राहत वितरणमा सक्रिय हुने राप्रपा नेपालको निर्णय

इनेप्लिज २०७२ वैशाख ३१ गते १४:२२ मा प्रकाशित

RPPN-काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भूकम्पका कारण अति प्रभावित जिल्लामा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र सभासद्लाई राहत वितरणमा क्रियाशील बनाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भूकम्प प्रभावित क्षेत्रका विद्यालय यथासम्भव सञ्चालन गर्न वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको पार्टीका सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले भूकम्पका कारण न्याय सेवा सञ्चालनमा समस्या देखिएकाले त्यसको विकल्प खोजी प्रभावकारी ढङ्गले सुचारु गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

भूकम्पछि राहत वितरणमा बनेको सर्वदलीय संयन्त्रमा पार्टी सकृयतापूर्वक सहभागी भई सरकारलाई सहयोग गर्ने बैठकले निर्णय गरेको छ ।

प्रभावित क्षेत्रका संयन्त्रमा सहभागी रहने पार्टीका कार्यकर्तालाई वडा तहदेखि जिम्मेवार भई भूकम्प पीडितलाई न्यायोचितरुपमा राहत वितरणमा सहयोग गर्न बैठकले निर्देशन दिएको छ ।

प्रतिक्रिया