म्याग्दीका भूकम्पपीडितलाई करिब चौबीस लाखबराबरको राहत वितरण

इनेप्लिज २०७२ वैशाख २९ गते २:५१ मा प्रकाशित

1431231854_sinduबाबियाचौर (म्याग्दी), २९ वैशाख । म्याग्दीका करिब ४०० भूकम्पपीडितलाई करिब रु २४ लाख बराबरको राहत वितरण गरिएकोे छ ।

विनाशकारी भूकम्पका कारण घर पूर्ण रुपमा क्षति भएका ९२ र आंशिक क्षति भएका बेनी नगरपालिकाबाहेक ३५ गाविसका ३०० घरधुरीलाई राहत वितरण गर्ने काम भइसकेको छ । पूर्ण क्षति भएकालाई रु १० हजारसहित रेडक्रसमार्फत एक सेट राहत सामग्री सहयोग गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिअन्तर्गतको सहायता कक्षका अनुसार ३५ गाविसमा घरमा आंशिक क्षति भएका ३०० घरधुरीलाई रु पाँच हजारका दरले राहत उपलब्ध गराएको छ ।

समितिले सम्बन्धित गाविस तथा वडा कार्यालयमा उपलब्ध गराएको रकम सचिवमार्फत वितरण भइरहेको समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । बेनी नगरपालिकाभित्र आंशिक क्षति भएका सर्वसाधारणलाई तथ्याङ्क रुजु भइसकेकाले आजदेखि राहत वितरण गरिने भएको छ ।

जिल्लाका भूकम्पपीडितलाई राहत वितरणका लागि प्रधानमन्त्री राहतकोषबाट हालसम्म रु २० लाख प्राप्त भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहमा सोमबारसम्म करिब रु २१ लाख ४४ हजार जुटाएको छ । म्याग्दीमा हालसम्म भूकम्पका कारण एक हजार ६०१ घरपरिवार प्रभावित भएका विवरण सङ्कलन भएको छ । जिल्लाका भूकम्पपीडितलाई राहत वितरण गरेर बचेको रकम प्रधानमन्त्री राहतकोषमा पठाइने प्रजिअ केसीले बताउनुभयो ।

प्रतिक्रिया