निशुल्क आँखा शिविरमा सयभन्दा बढीमा मोतिबिन्दू

इनेप्लिज २०७५ असोज २६ गते १०:५५ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

विश्व दृष्टि दिवसको अवसरमा रौतहटको गरुडामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा रौतहटद्वारा सञ्चालित गौर आँखा अस्पतालको सहयोगमा गरुडा नगरपालिका र लायन्स युवा क्लब गरुडाको संयुक्त आयोजनामा नमूना माध्यमिक विद्यालय गरुडामा सम्पन्न एक दिवसीय निशुल्क आँखा शिविरमा २ सय ४५ जनाको आँखा परीक्षण गरिएको छ भने १ सय १० जनामा मोतिबिन्दूको समस्या देखिएको आयोजकले जनाएको छ ।

आँखा परीक्षण गराउने ६० वर्षभन्दा बढी उमेरका अधिकांश मानिसमा मोतिबिन्दूको समस्या देखिएको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रामचन्द्र पासवानको नेतृत्वमा आएको चिकित्सक र प्राविधिकको टोलीले गरेको परीक्षणबाट मोतिबिन्दूको समस्या देखिएका बिरामीलाई असोज २७ र २८ गते तथा कात्तिक ६ गते गौर आँखा अस्पताल पुरेनवामा निशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ ।

आँखा परीक्षण गराउन पुग्नेमा अधिकांश महिला रहेको देखिएको छ । लायन्स युवा क्लबका अध्यक्ष मनोजकुमार चौधरीको अध्यक्षता, सञ्चारकर्मी सञ्जय मित्रको सञ्चालन, आयोजक संस्थाका कोषाध्यक्ष पंकजकुमार जयसवालको स्वागतमा भएको कार्यक्रमको उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि गरुडा नगरपालिकाकी उपप्रमुख रंगीलादेवी जयसवालले आँखा शरीरको एउटा अंग मात्र नभई जीवनको ज्योतिसमेत भएकोले सबैलाई लाभ उठाउन आह्वान गरेकी छन् । कार्यक्रममा नेपाल नेत्रज्योति संघ रौतहट शाखाका अध्यक्ष दुर्गाप्रसाद यादव र दुर्गा–भवानी यादव प्रतिष्ठान गरुडाका अध्यक्ष वृजकिशोरप्रसाद यादवले मन्तव्य व्यक्त गर्दै आँखा रोगीलाई अत्यधिक मात्रामा फाइदा पु¥याउन आफूहरुले सदैव सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया