सर्लाहीमा नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु

इनेप्लिज २०७५ कार्तिक १३ गते ११:१२ मा प्रकाशित

 

काठमाडौँ, १३ कार्तिक । सर्लाहीको रामनगरमा नेकपा र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान दुई पार्टीका कार्यकर्ताबीच रामगनर गाउँपालिका वडा नम्बर २ मा झडप हुँदा चलेको गोली लागेर काँग्रेस कार्यकर्ता ५० वर्षीय रामविलास महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोलाई सोमबार नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले कुटपिट गरेको विषयमा मंगलबार बिहान दुई दलका कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा सात जनाजति घाइते भएको प्रहरीले जनाएको छ । मृतकलाई गोली लागेको भए पनि अन्यलाई ढुंगामुढाले लागेको प्रहरीको भनाइ छ ।

प्रहरीले अहिले घटनास्थल नियन्त्रणमा लिएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया