स्थानीयले तीस किलोमिटर सडक निर्माण गरे

इनेप्लिज २०७२ जेठ १ गते २:१७ मा प्रकाशित

गाईघाट(उदयपुर), १ जेठ । उदयपुरको मध्य पहाडी गाविस बलाम्तामा स्थानीयले करिब रु एक करोड सङ्कलन गरेर तीस किलोमिटर लामो सडक निर्माण गरेका छन् ।

जिल्लाको कटारी, बेतेनी हुँदै इनामेको माझखर्कसम्मको सडक खण्डबाट बलाम्ताबासीले तीस किलोमिटर दूरीमा रहेको बलाम्ता गाविसको पुछार सुनकोसी किनारसम्म नै सडक निर्माण गरिएको बलाम्ता गाविसका सचिव पदमबहादुर राईले बताउनुभयो ।

निर्वाचन विकास क्षेत्र कोषको रु सात लाख र स्थानीय राजनीतिक दलको रु पाँच लाख र बलाम्ताबासीले सङ्कलन गरेको रु ८८ लाखबाट सडक निर्माण सम्पन्न गरिएको सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष पर्शुराम राईले जानकारी दिनुभयो ।

सडक निर्माण गर्न गाविसका प्रत्येक घरले रु चार हजारदेखि दुई लाखसम्म सहयोग गरेका थिए भने बलाम्ताबाट वैदेशिक रोजगारमा रहेका तथा गाविसबासी, सरकारी कर्मचारी, सेना, प्रहरीले पनि रु पच्चीस हजारदेखि रु एक लाखसम्म आर्थिक सहयोग गरेका थिए ।

सडक निर्माणसँगै बलाम्ता, माझखर्क हुँदै बेतेनी भएर कटारीबाट तराई झर्न सकिने भएको छ भने सिधै बलाम्ताबाट सुनकोसी किनार हुँदै सदरमुकाम गाईघाट आवतजावत गर्न सहज भएको बलाम्ता उमाविका प्राचार्य ज्ञावनशेर राईले बताउनुभयो ।

प्रतिक्रिया