जोखिमपूर्ण घर भत्काउन सुरक्षाकर्मीलाई भ्याइनभ्याई

इनेप्लिज २०७२ वैशाख २५ गते ७:२७ मा प्रकाशित

nepal_news1431060600-150503163327-01-nepal-0503-super-1691भक्तपुर, २५ वैशाख । भक्तपुरमा गत १२ गतेको भूकम्पबाट भत्किएका घरहरूको पन्छाउने कार्य कम हुँदै गएपछि सुरक्षाकर्मीलाई जोखिममा रहेका घरहरू भत्काउन भ्याइनभ्याई भएको छ ।

छानो भत्किएका र भूकम्पले जीर्ण बनेर उच्च जोखिममा रहेका घरहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विदेशी सुरक्षाकर्मी भक्तपुरका छवटै नगरपालिकाका विभिन्न क्षेत्रमा खटिएका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले भूकम्पका कारण जीर्ण भएका घरहरूले दुर्घटना निम्त्याउन सक्ने भएकाले गाउँगाउँसम्म सुरक्षाकर्मी परिचालन गरेर घर भत्काउन थालिएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका केही टोलमा भने साना गल्लीका कारण डोजर जान नसक्ने र व्यक्तिले पनि भत्काउन नसक्ने घरहरू भने क्रेन ल्याएर भत्काउनुपर्ने भएको उहाँले बताउनुभयो ।
सुरक्षाकर्मीले जीर्ण भएर जोखिममा रहेका दैनिक ५० घर भत्काउन थालेको जानकारी दिँदै उहाँले यस्ता एक हजारभन्दा बढी घर भत्काउन बाँकी रहेको बताउनुभयो ।

जीर्ण भई जोखिममा रहेका घर एवम् संरचनाहरू पन्छाउन अझै केही दिन लाग्ने बताउँदै प्रहरी नायब उपरीक्षक अधिकारीले विनाशकारी भूकम्पबाट जिल्लामा बालबालिका, महिला र पुरुष गरी ३१४ जनाको मृत्यु भएको र अझै थपिन सक्ने अनुमान रहेको छ भन्नुभयो ।

प्रतिक्रिया