार पाउन नसकेपछि अहिले सो उद्योगबाट उत्पादन हुँदै आएको साबुन बन्द भएको उद्योग सञ्चालक एवम् स्वेच्छिक अवकाश रोजेर फर्केनुभएका विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुरुका वर्षमा त साबुनको माग धेरै हुने गरेको थियो पछि भने उचित बजार पाउन सकेन र घाटा हुने अवस्था आएपछि  उत्पादन नै बन्द गराएका छौँ ।

दाङका पूर्व लडाकु विकसँगै रुकुमका पूर्व लडाकु कृष्ण रोकाया र काठमाडौँका पूर्व लडाकु सुदीप तामाङ मिलेरे तीन वर्ष अगाडि राज्यले उपलब्ध गराएको रकमबाट सो उद्योग स्थापना गरेका थिए ।

पूर्व लडाकु रोकायाका अनुसार सुरुमा उद्योग स्थापना गर्दा रु आठ लाख लगानी गरेर स्थानीय एक व्यक्तिको जग्गा पाँच वर्षका लागि भाडामा लिएर सञ्चालन गरिएको थियो ।

समाजमा सकारात्मक सोचको विकास गर्न र युद्धको घाउ बिर्साउन आफूले यो उद्योग स्थापना गरेपनि उद्योगको उत्पादनलाई केही व्यक्तिले माओवादी साबुन भन्दै आफ्नो गलत प्रचार गरेर साबुनको बजारलाई समेत धरासायी पार्ने गरेको अर्का पूर्व लडाकु एवम् उद्योग सञ्चालक तामाङले बताउनुभयो ।

द्वन्द्वको पीडा भुलाउन र आम्दानीको बाटो खोज्न उद्योग स्थापना गरेका हौँ तर उद्योग भने फस्टाउन सकेन विकले भन्नुभयो । उहाँले थप्नुभयो– यस जिल्लामा साबुन सबै बाहिरबाट नै आउने गरेका छन् ती साबुनको अनुपातमा आफ्नो साबुन प्रतिस्पर्धामा आउन नसक्दा नै बन्द हुने अवस्थामा पुगेको छ । तर पनि सबैको सहयोग भएमा पुनः उत्पादन गरिने  विकले बताउनुभयो ।

यसैबीच, सिर्जना साबुन उद्योग जिल्लाकै एकमात्र साबुन उद्योग रहेको र जिल्लामा साना तथा घरेलु उद्योगको सम्भावना बढिरहेका बेलामा उद्योग बन्द हुन पुग्नु दुःखद कुरा भएको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले बताउनुभयो ।

उहाँले यसको विकास र प्रवद्र्धनमा उद्योग वाणिज्य सङ्घ तुलसीपुरले सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया